कर्णाली प्रदेशमा सेयर कारोबार शून्य

March 05, 2018

यज्ञ बन्झाडे, कान्तिपुर दैनिक, २१ फागुन २०७४

कर्णाली प्रदेशमा सेयर बजारको पहुँच पुग्न सकेको छैन । सातवटा प्रदेशमध्ये कर्णाली (६ नम्बर) प्रदेशमा धितोपत्र ब्रोकरहरू नपुगेपछि दोस्रो बजारको सेयर कारोबार नभएको हो ।

नयाँ संरचनाअनुसार उक्त प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला छन । ती जिल्लामा दोस्रो बजारको सेयर कारोबारका लागि धितोपत्र ब्रोकर हालसम्म पुग्न सकेका छैनन् । ब्रोकर नपुगेपछि उक्त प्रदेशका नागरिकले दोस्रो बजारमा सेयर कारोबारबाट वञ्चित भएका हुन् । प्राथमिक निष्कासन (आईपीओ/थप आईपीओ) हरूमा भने कर्णाली प्रदेशका नागरिकले पनि लगानी गर्न पाउँछन् । यस्ता सेयरमा लगानी गर्न धितोपत्र ब्रोकर चाहिँदैन । निक्षेप सदस्य (डीपी), आस्बा तथा सी–आस्बा अनुमति ल्याएका बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले ती सेयरमा लगानी गर्न पाउँछन् ।

यसअघि सर्वसाधारणको मागका आधारमा ब्रोकरहरूलाई शाखा विस्तार गर्न अनुमति दिइएकाले सबै प्रदेशमा सेयर कारोबार विस्तार हुन नसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘अब थप शाखा विस्तारको अनुमति दिँदा सन्तुलित विकासलाई पनि प्राथमिकता दिइनेछ,’ उनले भने । नेप्सेले पूर्ण रूपमा विद्युतीय सेयर कारोबार सुरु गर्न लागेकाले जनाउँदै उनले भने, ‘विद्युतीय रूपमा सेयर कारोबार सुरु भएपछि अहिले देखिएका अधिकांश समस्या समाधान हुन्छन् ।’ अनलाइन कारोबारले सम्बोधन गर्न नसकेका समस्याहरू त्यसपछि मात्र समाधान गरिने साउदको भनाइ छ ।

 

औपचारिक रूपमा सेयर कारोबार भएको दुई दशक भइसक्दा पनि काठमाडौं उपत्यकामा मात्र सेयर कारोबार सीमित थियो । पछिल्ला केही वर्षमा ब्रोकर र डीपीमार्फत उपत्यका बाहिर पनि सेयर कारोबार विस्तार गर्ने प्रयास भएका छन् । यसकारण मोफसलका प्रमुख सहरहरूमा दोस्रो बजारमा सेयर कारोबार हुन थालको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै कारोबार प्रदेश तीनमा छ । तीन नम्बर प्रदेशमा काठमाडौं उपत्यका पनि पर्ने भएकाले यो क्षेत्रमा सबैभन्दा बढी सेयर कारोबार देखिएको हो । काठमाडौं उपत्यका बाहेक ३ नम्बर प्रदेशमा ३ अर्ब ५४ करोड रुपैया बराबरको कारोबार भएको छ ।

 

उपत्यकाको तथ्यांकलाई हटाइ दिने हो भने राजधानी बाहिर सबैभन्दा धेरै सेयर कारोबार एक नम्बर प्रदेशमा हुँदै आएको छ । ०७३ माघदेखि चालु आर्थिक वर्षको सोही अवधिसम्म उक्त प्रदेशमा ३ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो प्रदेशमा झापा, इलाम, पााचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा जिल्ला पर्छन् । गएको एक वर्षमा ४ नम्बर प्रदेशमा ३ अर्ब ६ करोड रुपैयाँ र प्रदेश ५ मा ८८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कोरोबार भएको छ । प्रदेश २ मा ६६ करोड र प्रदेश ७ मा साढे २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तर, ६ नम्बर प्रदेशमा दोस्रो बजारमा सेयर कारोबार नभएको नेप्सेले जनाएको छ ।

 

गत एक वर्षमा उपत्यका बाहिरको सेयर कारोबार ६६ प्रतिशतले बढेको छ । ०७३ माघसम्म ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकामा गत माघसम्म १२ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ । गत वर्ष उपत्यका बाहिर ९ शाखा (रिमोट वर्क स्टेसन (आरडब्लूएस) मार्फत ब्रोकरले सेयर कारोबार सुविधा दिँदै आएका थिए । यो वर्ष यो संख्या बढेर ४० पुगेको छ । ब्रोकरको शाखा विस्तार बढेकाले गत वर्षको तुलनामा यो वर्ष सेयर कारोबार झन्डै दोब्बरले बढेको नेप्सेले जनाएको छ ।

 

अहिले पनि मुलुकका धेरै सहरहरूमा सेयर कारोबारको माग नै नभएकाले विस्तार हुन नसकेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘पूर्ण रूपमा विद्युतीय कारोबार सुरु नभएसम्म सबै स्थानमा सेयर कारोबार विस्तार गर्न अप्ठेरो छ,’ उनले भने, ‘यद्यपि नियामक निकायका रूपमा क्रमिक रूपमा सबै प्रदेशमा बोर्डको शाखा खोल्ने हाम्रो योजना छ ।’ स्थान (सहर) का आधारमा सबैभन्दा बढी सेयर कारोबार पोखरामा भएको देखिन्छ । गत माघसम्म पोखरामा मात्र २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

यसैगरी विराटनगरमा १ अर्ब ४५ करोड ९९ लाख, नारायणगढ (चितवन) मा १ अर्ब २६ करोड र रूपन्देही ७२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

मोफसलमा सेयर कारोबार विस्तार हुँदै गए पनि कुल सेयर कारोबारको करिब ९५ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै हुँदै आएको छ ।

 

०७३ माघसम्म २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकामा यो वर्षको सोही

अवधिमा १ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला दुई वर्षमा मोफसलको सेयर कारोबारले कुल सेयर कारोबारको क्रमश: ३.२२ र ७.६७ प्रतिशत अंश ओगटदै आएको छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/03/05/20180305075635.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter