शम्भु यादव, अन्नपूर्ण पोष्ट, असार ३१, २०७७
सिरहा
योजना : एक
सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अधुरो बसपार्कको काम सम्पन्न गर्न ५० लाख बजेट बिनियोजन भयो। उपभोक्ता समिति गठनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका स्थानीय नेता, कार्यकर्ताबीच विवाद भयो। विवादपछि न समिति बन्यो न त काम भयो। बजेट फिर्ता गयो। वर्षौसम्म अधुरो रहेको बसपार्क अधुरै रह्यो।
योजना : दुई
लहान नगरपालिका २३ गाढामा पनि स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नै कल्र्भट, नाला र आरसीसी ढलानको लागि ५० लाख रुपैयाँ छुट्याएको थियो। उपभोक्ता समिति गठनका लागि जेठ १६ गते वडा कार्यालयमा छलफल भयो। तर, समितिमा कांग्रेस, नेकपा र स्थानीय नेताले आ-आफ्नै तर्क र अडान दोहोयाएपछि कुटपिट नै भयो। त्यसपछि काम भएन बजेट फिर्ता गयो।
योजना : तीन
लहान नगरपालिका २४ गोविन्दपुरमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतकै सिँचाइ आयोजना मर्मतका लागि ५० लाख र खानेपानी योजनामा पाइप जडानका लागि २५ लाख रुपैयाँ विनियोजन भयो। दुवै काम समिति मार्फत सम्पन्न गराउन जिल्ला समन्वय समितिले किटेर पत्र लेखेको थियो। समिति बनाउने क्रममा विवाद भएपछि योजनाको कामै भएन।
योजना : चार
स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लहान नगरपालिका १८ शोभापुर र बासाजोडी गाउँमा सामुदायिक भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइयो। नेकपाका वडाध्यक्ष रहेका सो क्षेत्रमा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले आफ्नो पार्टीका व्यक्ति समितिमा रहनुपर्ने अडान राखे। वडाध्यक्षले आफ्ना मान्छे हुनु पर्ने तर्र्क राखेपछिको विवादले कुनै काम हुन सकेन। बजेट फिर्ता गयो।
स्थानीय पूर्वाधार विकास कार्यक्रम सांसद कोषको बजेट हो। यस्तो बजेट फिर्ता भएका योजना सिरहा क्षेत्र नम्बर १ का स्थानीय तहको हो। यहाँ कांग्रेसबाट प्रतिनिधिसभामा प्रदीप गिरि निर्वाचित भएका छन्। आफ्ना सांसदको बजेट भएपछि कांग्रेसका स्थानीय नेताले आफूहरु नै उपभोक्ता समितिमा रहनुपर्ने अडान राखे। तर, नगर र गाउँपालिकाकामा नेकपा र जनता समाजवादी पार्टीका जनप्रतिनिधि भएपछि विवाद चुलिएको हो। स्थानीय जनप्रतिनिधिको आ-आफ्नै अडान र विवादले बजेट सदुपयोग हुन सकेको छैन। यस क्षेत्रका लहान नगरपालिकाको २४ वटै वडा, धनगढीमाई नगर १ र २ वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर २ देखि ६, भगवानपुर गाउँपालिका र सखुवानन्कारकट्टि गाँउपालिका सबै वडासहित ४१ वडा पर्छन्।
जसमा कांग्रेसले ११ वटा वडा जितेको छ। लहान र सखुवानन्कारकट्टिमा प्रमुख र उपप्रमुख नेकपा, भगवानपुर र लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीका प्रमुख उपप्रमुख छन्। स्थानीय तहका जनप्रतिनिधिबीचको विवादपछि काम अघि बढ्न नसकेका यी चार योजना प्रतिनिधि उदाहरण मात्रै हुन्। उपभोक्ता समिति बन्न नसक्दा अन्य धेरै योजना अलपत्र भएका सांसद गिरिका प्रतिनिधि अच्छमितलाल चौधरी बताउँछन्। ‘स्थानीय तहमा कांग्रेसको पकड छैन, सांसदको बजेटलाई यहाँका जनप्रतिनिधिले कांग्रेसको भनेर अथ्र्याइदिन्छन्। समयमै उपभोक्ता समिति गठन गर्न दिँदैनन्’, उनी भन्छन्, ‘त्यही भएर कुनै काम भएनन्। दलहरुको आन्तरिक कलहसँगै यसवर्ष कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि काम गर्न समस्या भएको छ।
समिति गठन हुन नसक्दा ६ करोडको कार्यक्रमबाट ३ करोड रुपैयाँ फिर्ता हुने अवस्था आएको बताउँदै चौधरीले भने,‘माघ महिनामै बजेट र योजना स्थानीय तहमा आएको थियो। स्थानीय तहले समयमै पहल गरेका भए भए काम हुन्थ्यो।’ सीमावर्ती भगवानपुर गाउँपालिका ४ को बसपार्क निर्माणको योजनामा कांग्रेसबाट वडाअध्यक्षको चुनाव लड्ेका सन्तोष साहको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो। तर, सो समितिलाई नेकपाबाट वडाध्यक्ष निर्वाचित वडाध्यक्षले मान्यता दिएनन्।
त्यसपछि सोही ठाउँका रामकुमार साहले आफ्नै अध्यक्षतामा अर्को उपभोक्ता समिति बनाए। दुई वटा समिति भएपछि गाउँपालिकाबाट कुनै योजना स्वीकृत भएनन्। सबै पार्टीका प्रतिनिधि सहभागी भएको छलफलले सबै दलका प्रतिनिधि राखेर अर्को समिति गठन गर्ने निर्णय गर्यो। यो विकल्पमा रामकुमार साहले नमानेपछि समिति गठन भएन। ५० लाख रुपैयाँ फिर्ता गयो। लहान नगरपालिका २३ का वडाअध्यक्ष कन्हैया गुप्ताका अनुसार कुटपिट विवाद साम्य भएपछि हरिलाल चौधरीको अध्यक्षतामा उपभोक्ता समिति बनाएर नगरपालिकामा कागजात पेश भयो। उपभोक्ताले फाइल दर्ता गराए। समिति अध्यक्ष चौधरीले सम्झौतामा हस्ताक्षर गरे। तर, अधिकृतले कार्यादेश दिन मानेन्। वडामा नगरपालिकाको उपमेयर सरियार चौधरीका कारण वडामा विवाद भएको वडाध्यक्षको आरोप छ। त्यहाँ वडाध्यक्ष कांग्रेस र उपमेयर चौधरी नेकपाका हुन्।
लहान २४ मा वडाअध्यक्ष कमलदेव यादवले उपभोक्ता समिति बनाउन पर्ने अडान राखे। पहिलेको समितिमा कांग्रेसका नेताले एकलौटी आफ्ना मान्छे राखेको र आफूलाई नसोधेको उनको भनाइ छ। यादव नेकपाका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्। ‘गअधुरो बसपार्क यसपाली बन्ने सुनेपछि हामी सबै खुशी भएका थियौं’, भगवानपुर गाउँपालिका ४ का ठाडीका प्राध्यापक कन्हैया भट्टले भने, ‘तर, नेता कार्यकर्ताले विवाद गरेर काम भएन्। समिति गठनमा कांग्रेस, नेकपा, समाजवादीको विवाद भयो।’ विवादका कारण गाउँबाट विकास फर्किएको उनले बताए। ठाडी भन्सार नाका भएको बजार हो।
स्थानीय जनप्रतिनिधि बीचको विवादका कारण समयमा समिति गठन हुन नसक्दा बजेट फिर्ता हुने गरेको लहान नगरपालिका २४ का राजकुमार राउत कुर्मी बताउँछन्। समितिमा काम कम र पैसा बचाउने होडबाजी हुँदा विकासमा बाधा पुगेको उनको बुझाइ छ।