कागती बेचेर वार्षिक १० लाख

October 28, 2017

कुमार लुइँटेल, अन्नपुर्ण पोस्ट, ११  कात्तिक २०७४ 

विराटनगर : डिल्लीराज उप्रेती ८ वर्ष कतार बसे । सामान्य नेपाली युवाजस्तै वैदेशिक रोजगारीका लागि उनी पनि कतार पुगेका थिए । २०६८ सम्म हाडछाला घोट्दा पनि जीवन चल्ने गरी कमाइ गर्न सकेनन् । विदेश जाँदा लागेको ऋण उकासे तर भनेजस्तो कमाइ भएन । कतारमा सेल्स सुपरभाइजरका रूपमा कार्यरत थिए । नेपाल फर्किएर के गर्ने भन्ने अन्योल थियो, त्यत्तिकैमा परिवारबाट विवाहको प्रस्ताव आयो । कुरो छिन्न वधू पक्षकहाँ पुगे ।

‘विदेश नजाने र यतै गरिखाने हो भने मात्र विवाह गर्छु', वधूले प्रस्ताव गरिन्, ‘तर विदेश जाने हो भने विवाह गर्दिनँ ।' झापा मेचीनगर-९ मागुरमाढीका डिल्लीराज उप्रेती बिलखबन्दमा परे । परिवारसँग सल्लाह गरेर विदेश नजाने योजना बनाए ।

‘ताप्लेजुङबाट मधेस झरेर बुबाले २०६२ सालमै डेढ बिघा जमिन खरिद गर्नुभएको थियो, त्यसमै कृषिकर्म गर्नुपर्‍यो भन्ने सोचेर विदेश नजाने निर्णय गरें', उप्रेतीले भने । होटल म्यानेजमेन्ट पढेका उप्रेती अब मोडिए कागती खेती र नर्सरी उत्पादनतर्फ । त्यसकै प्रतिफलस्वरूप सरकारले उनलाई यसैवर्ष निजी वनतर्फ उत्कृष्ट कृषकको सम्मान पनि दियो ।

गरिखानेलाई स्वदेशमै अवसर धेरै छन् भनिए पनि अहिलेको अवस्थामा पुग्न उप्रेतीले निकै मेहनत गर्नुपर्‍यो । दुईवटा बेर्ना रोपेर कागती खेती सुरु गरेका उनले अहिले बर्सेनि यही पेसाबाट १० लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन् । जिल्ला वन कार्यालय झापाले मात्र वार्षिक ६० हजार बिरुवा खरिद गरिदिन्छ । कागतीका दाना मात्र वार्षिक ६ लाख ५० हजार रूपैयाँको बिक्री हुन्छ ।

जिल्ला वन कार्यालय झापाले मात्र वार्षिक ६० हजार बिरुवा खरिद गरिदिन्छ । कागतीका दाना मात्र वार्षिक ६ लाख ५० हजार रूपैयाँको बिक्री हुन्छ ।

‘मेहनत गर्दा आफ्नै कोठेबारीबाट पनि प्रशस्तै आम्दानी लिन सकिने रहेछ', उप्रेती भन्छन्, ‘तीन वर्षसम्म कागतीले उत्पादन दिएन । तर त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेको छैन ।' उप्रेतीले उत्पादन गर्ने कागतीको मुख्य बजार झापा, मोरङ, सुनसरी, फिदिम, छिमेकी भारतीय बजार नै हो । अहिले व्यापारीहरू घरसम्मै कागती खरिद गर्न आउँछन् । वन कार्यालयको अनुदान सहयोगमा उनले मलेसियन सखुवा, टिक, तेजपात, पाउलिनिया, लिचीसहित अन्य जातका बेर्ना पनि तयार गर्छन् ।

उप्रेतीले कलमी गरेका कागतीका बिरुवा नै धेरै बेच्छन् । उनलाई श्रीमती र आमाबुबाले साथ दिएका छन् । उप्रेती भन्छन्, ‘एग्रो पार्क निर्माण गर्ने लक्ष्य लिएको छु । यही वर्षबाट कम्पोस्ट मलको कारखाना पनि सञ्चालन गर्दै छु ।' गड्यांैले मल आफै उत्पादन गरेका छन् ।

जैविक मल मात्र प्रयोग गरी उत्पादन गरिएको कागती र सागसब्जी अन्य किसानको उत्पादनभन्दा थोरै महँगो भए पनि बुझ्नेले धुलाबारी बजारमा खोलिएको बिक्री केन्द्रमा आई खरिद गर्ने गरेका छन् । वन दशक कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालय झापाको सिफारिसमा डिल्लीराजलाई निजी वनको विकासमा गरेको सहयोग गरेको मूल्यांकन गर्दै सरकारले राष्ट्रिय पुरस्कार दिएको हो । ‘वैदेशिक रोजगारबाट थाकेर स्वदेश आई अरूका लागि समेत उदाहरणीय बन्नुभएको छ । स्वदेशमै केही गर्न चाहनेका लागि उहाँ उदाहरण हो', जिल्ला वन झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले भने ।

कृषकलाई भारतीय सस्तो कृषि उपजसँग प्रतिस्पर्धा गर्न भने निकै चुनौतीपूर्ण भएको कृषक डिल्लीराज नेपाली बताउँछन् । क्वारेन्टाइनबाट विनारोकावट नेपाल भित्रने कृषि उत्पादनले स्वास्थ्यमा जोखिम निम्त्याएकाले आफूले जैविक उत्पादनमा जोड दिएको बताए ।

स्रोत: http://annapurnapost.com/news-details/82903

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More