राजु चौधरी, कान्तिपुर दैनिक, जेष्ठ ३०, २०७४
सरकारले उपभोक्ता ठगी गर्ने १ सय ३३ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ । कारबाहीको दायरामा परेकाहरूमा मासु पसल, फार्मेसी, पेट्रोलपम्प र सवारी साधन सञ्चालक रहेका छन् । यसमा सवारी साधन मात्रै १ सय २१ वटा रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ । संरक्षण विभागको संयोजकत्वमा सातायता जारी विशेष अनुगमनमा ८ फर्ममा सिलबन्दी र ४ वटामा कारोबार रोक्का गरिएको छ ।
विभागका महानिर्देशक कुमार दाहालका अनुसार सातायता ४ सय ५३ व्यावसायिक फर्ममा अनुगमन गरिएको छ । तीमध्ये बढी कैफियत फेला परेको १२ फर्मलाई सिलबन्दी/कारोबार रोक्का गरेको उनले बताए । सिलबन्दी र कारोबार रोक्का गरेको फर्मले कैफियत सुधार तथा कानुनी प्रक्रिया पूरा गरेर ३ देखि ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । केही फर्मलाई भने सार्वजनिक अपराधअन्तर्गत कारबाहीको तयारी भएको उनले बताए ।
२३ गतेबाट सुरु विशेष अनुगमनमा २० वटा दुग्ध तथा खानेपानी व्यवसाय, ४५ माछा/मासु पसल तथा बधशाला, ५३ औषधि/फार्मेसी तथा स्वास्थ्य क्लिनिक, ७० होटल, मिठाई तथा खाद्य, १८ पेट्रोलियम पदार्थ ग्यास तथा निर्माण सामग्री र २ सय ४७ यातायात क्षेत्रमा अनुगमन गरेको थियो । त्यसक्रममा बढी कैफियत भेटिएको १२ व्यावसायिक फर्ममा सिलबन्दी/कारोबार रोक्का गरेको हो । ७ दिनमा बिग्रेको ४ सय ७२ किलो माछामासु नष्ट गरेको जनाएको छ ।
विभागका अनुसार पहिलो दिनमा बानेश्वरको भेनस फर्मालाई सिलबन्दी गरेको थियो । ‘फर्मामा लागु र मनोद्विपक औषधिको रेकर्ड दुरुस्त थिएन । व्यवसाय दर्ताको नवीरण पनि नभएकाले सिलबन्दी गरेका हौं,’ महानिर्देशक दहालले भने । दोस्रो दिनमा भक्तपुर देकोचाको बिकेश मिट सप र जोरपाटीको जीएमबी इन्टरप्राइजेज (पेट्रोलको १ वटा नोजल) को कारोबार रोक्का गरेको उनले बताए । तेस्रो दिनमा अनुगमन टोलीले चन्द्रागिरि मातातीर्थको कविता बेभरेज प्रालिलाई सिलबन्दी गरेको थियो ।
बेभरेज प्रालिले उद्योग दर्तासम्बन्धी कुनै कागजात देखाउन नसकेको, बजारमा पठाउन राखेको २० लिटरको पानीको जारमा उत्पादन मिति नभएको तथा प्रोसेसिङ गर्ने ठाउँ सरसफाइ नभएकाले सिलबन्दी गरेको जनाएको छ । बत्तिसपुतलीको कुमारी आयल स्टोरको एउटा नोजलको पनि कारोबार रोक्का गरेको छ । उक्त पेट्रोल नोजलबाट २५ एमएल कम इन्धन फ्याँकेकाले बिक्री वितरण रोक्का गरेको विभागले जनाएको छ ।
अनुगमन टोलीले चौथो दिनमा नख्खुको आधुनिक गंगा कोल्ड स्टोरमा सिलबन्दी गरेको थियो । सुधार गर्न दिएको निर्देशन पालना नगरेपछि उक्त कोल्ड स्टोरमा सिलबन्दी गरिएको हो । स्टोरमा अनुगमन गर्दा मरेको कुखुरा काटेर बिक्री गरेको र धेरै पुरानो रगत जमेकाले खान अयोग्य मासु बिक्रीका लागि तयार गरी बिलसमेत काटेको फेला परेको थियो । पाँचौं दिनमा ललितपुर सामपाङ चोकमा रहेको ललित फ्रेस हाउसलाई पनि सिलबन्दी गरिएको थियो । बधशाला अत्यन्त फोहोर, झिँगा भन्केको, मरेको कुखुरा बिक्री गर्दै गरेको अवस्थामाा भेटिएको तथा ढलको उचित व्यवस्था नभएकाले उक्त हाउसलाई सिलबन्दी गरेको महानिर्देशक दहालले बताए ।
छैटौं दिनमा गोंगबुको सगरमाथा मिट प्रोडक्ट र केसी चिकेन स्टोर र बुद्ध समाज डेन्टल हस्पिटल फार्मेसीमा सिलबन्दी गरेको थियो । सगरमाथाले ससेजमा अखाद्य मासु र रसायन मिसावट गरेको, चिकेन बफ ससेजको नाममा सोयाबिन मस्यौरा पनि मिसाएर बिक्री गरेको थियो । केसी स्टोरका सञ्चालकले मरेको कुखुरा काटेर बिक्री गरेको, सम्बन्धित निकायबाट बिक्रीका लागि स्वीकृति नलिएको भेटिएको जनाएको छ ।
यस्तै बुद्ध डेन्टलले कस्मेटिक सामान बिक्री वितरण गरेको, एमटीपी औषधिको एमआरपी मेटिएको, एप्काडोल ५० को रेकर्ड नभएको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री गरेको तथा म्याद नाघेको औषधिसमेत बिक्री गरेको फेला परेको जनाएको छ । बाँसबारीमा रहेको खड्का आयल सप्लायर्स पम्पको एउटा नोजलको कारोबार पनि रोक्का गरेको छ । अनुगमन टोलीले दुईतिरको काउन्टर मिटरमा फरक/फरक मापन भएको फेला पारेपछि पेट्रोलको एउटा नोजलको कारोबार रोक्का गरेको हो ।
सातौं दिनमा अनुगमन टोलीले धुम्बाराहीको राजधानी आयल स्टोरमा सिलबन्दी गरेको छ । पेट्रोलको नोजलमा मापदण्डभन्दा ६० एमएल कम देखिएपछि नोजल सिलबन्दी गरेको जनाएको छ । दहालका अनुसार ७ दिनमा १ सय २१ सवारी साधन कारबाहीको दायरामा परेका छन् । १३ रुपैयाँ लिनुपर्ने यात्रुबाट १५, १७/१८ रुपैयाँ लिनुपर्नेमा २० रुपैयाँ असुलेपछि जरिवानास्वरूप ५ हजार रुपैयाँ चिट काटेको जनाएको छ । महानिर्देशक दहालका अनुसार विशेष अनुगमन नियमित हुनेछ । अनुगमन टोलीले तरकारी फलफूल र पोलिक्लिनिकमा पनि अनुगमन गर्ने बताए । ‘नियामक निकाय १२ वटा छन् । तर, सुतेर बस्दा बजारमा व्यवसायीको कार्टेलिङ, एकाधिकार बढी छ । व्यापारीहरू संगठित हुँदै गएका छन्,’ उनले भने, ‘बजार व्यवस्थित नहुँदा विभागले हस्तक्षेप गरेको हो ।’
सिलबन्दीमा परेका व्यावसायिक फर्म
१. भेनस फर्मा, मध्यबानेश्वर
२. कविता बेभरेज प्रालि, चन्द्रागिरि मातातीर्थ
३. आधुनिक गंगा कोल्ड स्टोर, नख्खु
४. ललित फ्रेस हाउस, ढोलाहिटी ललितपुर
५. केसी चिकेन स्टोर, गोंगबु
६. सगरमाथा मिट प्रोडक्ट, बानियाँटार
७. बुद्ध समाज डेन्टल हस्पिटल फार्मेसी, चाबहिल
८. राजधानी आयल स्टोर (पेट्रोलको १ वटा नोजल), धुम्बाराही
कारोबार रोक्कामा परेका फर्म
१. बिकेश मिट सप, देकोचा
२. जीएमबी इन्टरप्राइजेज, जोरपाटी
३. कुमारी आयल, बत्तिसपुतली
४. खड्का आयल, बाँसबारी
Source: http://kantipur.ekantipur.com/news/2017-06-13/20170613090028.html