News

कल्याणकारी कोषको साढे १९ अर्ब ऐनविपरीत परिचालन हुँदै

November 26, 2018

गोपाल साउद, नयाँ पत्रिका,  २०७५ मंसिर ९ 

बोनस ऐनअन्तर्गत स्थापना भएर संकलन भएको रकम उद्देश्यविपरीत उपयोग गर्ने तयारी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले राष्ट्रियस्तरको कल्याणकारी कोषको रकम कानुनविपरीत परिचालन गर्ने तयारी गरेको छ । व्यावसायिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको हितका लागि बोनस ऐनअन्तर्गत स्थापना भएको कोषमा जम्मा भएको साढे १९ अर्ब रुपैयाँ उद्देश्यविपरीत उपयोग गर्न लागिएको हो ।

सरकारले सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित सामाजिक सुरक्षा योजना आउँदो मंगलबारदेखि सुरु गर्दै छ । यसबाट श्रमिकहरूले सामाजिक सुरक्षा योजनामा सूचीकरण भएर औषधोपचार, स्वास्थ्य तथा मातृ सुरक्षा, दुर्घटना तथा अशक्तता, निवृत्तिभरणलगायतका सुविधा लिन सक्छन् ।

तर, कल्याणकारी कोषबाट साढे १९ अर्ब रुपैयाँजति सामाजिक सुरक्षा कोषमा आइसकेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिए । ‘थप जम्मा हुन आउने रकम पनि निरन्तर आउन थालेको छ,’ उनले भने, ‘यो रकमलाई कोषअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम (स्किम)मा ब्याकअपका रूपमा प्रयोग गर्दै छौँ । जसका तर्फबाट यो रकम आएको हो, उनीहरूका लागि मात्रै खर्च गर्ने भन्ने छैन ।’

बोनस ऐन र सामाजिक सुरक्षा ऐनको व्यवस्थाअनुसार तिनै प्रतिष्ठान मातहतका श्रमिकको हितमा मात्रै खर्च गर्नुपर्ने हुन्छ । तर, सम्बन्धित श्रमिकको पहिचान गर्न नसक्दा कल्याणकारी कोषको अर्बौं रुपैयाँ समग्र सामाजिक सुरक्षा कार्यक्रममा परिचालन हुने भएको हो ।

कार्यकारी निर्देशक अधिकारीले ऐनको व्यवस्थाले सम्बन्धित श्रमिक मात्रै भनिए पनि व्यावहारिक रूपमा त्यसरी खर्च गर्न नसकिने बताए । ‘बोनस ऐनअनुसार ठूला प्रतिष्ठानबाट मात्रै कल्याणकारी कोषमा रकम जम्मा भइरहेको छ,’ उनले भने, ‘बोनस ऐन पनि संशोधनको तयारीमा छ, संशोधनले बोनस ऐनअनुसारको कोष संरचना खारेज गरेर उक्त रकम सोझै आउन सक्छ ।’ ऐनको विद्यमान ‘अव्यावहारिक’ व्यवस्था परिमार्जनको विषयमा भने अधिकारीले प्रतिक्रिया दिन चाहेनन् ।

कल्याणकारी कोषको रकम समग्र सामाजिक सुरक्षामा खर्च गर्ने कार्यमा श्रमिक र रोजगारदाताको समेत खासै असहमति छैन । तर, बोनस वितरणपछि बाँकी रहेको रकमको ७० प्रतिशत प्रतिष्ठानअन्तर्गतकै कल्याणकारी कोषमा रहने र बाँकी ३० प्रतिशत मात्रै सामाजिक सुरक्षा कोषमा जाने अहिलेकै व्यवस्था कायम हुनुपर्नेमा रोजगारदाताको जोड छ ।

‘बोनस वितरणपछि बाँकी रहेको सबै रकम सामाजिक सुरक्षा कोषमा जाने गरी ऐन संशोधनको तयारी गरिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘त्यसमा हामीले असहमति व्यक्त गरिसकेका छौँ ।’ बोनस ऐनअन्तर्गत कल्याणकारी कोषमा जाने रकम सबैको हितमा खर्च गर्दा खासै फरक नपर्ने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । ‘योगदानकर्ता कति कामबाट निस्किसके,’ उनले भने, ‘निश्चित श्रमिकको हितमा मात्रै खर्च गर्ने भन्ने कुरा व्यावहारिक रूपमा सम्भव छैन ।’

कोषमा यसरी हुन्छ रकम जम्मा
बोनस ऐनअन्तर्गत उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार, कर्मचारी तथा मजदुरको सामाजिक सुरक्षाका लागि ०५६ सालमा राष्ट्रियस्तरको कल्याणकारी कोषको स्थापना गरिएको थियो । व्यावसायिक प्रतिष्ठानले हरेक आर्थिक वर्षमा आफ्नो खुद मुनाफाको १० प्रतिशत रकम बोनसका लागि छुट्याउनुपर्ने हुन्छ । यसरी छुट्याइएको बोनस वितरणपश्चात् बाँकी रहेको रकममध्ये ७० प्रतिशत प्रतिष्ठानस्तरीय कल्याणकारी कोषमा र बाँकी ३० प्रतिशत रकमचाहिँ राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने बोनस ऐनको व्यवस्था छ । हालसम्म कोषमा करिब ३ सय हाराहारी उद्योग तथा प्रतिष्ठानले मात्रै रकम जम्मा गर्दै आएका छन् ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/11/25/117891/