कञ्चनजंघा क्षेत्रमा पर्यटक बढे

December 02, 2017

आनन्द गौतम, कान्तिपुर राष्ट्रिय दैनिक, १६ मंसिर २०७४

कञ्चनजंघा क्षेत्रमा आएका विदेशी पर्यटकको टोलीहरूले हिमाली क्षेत्र छाडेका छन् । चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छोडेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेर्पाका अनुसार घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ लागिसकेका छन् । हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू साता नबित्दै सदरमुकाम फुङलिङ पुग्छन् । 

वर्षमा दुई सिजन आउने पर्यटकको भीड यो समयमा धेरै लाग्छ । स्थानीयले अक्टोबर र अप्रिललाई सिजनका रूपमा बुझ्छन् । यो सिजनलाई अप्रिल सिजनका रूपमा बुझिन्छ । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहारसमेत देख्न नपाइने स्थानीय पर्यटन व्यवसायी बताउँछन् । परिषदको तथ्यांकअनुसार यो वर्षको वैशाखदेखि मंसिरसम्म ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा अधिक बढी हो । गत वर्ष वर्षभरिमा ६ सय १२ जनाले भ्रमण गरेका थिए । अघिल्लो वर्ष भने ८ सयजना आएका थिए । युरोपियन देश र छिमेकी भारत, चीनलगायतका २३ राष्ट्रका पर्यटक आएका जिल्लामा हालसम्म सबैभन्दा बढी ९ सयले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

सुकेटार विमानस्थल कालोपत्रे भएर पनि जहाज नचलेका कारण सोचेअनुसार पर्यटक नआएको पर्यटन व्यवसायी बताउँछन् । जहाजबाट आउन र फर्कन पाए भ्रमण अवधि छोटिने भएकाले पर्यटक काठमाडौंबाट सीधै सुकेटार विमानस्थल आउन चाहन्छन् । यसो गरे उनीहरूलाई भाडा पनि सस्तो पर्छ । अन्यथा काठमाडौंबाट झापको भद्रपुर आएर गाडीमा आउनुपर्छ । काठमाडौं र भद्रपुरबाट जहाजको भाडादर उस्तै पर्छ । त्यहाँबाट ताप्लेजुङ पुग्न कम्तीमा नौ घण्टा गाडी यात्रा गर्नुपर्ने भएकाले यात्रा निकै लामो हुन्छ । घुन्साका पर्यटन व्यवसायी डन्डु छेतेन शेर्पाका अनुसार हिमाल हेर्न, हिमाली क्षेत्रको जनजीवन, रहनसहन बुझ्न र आफ्नो छुट्टी मनाउन आउने विदेशी पर्यटक काठमाडौंबाट हवाईजहाजमार्फत जिल्ला सदरमुकाम आएर पैदल हिँड्न रुचाउँछन् । यो सिजनमा जम्मा तीनवटा मात्रै चार्टर उडान भएका थिए । विदेशी मात्रैले चार्टर गरेका हुन् । 

पर्यटन व्यवसायी हिमाली चुङदा शेर्पाका अनुसार असार, साउनमा वर्षा र माघ फागुनमा हिउँका कारण पर्यटक आउँदैनन् । बाढी पहिरो र हिउँका कारण हिँडडुल गर्न जोखिम हुन्छ । यो सिजनमा बेसक्याम्पमा बस्ने खाने प्रबन्ध पनि हुँदैन । सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ । घुन्सा बजारबाट छुट्टिने कञ्चनजंघाको उत्तरी र दक्षिणी दुवै मोहडा पुगिन्छ । बाटामा पाइने झरना, वन्यजन्तु, ताल, नदी पनि देख्न पाइन्छ । 

व्यापारका लागि कञ्चनजंघा हिमालको आधार शिविर गएका स्थानीयहरू पनि फर्कन थालेका छन् । रोनाक, पाङपेमा, सेलेले, लोङथाङलगायत स्थानबाट घुन्सा फर्किएका हुन् । उनीहरूले अब फागुनमा मात्रै खोल्ने गरी पसल बन्द गरेका छन् । राख्न मिल्ने सामानहरू व्यवस्थित गरी राखेको र नमिल्ने सामान लिएर फर्किएको ङिमा शेर्पाले बताए । पर्यटक सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर लगिन्छ । खाद्यान्न, लत्ताकपडा, घुन्साबाट बोकाएर लगिन्छ । भाँडाकुँडालगायतका सामान घरभित्रै साँचो लगाएर थुनेर राख्ने प्रचलन छ । 



स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-02/20171202075401.html

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More