ललित बहादुर बुढा, अन्नपुर्ण पोस्ट, १८ कार्तिक २०७४
सुर्खेत : कर्णाली रोजगार कार्यक्रमका लागि छुट्ट्याइएको रकम उपलब्धिहीन योजनामा खर्च भएको पाइएको छ। कर्णालीमा विकास योजना सञ्चालन गरेर विपन्न परिवारलाई रोजगार बनाउने कार्यक्रमस्वरूप छुट्ट्याइएको रकम उपलब्धीविहीन योजनामा खर्चेर दुरुपयोग भएको हो। अहिले उक्त रकम उपलब्धीविहीन योजनामा खर्च गरी सक्ने काम मात्र भएको छ।
सरकारले यस कार्यक्रमअन्तर्गत जिल्लामा पठाएको बजेट सही काममा लगानी हुन सकेको छैन। राजनीतिक दल र तत्कालीन गाविसका कर्मचारीहरूको मिलेमतोमा उक्त रकम खर्च भएको छ। कालिकोटका विशेषगरी साविकका गाविस लालु, माल्कोट, कोटवाडा, रुप्सा र कुमालगाउँमा विनियोजन भएको कर्णाली रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको छ।
त्यस क्षेत्रमा लाखौं रकम खर्च गरेर सात वर्षअघि नै बिजुलीका पोल गाडेर तार विस्तार गरिएको छ। बजेट सक्ने नाममा हचुवाको भरमा गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन्। लाखौं रकम खर्चेर गाडिएका पोल र तार अहिले खिया लागेर नोक्सान भएका छन्। पोल र तार विस्तार गरेको सात वर्षसम्म पनि स्थानीयले बिजुली बाल्न पाएका छैनन्। बरु गाउँमा गाडिएका कतिपय पोल तार हराएका छन्।
बजेट सक्ने नाममा हचुवाको भरमा गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन्।
बजेट सक्नकै लागि साविकका गाविस र राजनीतिक दलहरूले अध्ययन नै नगरी बजेट खर्च गरेका छन्। आपसी मिलेमतोमा खर्च गरिएको बजेटले उपलब्धि भने दिएको छैन। सम्भाव्यता अध्ययन नै नगरी खर्च गरिएको रकम उपलब्धीविहीन भएपछि स्थानीय आक्रोशित छन्। विद्यालय, सडक र स्वास्थ्यमा रकम लगानी गर्न आग्रह गर्दासमेत दलहरूले सम्भावना नै नभएको बिजुलीका पोलमा बजेट सकेको भन्दै उनीहरूले आक्रोश पोख्न थालेका हुन्।
साविकको लालु गाविसले कर्णाली रोजगार कार्यक्रमको ४५ लाख रुपैयाँ उपलब्धीविहीन काममा खर्च गरेको छ। आर्थिक वर्ष २०६७÷६८ मा गाविसले कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख रुपैयाँ खर्च गरेर गाउँमा बिजुलीका पोल र तार विस्तार गरेको थियो। तर लाखौं रकम खर्च गर्दासमेत अहिले न गाउँमा बिजुली बलेको छ, न त बिजुलीका पोल र तार नै काम लाग्ने अवस्थामा छन्।
यस्तै साविकको माल्कोट गाविसले पनि लाखौं रकम खर्च गरेको छ। बजेटको यकिन हिसाब सार्वजनिक नगरे पनि लाखौं रकम खर्च गरेर बिजुलीका पोल गाडिएका थिए। त्यसैगरी साविकको कुमालगाउँ गाविसले आर्थिक वर्ष २०७०÷७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरेको थियो। एमाले कुमालगाउँका नेता टंक विष्टले बिजुलीका पोल र तार खरिद गरिएको स्विकारे। यही हाराहारीमा अन्य स्थानमा पनि कर्णाली रोजगार कार्यक्रमको रकमबाट बिजुलीका पोल र तार खरिद गरिएका छन्।
विद्युत् आयोजनाको पूर्वाधार निर्माण नै नगरी गाउँमा पोल र तार विस्तार गरेर अलपत्र अवस्थामा छोड्नु बजेटको व्यापक दुरुपयोग भएको लालुका सामाजिक अभियन्ता निर्मलकुमारले विष्टले बताए। अधिकांश पोल र तार जिल्लाका लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको लालुका शिक्षक नवराज शाहीले जानकारी दिए। ‘गाविस र कर्णाली रोजगारको रकम दुरुपयोग गरियो, बिजुली नै नभएको ठाउँमा बेकारमा रकम खर्च गर्न मात्र बिजुलीका पोल खरिद गरिएको छ', उनले भने, ‘विद्युत् आयोजना नै नभएको ठाउँमा अहिले नै किन पोल र तार चाहियो ? ', जिल्लामा हाल एउटा मात्र पाँच सय किलोवाटको शान्तिघाट साना जलविद्युत् आयोजना छ।
पोल गाडिएका गाउँलेले विद्युत् प्राधिकरण कालिकोट शाखासँग कुनै सम्पर्क गरेका छैनन्। यस्तै त्यस क्षेत्रमा अहिले बिजुली लैजाने तयारी पनि नरहेको विद्युत् प्राधिकरण शाखा कार्यालय कालिकोटले स्पष्ट पारेको छ। ‘हचुवाको भरमा गाउँमा बिजुलीका पोल र तार खरिद गरियो, तत्कालीन गाविस र राजनीतिक दलका बोर्ड सदस्यले बजेटको चरम दुरुपयोग गरे। खर्च गरेको बजेटले कुनै उपलब्धि नै दिएन, करोडौं रुपैयाँ खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र छन्', स्थानीय वीरेन्द्रबहादुर बुढाले भने।