रेडियो कान्तिपुर, २२ चैत्र २०७४
आज पनि काठमाण्डौं उपत्यकासहित अधिकांश स्थानमा पानी पर्ने सम्भावना
उपल्लो वायुमण्डलमा बनेको न्यूनचापिय प्रणालीको प्रभावका कारण आज पनि काठमाण्डौं उपत्यकासहित अधिकांश स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मार्चदेखि अप्रिलको अन्त्यसम्म प्रि मनसुनको प्रक्रिया चल्ने भएकाले विषेशगरी पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।
अझै एक–दुई दिन बिहान मौसम खुले पनि अपरान्हपछि बदली भएर साँझपख पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यसैबीच काठमाडौंमा यो महिना औषत भन्दा बढी पानी परिसकेको उहाँले बताउनुभयो । सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्नुपर्नेमा महिनाको सुरुवात नै ६५ मिलिमिटर भन्दा बढी पानी परिसकेको मौसमविद पौडेलले जानकारी दिनुभयो ।
स्रोत : http://radiokantipur.ekantipur.com/news/2018-04-05/20180405090356.html