काठमाडौंमा भूमिगत रेलसेवा सञ्चालनबारे बेलायती विश्वविद्यालयमा अनुसन्धा

August 20, 2018

कान्तिपुर दैनिक, ४ भाद्र २०७५

लन्डन — काठमाडौंको अव्यवस्थित यातायात, ट्राफिक जाम, धूलो र धुवाँको दीर्घकालीन समाधान हुनसक्ने ठानिएको प्रस्तावित भूमिगत रेलसेवाबारे बेलायतीको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् ।

बेलायतको वारवीक विश्वविद्यालयमा स्नातकोत्तर तहमा टनेलिङ एण्ड अण्डरग्राउण्ड स्पेस कोर्स पढिरहेका १३ जना विद्यार्थीले काठमाडौं उपत्यकामा भूमिगत रेलसेवाको सम्भावनाबारे तीन महिना लामो अनुसन्धान सुरु गरेका हुन्। उनीहरु मलेसिया, सिंगापुर, चीन, ब्राजिल, फिलिपिन्स, भारत र बेलायतका विद्यार्थीहरु भएको विश्वविद्यालयले जनाएको छ।

ब्रिटिश टनेलिङ सोसाइटीले वारवीक विश्वविद्यालयलाई एमएस्सी टनेलिङ एण्ड अण्डरग्राउण्ड स्पेस कोर्स चलाउन अनुमति दिएको हो जुन सुरुङ सम्बन्धि अध्ययनका लागि बनाइएको विशेषकोर्स मानिन्छ। कोर्स डाइरेक्टर डा. अलान ब्लडवर्थ ५ दिन नेपाल बसेर विज्ञहरुसँग छलफल एवं त्यहांको भौगोलिक वस्तुस्थिति बुझेर फर्किएका थिए।

ती विद्यार्थीहरुले गत जुनदेखि नेपालको सन्दर्भमा सुरुङ कति गहिरो बनाउने? स्टेशन कत्रो बनाउने? अनुमानित लागत कति? बनाउन लाग्ने समय, हुन सक्ने जोखिम र यसका निराकरण आदिबारे अध्ययन सुरु गरेका हुन्। हाल बेलायतमा कार्यरत एकजना परामर्शदाता सिभिल इन्जिनियर डा. बिनोदलाल अमात्यले वारवीकविश्वविद्यालय र नेपालमा उक्त अनुसन्धानका लागि संयोजन गरिरहेका छन्।

विद्यार्थीले बनाएको स्केच ।

उनीहरुले तीन समूह बनाइ यस बीचमा डा. अमात्यले प्रस्ताव गरेको काठमाडौं लाइनका दुई भाग तथा पाटन लाइनको एक भागको अध्ययन गरिरहेका छन्।

वारवीकलाई नेपालमा काठमाडौं मेट्रो प्रमोशन ग्रुपले स्वयंसेवी भूमिकामा सहयोग गरिरहेको छ जुन समूह त्रिभुवन विश्वविद्यालय, इन्सटिच्यूट अफ इन्जिनियरिङले नेतृत्व गरेको छ भने दुई नेपाली परामर्शदाता कम्पनीहरु मल्टी डिसिप्लीनरी कन्सल्टेन्स र इटेको नेपालले सहयोग गरिरहेका छन्।

‘नेपालमा हाइड्रो सुरुङ बनाउने विज्ञ भएपनि शहरी वस्ती भएको ठाउँमा सुरुङ(अरबान टनेलिङ) बनाउने अनुभव नेपालीमा छैन। विद्यार्थीहरुले अध्ययनपछि आगामी सेप्टेम्बरमा प्रकाशित गर्ने प्रतिवेदनले यो विषय अन्तर्राष्ट्रियकरण हुने मेरो विश्वास छ,' परामर्शदाता सिभिल इन्जिनियर डा. अमात्यले कान्तिपुरसँग भने।

उनको अनुभवमा काठमाडौं उपत्यकामा भूमिगत रेलको विकल्प छैन्। ‘काठमाडौंमा पुराना सम्पदा, घरहरु भत्काएर आकाशे रेल चलाउन झन् अव्यवहारिक छ किनकि नेपालमा भूकम्पको जोखिमले त्यस्तो आकाशे रेल निर्माणमा बढि खर्च हुन जान्छ,' अमात्य भन्छन्।

अध्ययन प्रतिवेदन सेमिनार, प्रिजेन्टेसनमार्फत सार्वजनिक गर्ने र नेपाल सरकारलाई प्रदान गर्ने सोच विश्वविद्यालयको छ। उक्त प्रतिवेदन सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको पनि ध्यानाकर्षण हुने र यसबाट सो महत्वाकांक्षी परियोजनामा लगानी गर्न उपयुक्त वातावरण बन्ने आशा व्यक्त गरिएको छ।

डा. अमात्यका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्छन्। उनले उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रोरेल सञ्चालन गर्न सकिने र त्यसमध्ये ७७ किलोमिटर सुरुङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिने पनि बताए।

२० वर्षमा निर्माण सम्पन्न हुने अनुमान गरिएको सो परियोजनाको कुल लागत चार खर्ब ७१ अर्ब रुपैंया र एक किलोमिटर टनेल खन्न करिब चार अर्ब रुपैयाँ लाग्ने बताइएको छ।‘अब हामीले आउँदो २० वर्षकालागि काठमाडौंको रेल परिदृश्यको परिकल्पना गरेर काम सुरु गरिहाल्नुपर्छ,' अमात्यले भने।

स्रोत: https://www.kantipurdaily.com/news/2018/08/20/153475540250655022.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More