कफी उत्पादन बढ्यो

October 12, 2017

दिलीप पौडेल, नागरिक दैनिक,  २६ असोज २०७४ 

काठमाडौं- कफीको लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले यो वर्ष कफी उत्पादन वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा करिब २० मेट्रिक टन ग्रिनबिन कफीको उत्पादन बढ्ने चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
यो वर्ष करिब चार सय ५५ मेट्रिक टन कफी उत्पादन हुने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘कफीको लागि मौसमन अनुकूल हुँदा उत्पादन बढेको हो,’ गौतमले भने, ‘उत्पादन बढेपछि किसान उत्साहित छन् ।’
आर्थिक वर्ष ०७३÷७४ मा चार सय ३४ मेट्रिक टन उत्पादन भएको थियो । कफी उपभोग गर्नेको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढेसँगै किसान पनि कफी खेतीमा आकर्षित भएका छन् ।
गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत २३ जिल्लाका व्यावसायिक खेती हुँदै आएको थियो । छहारीमुनि कफी रोपण गरेर उत्पादन लिने भएकोले पाखो क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ । लगाएको करिब दुई वर्षबाट उत्पादन दिन थाल्छ ।
बोर्डले यो वर्ष करिब आठ लाख कफीको बिरुवा रोपण गर्ने योजनाका साथ विभिन्न जिल्लामा यसको नर्सरी तयार गरेको जनाएको छ । केही वर्षयता किसानमाझ कफी खेतीप्रति आकर्षण बढेको छ । कम मेहनतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिने भएपछि पहाडी जिल्लामा किसानले धमाधम कफी खेती विस्तार गरेका छन् ।
मध्य पहाडका जिल्लामा व्यावसायिक बनाउँदै पूर्वी पहाडका जिल्लामा यो वर्षदेखि खेती विस्तार गरिरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । पूर्वी पहाड चियाको लागि मात्र नभएर कफीको लागि पनि उपयुक्त हावापानी भएको ठहर गर्दै सोलुखुम्वु, ओखलढुंगा, दोलखा, रामेछाप, इलाम, पाँचथर लगायत जिल्लामा खेती सुरु गरेको छ ।
आठ सयदेखि १६ सय मिटर उचाइमा कफी फल्छ । विसं. १९९५ मा पश्चिम गुल्मीको आँपचौरबाट नेपालमा कफी खेती सुरु भएको थियो । गत वर्ष करिब पौने चार सय हेक्टर क्षेत्रफलमा किसानले रोपण गरेको बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा ६ हजार मेट्रिक टन कफी माग छ । यहाँ उत्पादन भएको ४० प्रतिशत कफी विदेशी बजारमा जाने गरेको छ । जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्स लगायतका मुलुकमा यो निर्यात हुन्छ । यहाँको कफी एभेरस्ट कफी मिल, हाइल्यान्ड, बुद्ध अर्गानिक, पर्वत अर्गानिक कफी सहकारी, मुस्ताङ कफी, प्लान्टेक कफी प्रमोसन कम्पनी लगायतले स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्दै आएका छन् । अर्गानिक ग्रिनबिन कफी किलोको १५ डलरमा बिक्री भइरहेको बोर्डले जनाएको छ । कार्यकारी निर्देशक गौतमले बजारको कुनै समस्या नभएको बताए । ‘उत्पादनलाई बजार सुनिश्चित गर्न लागिपरेका छौं,’ उनले भने, ‘उत्पादन बढाउन सके बिक्री नहोला भन्ने समस्या छैन ।’
नेपालको कफी विस्तारमा युरोपियन युनियनले गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, नुवाकोट, ललितपुर, सिन्धुपलाञ्चोक लगायत जिल्लामा परियोजना सुरु गरेको बोर्डले जनाएको छ । करिब ६ करोड रुपैयाँ लागतमा परियोजना सञ्चालन गरिएको हो । यसले कफी खेती विस्तार र उत्पादन बढाउन टेवा पुग्ने निर्देशक गौतमले बताए । ‘यो परियोजनाले उत्पादन ह्वात्तै बढाउने छ,’ उनले भने ।
अहिले करिब ३० हजार किसानले कफी खेती गरिरहेका छन् ।
कफी उत्पादन बढेकै बेला विदेशी कफी आउन थालेपछि समस्या आउन थालेको नेपाल कफी व्यवसायी महासंघका महासचिव भवानीप्रसाद शर्माले बताए । ‘विदेशी कफी आयात भएपछि स्वदेशी उत्पादनमा चुनौती थपिएको छ,’ शर्माले भने, ‘भियतनाम र भारतबाट कफी आयात भइरहेको छ ।’
कफी व्यवसायी संघ पर्वतमा समेत आबद्ध शर्माले पर्वतमा करिब पाँच टन कफी स्टक रहेको बताए । ‘केही अमेरिका पठायौं,’ शर्माले भने, ‘विदेशी कफी आएपछि बजारको समस्या भएको छ ।’
किसानलाई प्रतिकिलो पार्चमेन्ट पाँच सय ५० रुपैयाँ दिने गरेको शर्माले बताए । ‘किसानलाई धेरै तिरेपछि लागत धेरै परेको छ,’ शर्माले भने ।

स्रोत: 

http://www.nagariknews.com/news/28545/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More