कर्णालीमा दसैंका लागि २९ हजार क्विन्टल चामल पठाइँदै

September 07, 2017

ललित बहादुर बुढा, अन्नपुर्ण पोस्ट, २२ भाद्र २०७४ 

बर्सेनि चाडपर्वका बेला खाद्यान्न संकट हुने कर्णालीका जिल्लामा यसपटक केही सहज हुने भएको छ। प्रमुख चाड दसैं नजिकिँदै गर्दा नेपाल खाद्य संस्थानले कर्णालीका जिल्लामा खाद्यान्न ढुवानी सुरु गरेको छ। दसैंका लागि लक्षित गर्दै कर्णालीमा यसपालि २९ हजार क्विन्टल चामल पठाउन लागिएको हो।

हालसम्म सडकले नछोएका कर्णालीका हुम्ला र डोल्पामा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। अर्कोतर्फ स्थानीय उत्पादनले मात्र वर्षभरि नथेग्ने भएकाले कर्णालीवासीले चाडपर्वमा चामल अभाव भोग्नुपर्ने बाध्यता छ। यही समस्या समाधानका लागि खाद्य संस्थानको सुर्खेतस्थित कार्यालयले दसैंका लागि अहिलेदेखि नै कर्णालीमा चामल पठाउन सुरु गरेको हो।

अघिल्ला वर्षहरूमा चाडपर्वका लागि चामल लिन डिपोमा दिनहुँ लाइन बसे पनि सर्वसाधारणले चामल नपाउने अवस्था थियो। दसैं र तिहारको समयमा अझ बढी खाद्यान्न अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दसंै र तिहारअघि नै खाद्यान्न पठाइसक्ने तयारी खाद्य संस्थान सुर्खेतले गरेको छ। संस्थानले चाडपर्वअघि नै खाद्यान्न पठाइसक्ने जनाएको छ।

दसै‌ र तिहारलाई लक्षित गर्दै यसवर्ष कर्णालीका लागि २९ हजार क्विन्टल चामल पठाइँदैछ । खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले यसवर्ष कर्णाली अञ्चलका बासिन्दाले खाद्यान्नको अभाव झेल्नु नपर्ने बताए।

उनले भने, ‘कर्णालीका पाँच जिल्लामा दसै‌अघि नै चामल पठाउने छौं, त्यसका लागि सडक र हवाईमार्गबाट ढुवानी सुरु भइसकेको छ । यसपालिको दसैंमा कर्णालीवासीले पर्याप्त चामल पाउने छन्, विगतमा जस्तो संकट हुनेछैन।' संस्थानको सुर्खेतमा रहेको गोदाममा अहिले २५ हजार क्विन्टल चामल मौज्दात रहेको थापाले जानकारी दिए।

संस्थानले आर्थिक वर्ष २०७२÷०७३ मा कर्णाली अञ्चलका पाँच जिल्ला जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पाका लागि ६८ हजार क्विन्टल खाद्यान्न पठाएको थियो । यो आर्थिक वर्षको पहिलो चरणमा संस्थानले २९ हजार क्विन्टल खाद्यान्न पठाउन लागेको हो । संस्थानका प्रमुख थापाले यो वर्ष पहिलो चरणमा २९ हजार क्विन्टल खाद्यान्न पठाए पनि उपभोक्ताको मागअनुसार दोस्रो चरणमा खाद्यान्न पठाइने जानकारी दिए।

अहिले पनि प्रत्येक जिल्लाका खाद्य डिपोमा खाद्यान्न मौज्दात रहेको हुँदा यसपटक दसैं र तिहारमा अभाव नहुने उनको दाबी छ। खाद्य संस्थानले दिने अनुदानको चामल स्थानीय पसलमा बिक्री हुने मूल्यभन्दा प्रतिकिलो एक सय रुपैयाँ कम पर्ने संस्थानले जनाएको छ। त्यसकारण पनि उपभोक्ताहरू बाहिरी पसलभन्दा संस्थानको डिपोमा नै चामल किन्न आउने गरेका छन्।

पछिल्लो समय कर्णालीका कालीकोट, जुम्ला र मुगुमा सडक पुगेपछि खाद्यान्न ढुवानीमा सहज भएको छ। हिजोआज ती जिल्लामा गाडीबाटै खाद्यान्न ढुवानी हुने गरेको छ । थापाले भने, ‘पहिला सडक थिएन, हेलिकोप्टरबाट महंगोमा ढुवानी गर्नुपर्ने बाध्यता थियो । अहिले गाडी पुगेपछि खाद्यान्न समयमा नै पुर्याउन सम्भव भएको छ, यसले पनि स्थानीयले मागेअनुसार चामल प्राप्त गर्नेछन् ।'

संस्थानका अनुसार अन्य जिल्लामा पनि सदरमुकाममा मात्र गाडी जाने भएकाले गाउँगाउँसम्म खच्चडको माध्यमबाट खाद्यान्न पुर्याइएको छ । अन्य जिल्लामा खाद्यान्नको अभाव नभए पनि हुम्लामा भने केही समस्या हुने गरेको बताइएको छ । मौसम अनुकूल नहुँदा हवाई मार्गबाट खाद्यान्न समयमा पुर्याउन कठिन हुने गरेको थापाको भनाइ छ।

खाद्य संस्थाले अहिले कर्णालीका पाँच जिल्लासँगै दैलेख र अछाममा पनि खाद्यान्न वितरण गर्दै आइरहेको छ । अन्य बेलामा पनि खाद्यान्न संकट बेहोर्दै आएका कर्णालीवासीका लागि चाडपर्वमा सहज रूपमा खाद्यान्न उपलब्ध गराउने प्रयास भइरहेको संस्थानको दाबी छ। सरकारले हरेक वर्ष कर्णालीमा अनुदानमा खाद्यान्न ढुवानी गर्दै आइरहेको छ।

तर पनि त्यो खाद्यान्न आफूहरूले हप्तौंसम्म डिपोमा लाइनमा बस्दासमेत नपाउने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । स्थानीयस्तरमा उत्पादन नहुँदा कर्णालीका विकट बस्तीका बासिन्दाले दसैं र तिहारमासमेत चामल नपाउने अवस्था छ ।

स्रोत: 

http://annapurnapost.com/news-details/79608

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More