कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल

November 18, 2017

नागरिक दैनिक, ०१ मंसिर २०७४

दोहा—सन् २०२२ को विश्वकप फुटलबलको आयोजक कतारले विदेशी कामदारका लागि न्युनतम तलब निर्धारण गरेको छ। कतारको श्रम मन्त्रालयले निर्धारण गरेअनुसार अब विदेशी कामदारको मासिक तलब ७५० (करिब २ सय डलर) रियल हुनेछ।

अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका बेला कतार सरकारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोकेको हो। कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु न्युनतम पारिश्रमिकको घोषणा गरेका हुन्।

‘अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्युनतम तलब ७ सय ५० भन्दा कम हुने छैन। कसैले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’, उनले भनेका छन्। यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने उनले बताए।

कतार न्युज एजेन्सी (क्युएनए) का अनुसार नयाँ नियमअनुसार विदेशी कामदारले अब निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि पाउनेछन्।

कतारले सन् २०१५ को फेब्रुअरीमा तलब समीक्षा गर्दै मुख्य सुधार कार्यक्रम ल्याएको थियो। त्यो नियमले कामदारले मासिक तलब १५ दिन अथवा महिना दिनमा इलेक्ट्रोनिक रुपमा पाउने निश्चित गरेको थियो।

सन् २०२२ को विश्वकप आयोजना गर्ने तयारीमा रहेको कतारले रंगशाला निर्माणका लागि नेपालीसहितका विदेशी कामदार प्रयोग गर्दै आइरहेको छ। विदेशी कामदारलाई अमानवीय अवस्थामा काम लगाएको, थोरै तलब दिएको, न्युनतम मानवअधिकारको उल्लंघन गरेको आरोप कतारमाथि लाग्दै आएको छ।

कतारले कार्यान्वयनमा ल्याएको ७५० रियल न्युनतम पारिश्रमिक नेपालीका लागि भने अत्यन्त थोरै हो। नेपाल सरकारले कतारमा काम गर्न जानेहरुका लागि ९ सय रियल तथा खानेबस्ने सुविधाबापतको ३ पाउने अवस्थामा मात्र श्रम स्वीकृति दिँदै आएको छ।

स्रोत: http://www.nagariknews.com/news/30633/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More