औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै

September 23, 2018

शनिबार, ०६ असोज २०७५, १३ : ०३ |  नागरिक

इलाम – इलाममा वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्दै गएको छ। चिराइतोलगायत जडिबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडिबुटी खेती घटाउँदै लगेका हुन्।

जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडिबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडिबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउछन्। कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गरेका सुवेदी अहिले किबी खेतीमा लागेका छन्।

“मैले तीन वर्ष अघि मात्र २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि ५ हजार मात्र मूल्य छ।” उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेल (पिसी)का अनुसार किसानले पछिल्लो समय जडिबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन्।

जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडिबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडिबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ। उक्त कार्यालयको तथ्याङ्कअनुसार इलामबाट चिराइतो यस आर्थिक वर्षमा १५ हजार ४१६ केजी बिक्री भएको थियो।

आर्थिक वर्ष २०७३–०७४ मा बिखमा ३०० केजी, अर्गेली १५ हजार ४०० केजी, लोक्ता १ हजार केजी, सतुवा १५ केजी, रुद्राक्ष १२३ केजी विक्री भएको थियो। यस्तै आर्थिक वर्ष २०७४–७५ मा सतुवा २५ केजी, अर्गेली २५ हजार २०० केजी, इन्द्रेणी बियाँ २४५ केजी, बिखमा २०० केजी, मजिटो १ हजार २०० केजी पाखनवेद २८० केजी र लौठ सल्ला २ हजार ५०० केजी मात्र बिक्रीका लागि अनुमति लिन आएको उक्त कार्यालयले जनाएको छ।    (रासस)  

https://nagariknews.nagariknetwork.com/news/58030/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More