औद्योगिक क्षमताको आधा मात्रै उपयोग

May 25, 2017

Karobar Daily, 25th May 2017, Kathmandu

मुलुकमा सञ्चालित उद्योगधन्दा आफ्नो क्षमताको आधा मात्रै उपयोग भएको पाइएको छ । गत वर्ष सीमा नाकामा भएको अवरोधका कारण घटेको उत्पादन क्षमतामा भने चालू वर्ष सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू वर्षको ६ महिनामा गरेको आर्थिक गतिविधि अध्ययनअनुसार उद्योगहरूले कुल उत्पादन क्षमताको औसतमा ५४.२४ प्रतिशत मात्रै आफ्नो क्षमता उपयोग गरेका छन् । उद्योगहरूले पछिल्लो ५ वर्षमा चालू वर्ष सबैभन्दा बढी क्षमता उपयोग गरेका छन् । गत वर्ष यसै अवधिमा उत्पादन क्षमता ३९.५ प्रतिशत उपयोग भएको थियो ।

राष्ट्र बैंकले आफ्ना कार्यालयहरू काठमाडौं उपत्यकासहित विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट कुल ५७ जिल्लामा गरेको स्थलगत सर्वेक्षण र सरोकारवालाहरूसँगको अन्तक्र्रियाका आधारमा भएको अध्ययनअनुसार यस अवधिमा चाउचाउ उद्योगले सबैभन्दा बढी (शतप्रतिशतभन्दा बढी) उत्पादन क्षमता उपयोग गरेको छ ।

चाउचाउ उद्योगले आफ्नो क्षमताभन्दा १०१.९२ प्रतिशत क्षमता उपयोग भएको अध्ययनमा उल्लेख छ । यसअवधिमा सबैभन्दा कम चिनीको १६.८१ प्रतिशत क्षमता उपयोग भएको छ । अध्ययनमा गत वर्षसम्म ४७ जिल्ला समेटिने गरेको थियो ।

उद्योग क्षेत्रको विकासका लागि ऊर्जा संकटको दीर्घकालीन समाधान, औद्योगिक पूर्वाधारको विकास, लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने काम चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ ।

औद्योगिक उत्पादनहरूमध्ये वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना, हल्का पेय पदार्थ, कपडा, सिमेन्ट, इँटा, फलामको छड तथा पत्ती, जुत्ता आदिको उत्पादन बढेको छ भने तयारी पोसाक, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुलको उत्पादन घटेको छ । यसअवधिमा अध्ययन क्षेत्रमा समेटिएका बैंक तथा वित्तीय संस्थाको समग्र औद्योगिक कर्जा ११ प्रतिशतले वृद्धि भएको छ । 

राष्ट्र बैंकले औद्योगिक क्षेत्रको पूर्ण क्षमता उपयोग हुन नसक्नुका कारण पनि खोलेको छ । बैंक कर्जाको ब्याजदरमा आइरहने उतार चढावले उद्योग सञ्चालन लागत अनिश्चित भएको भन्दै राष्ट्र बैंकले वित्तीय सेवाको मूल्यमा स्थिरता आए औद्योगिक लगानी बढ्दै जाने उल्लेख गरेको छ ।

लगानीको प्रतिफलको सुनिश्चितताका लागि सहज औद्योगिक वातावरणको विकास र गैरनेपालीहरूको सीप, पुँजी र प्रविधिलाई उद्योग क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको छ ।

मुलुकभित्र व्यावहारिक सीप तथा तालिम नहुँदा र वैदेशिक रोजगारीमा ठूलो जनशक्ति बाहिरिँदा उद्योग क्षेत्र समस्यामा पर्दा औद्योगिक उपयोग बढ्न नसकेको केन्द्रीय बंैंकको अध्ययनमा देखिएको छ ।

त्यसका लागि उद्योग क्षेत्रको आवश्यकतामा आधारित दक्ष जनशक्ति विकास गरी त्यस्तो जनशक्ति स्वदेशमै रहन उत्प्रेरित गर्ने काममा सबै पक्ष लाग्नुपर्ने छ । 

औद्योगिक उत्पादन क्षमता पूर्णरूपले उपयोग हुन नसक्नुमा सडक सञ्जाल र विद्युत् आपूर्तिजस्ता पूर्वाधारको कमी पनि कारणका रूपमा देखिएका छन् । पछिल्लो समयमा विस्तारै विद्युत् आपूर्ति बढ्दै गए पनि अझै पर्याप्त विद्युत् उपलब्धता नहुनु, व्यवस्थापन–मजदुरबीचका समस्या बल्झिरहनु, राजनीतिक कारणले बेलाबखत भइरहने बन्द–हड्ताल पनि औद्योगिक क्षेत्रले झेल्ने समस्याभित्रै पर्छन् ।

उद्योग स्थापना एवं सञ्चालन गर्न आवश्यक पूर्वाधार, सुविधा र सरकारी निकायहरूबाट पाउनुपर्ने सेवा सुविधा सहज ढंगबाट प्राप्त नहुँदा त्यसले समस्या निम्त्याएको पनि अध्ययनको निष्कर्ष छ ।

कम लागतमा गुणस्तरीय उत्पादन गर्दै उत्पादित वस्तुलाई स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धी बनाउन एकद्वार नीति कार्यान्वयन, विशेष आर्थिक क्षेत्र (सेज) स्थापना तथा कार्यान्वयन, समयानुकूल श्रम कानुनको संशोधन र औद्योगिक करिडोरहरू व्यवस्थित बनाउनुपर्नेमा अध्ययनले जोड दिएको छ । 

अझ यातायातमा सिन्डिकेट, लामो पारवहन मार्ग तथा पारवहनमा अनावश्यक अवरोध, कच्चा पदार्थको अभाव, कमसल प्रविधिका कारण पनि औद्योगिक क्षमता बढ्न नसकेको ठम्याई केन्द्रीय बैंकको छ ।

औद्योगिक क्षमताको पूर्ण उपयोग हुन नसक्दा उत्पादित वस्तुको लागत बढेको र लागत बढ्दा नेपाली उत्पादन महँगो हुँदा स्वदेशी तथा विदेशी बजार संकुचित हुँदै गइरहेको अध्ययनमा उल्लेख छ । अध्ययनले बढ्दो आयातमा निर्भरता पनि औद्योगिक समस्याको जड मानेको छ ।

 

Source: http://www.karobardaily.com/news/78895

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More