News

औषधि तथा खाद्य पर्याप्त : यस्तो छ लकडाउनको आपूर्तिको अवस्था

April 21, 2020

अन्नपूर्ण पोष्ट, बैशाख ०९, २०७७ 

काठमाडौं : सरकारले औषधि तथा खाद्य पदार्थ पर्याप्त रहेकाले नआत्तिन आग्रह गरेको छ। लकडाउन सुरु भएपछिको २७ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको सरकारले जनाएको छ।

 

आपुर्ति व्यवस्था विभागका अनुसार गत चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको हो। यस्तै यो समयमा २० करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ। 

सँगै २७ दिनमा ६९ हजार ९ सय ३३ मेट्रिक टन खाद्यान्न, २२ हजार १ सय २१ मेट्रिक टन दलहन, ३७ हजार ६ सय ७३ मेट्रिक टन फलफूल र १० हजार ९ सय ९६ मेट्रिक टन दुधजन्य पदार्थ आयात गरिएको छ। 

लकडाउनमा पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्तामा केही सामान आयातमा घटबढ पनि भएको छ। तेस्रो हप्तामा खाद्यान्न, दुग्ध पदार्थ र तयारी औषधिको आयात बढेको छ भने दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ। 

विभागका अनुसार सबैभन्दा धेरै दुग्ध पदार्थ १ सय १७ दशमलव ४ प्रतिशतले आयात बढेको छ। त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ। तर फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ। 

भारत पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेपछि चैत २७ गतेपछि भने झापाको काँकरभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प भएको छ। 

स्रोत्त: http://annapurnapost.com/news/153880