News

ओरालो लाग्यो रेसम खेती

April 27, 2017

Kantipur, Laal Prasad Sharma, Pratiksha Kafle, 28th April 2017, Pokhara

रेसम खेतीमा संलग्न किसानको संख्या बढे पनि उत्पादन भने बर्सेनि घटन थालेको छ । रेसम विकास कार्यक्रम पोखराका अनुसार किरा नपाली घाँस गाईवस्तुलाई खुवाउने चलन बढदा यस्तो भएको हो । ‘रेसम खेतीका लागि भनेपछि बिरुवा दिइन्छ,’ कार्यालय प्रमुख श्रीकान्त पौडेलले भने, ‘तर, धागो उत्पादनमा नभई किम्बु गाईवस्तुलाई खुवाएको पाइयो ।’

निर्मलपोखरीका केशव आचार्यले दशकअघि १५ रोपनीमा रेसम खेती गरेका थिए । तर, हाल उनको रेसम खेती चार रोपनीमा सीमित भएको छ । उत्पादन गर्दा बजार भाउ नपाइने र कामदार अभावले घटाउन बाध्य भएको उनले बताए । ‘व्यक्तिगतभन्दा समूहगत रूपमा पाल्दा राम्रो हुने रहेछ,’ उनले भने, ‘सरकारले प्राविधिक सहयोग, राहत, अनुदानसहित व्यवसायीकरणमा जोड दिएमा यो पर्यटन व्यवसाय जस्तै हुनेछ ।’ कोया, धागो निकाल्ने र कपडा पनि बुन्ने काम समूहमा गर्न सके राम्रो आम्दानी हुने उनको भनाइ छ । धागो निकालेर व्यापारी खोज्दा समस्या भएकाले सरकारले बजारीकरणमा पनि सहयोग गर्नुपर्ने उनले बताए । 

मेथ्लाङका सिद्धिबहादुर केसीले पनि १५ रोपनीमा खेती गर्दै आएका छन् । सरकारले यो व्यवसायमा सहयोग नगरेको उनको गुनासो छ । कास्कीका निर्मलपोखरी, देउराली, सराङकोट, धिताल, धम्पुस, पुरुन्चौरमा रेसम खेती हुँदै आएको छ । पर्वत, बाग्लुङ, म्याग्दीमा पनि किम्बुको बिरुवा लैजान थालिएको छ । तर, रेसम धागो भने उत्पादन भने भएको छैन । 

स्याङजा चापाकोटका किसान डिल्लीबहादुर माझीको कुनैबेला आम्दानीको मुख्य स्रोत रेसम खेती थियो । तर, पछिल्लो समया घटदो क्रमले उनी निराश छन् । ‘रेसम खेती मासिदै जाँदा विकल्प खोज्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘नयाँ पुस्ताले झन्झट मान्दा पनि समस्या भएको हो ।’ बजारीकरणमा समस्या र सरकारले चासो नदिँदा जिल्लाका किसान रेसम खेती छाडदै गएका उनले बताए । 

कार्यालयका अनुसार फर्मभित्र आर्थिक वर्ष ०६८/६९ मा ४५० केजी विजकोया उत्पादन भएकोमा आव ०७२/०७३ मा आइपुग्दा जम्मा १ सय ५ केजी मात्रै उत्पादन भएको छ । यसैगरी किसानस्तरबाट ०६८/०६९ दुई टन कोया उत्पादन भएकामा गत वर्ष ७ सय केजीमा झरेको छ । पाँच वर्षको अवधिमा कास्कीमा २६ किसानबाट बढेर ६० पुगेको कार्यालय प्रमुख पौडेलले बताए । 

अनुदान तथा राहतका कार्यक्रम न्यून भएकाले बजेट वृद्धि गर्दै व्यावसायिकतातर्फ किसानलाई आकर्षण गराउन कार्यक्रम ल्याउनुपर्ने पौडेलको भनाइ छ । वार्षिक बजेट कम भएर पनि समस्या रहेको उनले बताए । रेसम खेतीलाई पशुपालनसँग पनि एकीकृत गर्दै अघि बढेमा व्यावसायिक रूप लिने उनको भनाइ छ । ‘छोटो समयमा उत्पादन लिन सकिने ठूलो सम्भावना भएको खेती हो,’ उनले भने, ‘भिरालो, कम मलिलो, अन्य खेती नहुने ठाउँमा यो गर्न सकिन्छ ।’ वर्षमा २/३ पटक किरा पाल्न सकिने र एक रोपनीबाट सिजनमा ५० किलोसम्म उत्पादन लिन सकिने र बजारको पनि समस्या नभएको व्यवसाय रहेको उनले बताए । 

रेसम खेती प्रवद्र्धन गर्न स्याङजाको वालिङ नगरपालिकास्थित त्रियासीमा रेसम खेती विकास कार्यालय स्थापना भएको थियो । जिल्लाको ४२ रोपनी क्षेत्रफलमा सुरुमा रेसम खेती गरिएको थियो । त्यसबेला भीरकोट, चापाकोट नगरपालिका, मनकामना, अर्जुनचौपारी गाउँपालिकालगायत स्थानमा हुन्थ्यो । तर, हाल देख्नसमेत गाह्रो भएको रेसमखेती विकास अधिकृत मगनीराम चौधरीले बताए । 

कृषकको जीवनस्तर उकास्ने, ग्रामीण, स्वरोजगार तथा वातावरण संरक्षणमा मद्दत गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो । ‘रेसम खेतीतर्फ कृषकको आकर्षण घटेको छ,’ उनले भने, ‘प्राविधिक समस्या, बजार मूल्यमा गिरावट, युवाको विदेश मोह, झन्झटिलो खेती प्रक्रियालगायत समस्याले यस्तो भएको हो ।



 Source: http://kantipur.ekantipur.com/news/2017-04-28/20170428085548.html