काठमाडौंमा थपिए ४४ हजार मतदाता

August 25, 2017

कान्तिपुर दैनिक, ९ भाद्र २०७४ 

काठमाडौं जिल्लामा मात्र साढे ४४ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडौं महानगरपालिकासहित १० स्थानीय तहमा ४४ हजार ७ सय ५७ मतदाता थपिएका छन् । काठमाडौं जिल्लामा स्थानीय तह निर्वाचनको समयमा ५ लाख ५९ हजार ४ सय मतदाता थिए । अब काठमाडौंमा ६ लाख ४ हजार १ सय ५७ मतदाता पुगेका छन् । 

जिल्लाभरिमा एक जना तेस्रोलिंगी, २० हजार ८० पुरुष र २४ हजार ६ सय ६७ महिला मतदाता थपिएका छन् । कागेश्वरी मनोहरामा ३ हजार ९ सय ३४, कीर्तिपुरमा १ हजार २ सय ५८ र गोकर्णेश्वरमा ३ हजार १ सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

चन्द्रागिरि र टोखा नगरपालिकामा क्रमश: ३ हजार ७ सय ४२ तथा ३ हजार ६ सय ९८ को नाम मतदाता नामावलीमा थपिएको छ । तारकेश्वरमा ३ हजार ४ सय १८ जनाले निर्वाचन आयोगले दिएको समयमा मतदाता नामावलीमा नाम दर्ता गराए । दक्षिणकाली र नागार्जुनमा क्रमश: १ हजार ६ सय ८९ र ४ हजार १ सय २ जना मतदाता थपिएका छन् । शंखरापुर नगरपालिकामा नयाँ थपिएका मतदाताको संख्या २ हजार १ सय ३ छ । 

काठमाडौं जिल्लाबाहिरका ३७ हजार २० पुरुष, २८ हजार ५ सय २१ महिला र ४ जना तेस्रो लिंगीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । बुढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनको समय सकिइसक्दा पनि नाम दर्ता गरिरहँदा वडा नं. ९ का अध्यक्ष, स्थानीय एमाले नेता र आयोगले खटाएका प्राविधिक शनिबार राति पक्राउ परेका थिए । बुढानीलकण्ठ नगरपालिकामा जारी तालाबन्दीले तथ्यांक आइनसकेको कार्यालयकी प्रवक्ता शान्ति बोगटीले बताइन् । एकपक्षीय रूपमा जथाभावी नाम दर्ताको काम गरेको भनेर कांग्रेस र माओवादी केन्द्रले निर्वाचन कार्यालयमा उजुरी दिएका छन् । आयोगले साउन १६ देखि ३२ सम्म स्थानीय तह र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावलीमा नाम दर्ता, अद्यावधिक र त्रुटि सच्याउन समय दिएको थियो । समय थप्नुपर्ने देखिएपछि भदौ ३ सम्म समय थप गरिएको थियो । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-25/20170825070438.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More