काम दुई महिनादेखि ठप्प

September 16, 2019

हिमनाथ देवकोटा, नागरिक, भाद्र ३०, २०७६

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको काम दुई महिनादेखि ठप्प भएको छ।

वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार फर्किएपछि काम ठप्प भएको हो। आयोजनाका अनुसार असार मसान्तदेखि काम रोकिएको हो। दसैंपछि मात्रै काम सुरु हुने आयोजनाले जनाएको छ।

आयोजनाको ३० प्रतिशत काम सकिएको छ। १४.७ मेगावाटको आयोजना डेढ वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको छ। यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्बाइन वक्र्स कम्पनी लिमिटेड (सिडब्लुटिडब्लु)ले निर्माण गरिरहेको छ।

आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ। आयोजनाको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ।

 

जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै आयोजनाले संरचना निर्माणको काम अघि बढाएको हो।

यार्सामा हेडवक्र्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ। आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ। आयोजनाले दिएको जानकारीअनुसार दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहनेछ। तीमध्ये तीन सय मिटर टनेल निर्माण भइसकेको छ।

त्यसैगरी फलाखुखोला (पाँच मेगावाट) जलविद्युत् आयोजनाको निर्माण कार्य २० प्रतिशत सकिएको छ। यो आयोजनाले पनि तिहारपछि मात्रै काम सुरु गर्ने तयारी गरेको रसुवा हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक विसम रिमालले जानकारी दिए। यो आयोजनाको लागत करिब एक अर्ब रुपयाँ रहेको छ।

आयोजनाले दिएको जानकारीअनुसार एक हजार एक सय मिटर मुख्य सुरूङ र एक हजार दुई सय मिटर पेनस्टक रहने छ। यो आयोजनाको ड्याम साँघाचौरमा रहने र दनुस्वारामा पावर हाउस रहने बताइएको छ।

उत्पादन हुने विद्युत् त्रिशूली थिब्री हबमा जोडिने छ। पाँच मेगावाट क्षमताको आयोजनाले नौ किलोमिटर र १३.७ मेगावाट क्षमताको आयोजनाले १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। जिल्लामा अहिले १३ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। पाँच वर्षभित्र यी आयोजनाबाट ६ सय ९८ मेगावाट विद्युत् उत्पादन हुन्छ।

श्रोतः https://nagariknews.nagariknetwork.com/news/92021/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter