News

कफी बेचेर चिनी खरिद

April 09, 2017

Kantipur, Pratiksha Kafle, 8th April 2017, Syangja

केही वर्षपहिले यहाँ उत्पादित कफीको मूल्य प्रतिकिलो २० रुपैयाँ थियो । किनबेच सजिलो थिएन । धेरै किसानले उधारो नै बेच्थे । नगदेबाली बन्न ढिलाइ हुँदा केही किसानले कफीमा भविष्य देखेनन्, बोट काटे । अहिले कफी नै किसानका लागि नगद भित्र्याउने राम्रो बाटो भएको छ ।तत्काल भुक्तानी मात्र होइन मूल्य पनि राम्रो पाउन थालेपछि किसान उत्साहित छन् । पुतलीबजार नगरपालिकाको ओरस्टेकी धनमाया मगरले चार किलो कफी ल्याएर जिल्ला कफी संघमा बेचिन् । ‘घरमा धेरै कफी त छैन,’ उनले भनिन्, ‘तर, जति फल्छ त्यसले चिनी किन्न पुगेको छ ।’ 
 

तुलबहादुर रानाले कफी लगाउन थालेको १७ वर्ष भयो । ‘पहिले रहरले लगाइयो, अब बल्ल आएर आम्दानी दिन थाल्यो,’ उनले भने । वार्षिक एक लाख १० हजार हाराहारी आम्दानी कफीले दिने गरेको उनले बताए । उनले झन्डै ११ सय किलो फ्रेस चेरी उत्पादन गर्दै आएका छन् । बालीहरूमा उनको राम्रो आम्दानी दिनेमध्ये कफी एउटा हो । उनले भने, ‘खेती उब्जाउ नभएर छाडिएका बारी र पाखामा पनि कफी खेती हुन्छ ।’ 
 

 किचनासका अनन्त गैह्रे भन्छन्, ‘कफीले आम्दानी दिन थालेपछि किसानको बल्ल सास आएको छ ।’ हालै मात्र १७ क्विन्टल कफी फलाएका उनले मिहिनेत गर्दा वार्षिक आम्दानी सरदर दुई लाख हाराहारी हुने बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको गुणस्तरअनुसार न्यूनतम सहमत मूल्य निर्धारण गरेको छ ।

बोर्डले फ्रेस चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो ८३ र ‘बी’ ग्रेडको प्रतिकिलो ७८ निर्धारण गरेको छ । त्यस्तै पार्चमेन्ट कफी ‘ए’ ग्रेड प्रतिकिलो ४ सय १५ र ‘बी’ को ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । ड्राइचेरी कफी ‘ए’ १ सय ४०, ‘बी’ सय र ‘सी’ ग्रेडको प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरेको जिल्ला कफी व्यवसायी संघकी प्रबन्धक माया तिवारीले बताइन् । यसभन्दा अघि न्यूनतम ८० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । मुलुकमै कफी सर्वाधिक लगाइनेमध्ये स्याङ्जा अग्रणी जिल्ला हो । जिल्लामा गत आर्थिक वर्ष ४२ हजार किलो पार्चमेन्ट कफी उत्पादन भएको थियो । 
 

चालु वर्ष भने हालसम्म २ लाख ६६ हजार किलो फ्रेस चेरी कफी उत्पादन भइसकेको र अझै टिप्न बाँकी रहेको तिवारीले जानकारी दिइन् । ‘फूल फुल्ने बेलामा असिना परेकाले पोहोर उत्पादन घट्यो,’ उनले भनिन्, ‘यो वर्ष हावापानी राम्रो भएकाले उत्पादनमा वृद्धि आएको हो ।’ गत वर्षको उत्पादन १५ प्रतिशतले कमी थियो ।

गत वर्ष संघले किसानले कफी आफैं टिपी कार्यालयसम्म ल्याउनेलाई प्रतिकिलो ९१ रुपैयाँ र घरमै लिन जानुपरेमा ८० रुपैयाँ किसानलाई दिन्थ्यो । ढुवानीबापत ३ रुपैया र संकलन गरिदिनेलाई ८ रुपैयाँ गरी ९१ रुपैयाँ कायम गरेको थियो भने हाल प्रतिकिलोलाई १ सय ३ रुपैयाँ कायम गरेको कफी व्यवसायी संघका अध्यक्ष फणिनारायण अर्यालले बताए । 
 

आफैंले वार्षिक १८ क्विन्टल कफी उत्पादन गरेर १ लाख ८० लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए । ‘कफी उत्पादनमा यो जिल्लामा हावापानी मिलेको छ,’ उनले भने, ‘कफी खेतीजस्तो ठाउँमा पनि उत्पादन हुने भएपछि फालिएको जमिन समेलिनुसँगै आम्दानीमा पनि वृद्धि भएको छ । संघबाट कफीको उचित मूल्य निर्धारण गरेसँगै किसान झोलामा लिएर दुई/चार किलो पनि बेच्न आउने गरेका छन् । संघका अनुसार जिल्लामा २ सय ७३ हेक्टर क्षेत्रफलमा कफी लगाइएको छ । 


 Source: http://kantipur.ekantipur.com/news/2017-04-08/20170408201426.html