ममता थापा, आर्थिक अभियान, फागुन ८, २०७४
इलाम । विद्युत् विकास विभागले इलामको माई नगरपालिकामा ठूलो जलाशय हुने कन्काई बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययनका साथैै वातावरणीय प्रभाव मूल्याङ्कन शुरू गरेको छ । विभागले झापाका विभिन्न क्षेत्रमा सिँचाइका साथै ६० देखि ९० मेगावाट विद्युत् उत्पादन गर्ने योजनाको प्रस्ताव राखेको छ ।
परियोजनाको प्रस्तावले मूर्तरूप लिएमा माई नगरपालिकामा जलाशय बन्नेछ । नगरपालिकाको केन्द्र शुक्रवारे, शितली र आसपासका क्षेत्रमा पनि जलाशय हुनेछ । सानिमा माई हाइड्रोपावरको क्यास्केड आयोजना स्तरसम्म पानीले भरिनेछ । परियोजनाको परामर्शदाता कम्पनीका रेशम बानियाँले हाल सम्भाव्यता खोजी भइरहेको बताए ।
उनले परियोजनाअन्तर्गत इलामको माई नदीको दोमुखा आसपासमा ८५ मिटर अग्लो बाँध बाँध्ने र यो बाँध ३ सय ४० मिटर लम्बाइको हुने जानकारी दिए । बाँधबाट त्यसै स्थानमा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गर्ने प्रस्ताव छ । विद्युत्गृहको पानीलाई ४ सय ३० मिटर लम्बाइको सुरुङमार्फत पुनः कन्काई नदीमै फर्काइने योजना छ । प्रारम्भिक अनुमानमा परियोजनाबाट ६० देखि ९० मेगावाट विद्युत् उत्पादन हुनेछ ।
झापाका ६७ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गरिने योजना छ । झापाको शिवसतासी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका, बारदशी गाउँपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका र कञ्चनकवल गाउँपालिकामा सिँचाइ सुविधाका लागि नहर बन्नेछन् ।
प्रस्तावित परियोजनाले इलामको माई नगर क्षेत्रको करीब ५० हजार हेक्टर क्षेत्रफलमा प्रभाव पार्ने बताइएको छ । यस क्षेत्रमा माई नदी आसपासमा जलाशय हुने भएकाले यहाँको बस्ती अन्यत्र सार्नुपर्ने देखिन्छ । सम्भाव्यता अध्ययनकै क्रममा परियोजनाले प्रभाव नपर्ने क्षेत्रका सरोकारवाला र व्यक्तिको सुझाव सङ्कलन शुरू गरेको छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/20/181710