कारबाहीमा साढे दुई लाख मापसेकर्ता

February 14, 2018

 नारायण/प्रबिता , जनतापोष्ट, फागुन २, २०७४

पिउनले जति विरोध गरेपनि मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउनेमाथि गरिंदै आएको कारबाही प्रभावकारी देखिएको छ । यो नियमले दुर्घटनामा कमीमात्र ल्याएको छैन, सरकारको ढुकुटी भर्न पनि राम्रै सहयोग गर्दै आएको छ ।


मापसे गरेर सवारी चलाउनेलाई १ हजार रूपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको सजाय हुने भएकै कारण केही वर्षदेखि मदिराजन्य पदार्थ पिएर सवारी  चलाउनेको सख्यामा कमी आउन थालेको हो । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि १७ मंसिर २०६८ देखि कारबाही सुरु गरेको थियो ।किनकित्यसभन्दा अघि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेमाथि प्रभावकारी कारबाही गर्न सकेको थिएन । त्यसले गर्दा नशामा मातिएरपनि ढुक्क भएर सवारी चलाउनेहरूलाई सो नियम त्यति पचेको थिएन । 


ट्राफिकले अल्कोहलको मात्रा पत्ता लगाउने मेसिन‘ब्रेथलाइजर’प्रयोगमा ल्याएपछि मापसे सेवन गरेर सवारी चलाउनेहरू धमाधम कारबाहीमा पर्न थालेका थिए । अहिलेसम्म ट्राफिक प्रहरीले मापसे सेवन गरेर सवारी चलाउने २ लाख ५५ हजार ८ सय ४५ जनालाई कारबाही गरिसकेको छ । साथै,मापसे परीक्षण सुरु भएको साढे ६ वर्षको अवधिमा कारबाही गरिएका व्यक्तिबाट राज्यले २३ करोड २६ लाख ४१ हजारको राजस्व संकलन गरिसकेको छ । 


ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाएपछि दुर्घटना बढेको भन्दै सो चेकजाँच सुरु गरेको हो । मापसे चेकजाँच सुरु भएलगत्तै कारबाहीमा पर्नेहरूको संख्या धेरै देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मापसे चेकजाँच सुरु भएपछि भने चालकहरू केही संयमित भएको र मापसे गरे सवारी चलाउनेको संख्यामा कमी आउँदै गएको ट्राफिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारले जनतापोस्टलाई जानकारी दिए ।


मापसे गरेर सवारी चलाउनेको संख्या घट्दै 
मापसे चेक सुरु गरिएको आर्थिक वर्ष २०६८÷६९ मा ३ करोड ४४ लाख ९१ हजाररूपैयाँ राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा भने ३९ हजार ६ सय ६७ जना चालक मापसेको कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । कारबाहीमा पर्नेमा ३९ हजार ४ सय ८० पुरुष थिए भने महिलाको संख्या मात्र १ सय ८७रहेको थियो । कारबाहीमा परेका सबैलेमापसे गरेर बेलुकीपख सवारी चलाएका थिए ।


आर्थिक वर्ष २०६९÷७० मा मापसे गर्नेहरूबाट ४ करोड ६९ लाख ३६ हजाररूपैयाँ राजस्व संकलन भएको थियो ।उक्तवर्ष ५१ हजार ९ सय ९३ पुरुष र २ सय ८७ जना महिला गरी ५२ हजार २ सय ८० जना चालक मापसेको काराबाहीमा परेका थिए । आर्थिक वर्ष २०७०÷७१ मा ५४ हजार ५ सय ३५ जना चालक मापसेको कारबाहीमा परेका थिए । उनीहरूबाट ५ करोड२१ लाख ६५ हजाररूपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 


मापसे चेकजाँच सुरु गरिएका सुरुवाती वर्षहरूमा कारबाहीमा पर्ने चालकहरूको संख्या अत्याधिक थियो। तर,ट्राफिक प्रहरीको चेकिङमा कडाई तथा जनचेतनाका कारण पछिल्ला वर्षहरूमा मापसे गरेर सवारी चलाउनेहरूको संख्यामा बिस्तारै कमी आएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । मापसे चेकजाँचमा कडाइ गर्नु र चालक सचेत भएका कारण केही कमी आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) सर्वेन्द्र खनालले बताए ।


ट्राफिकको जनचेतासँगै आर्थिकवर्ष २०७१/७२ मा मापसेकारबाहीको संख्यामा कमी आएको थियो । उक्तवर्ष ३६ हजार ६५ जना चालक कारबाहीमा परेका थिए । उनीहरूबाट ३ करोड ५६ लाख २६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा पनि मापसेको कारबाहीमा पर्नेको संख्या घट्दोक्रममै रह्यो । यसवर्ष २९ हजार २ सय २२ चालक कारबाहीमा परे । उनीहरूबाट सो आर्थिक वर्षमा २ करोड ७८ लाख १८ हजाररूपैयाँ राजस्व संकलन भएको थियो ।


आर्थिक वर्ष २०७३/७४ मा २८ हजार ८ सय ९३ जना चालक मापसेको शिकार भए । उनीहरूबाट ट्राफिक प्रहरीले २ करोड ३९ लाख ४ हजार रूपैयाँ राजस्व संकलनगर्याे । चालु आर्थिकवर्षको पुससम्ममा १५ हजार १ सय ८० जना चालक मापसेको कारबाहीमा परिसकेका छन् । उनीहरूबाट १करोड २५ लाख ११ हजाररूपैयाँ राजस्व संकलन भएको छ । 


पछिल्ला वर्षमा ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेको लाइसेन्समा प्वाल पार्नेदेखि खारेज गर्नेसम्मको कारबाही गर्न थालेपछि यो कारबाहीमा पर्नेको संख्यामा कमी आएकोे छ । ‘आजकाल ट्राफिक कारबाहीको डरले भोज भतेरमा जाँदा समेत सवारी चलाउनेहरूले मापसे गर्दैनन्’ डिआइजी खनालले भने ‘यसलाई पनि हामीले सकारात्मकरूपमा लिनुपर्छ ।’


विगतमाट्राफिक प्रहरीले जरिवाना उठाएवापत १५ प्रतिशत कमिसन पाउँदै आएका थिए । तर सरकारले १५ प्रतिशत कमिसनकै नाममा चालकलाई जथाभावी दुःख दिने गरेको भन्दै गत जेठ महिनादेखि सो सुविधाहटाएको थियो । कमिसन हटाएपछि मापसे कारबाहीमा कमी आएको हो कि भन्ने प्रश्नमाडिआइजी खनालले भने ‘भत्ताका लागि मात्रै ट्राफिकले काम गरेका छैनन् । चालकमा आएको जनचेतनाले मापसे कमी भएको हो ।’


मापसेको सिकार महिला पनि
ट्राफिक प्रहरीको तथ्याङक अनुसार मापसे चेक सुरु भएदेखि अहिले २५ लाख ५८ हजार ४५ चालकलाई कारबाही गरेको छ । मापसेको कारबाहीमा पर्ने धेरै जसो पुरुष भएपनि महिला चालक पनि यसबाट चोखो रहेका छैनन् । कारबाहीमा पर्नेमा २५ लाख ४ हजार ३ सय १३ पुरुष छन् भने १ हजार ५ सय ३१ महिला छन् । महिला चालकको तुलनामा पुरुष चालक धेरै भएकाले पुरुष चालक बढी कारबाहीमा पर्नु स्वाभाविक भएको ट्राफिक प्रहरीले जनाएको छ ।महिला चालक सबैभन्दा बढी आर्थिक वर्ष २०७०÷७१ मा कारबाहीमा परेका थिए । त्यस आर्थिक वर्षमा३ सय ७५ महिला चालक कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा छ ।चालु आर्थिकवर्षमा भने ४२ जना महिला मापसेको कारबाहीमा परेका छन् । आर्थिकवर्ष सकिन अझै बाँकी भएकाले यो संख्या बढ्ने प्रहरीले जनाएको छ ।


यसरी कारबाहीमा पर्नेहरू कोही पटके छन् भने कोही एक पटक मात्र पनि कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरूअधिकांश सार्वजनिक तथा भाडाका गाडीभन्दानीजि कार तथा मोटरसाइकल चलाउनेहरू रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
शुक्रबार मापसे गर्ने धेरै


ट्राफिक प्रहरीको कारबाहीमा उल्लेख भएअनुसार सबैभन्दा बढी शुक्रबार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरू धेरै भेटिन्छन् ।भोलिपल्ट सार्वजनिक बिदा भएकाले शुक्रबार मापसे गर्नेहरू धेरै भएको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी रञ्जिकारले बताए । शुक्रबार पछि शनिबार मापसेको कारबाहीमा पर्नेहरूको संख्या बढी छ । बिदाका दिन भएकाले शनिबार मापसे गरेर सवारी चलाउनेहरूको संख्या काठमाडौं उपत्यकामा बाक्लै भएकाले ट्राफिक प्रहरीले शनिबार दिउँसो पनि मापसे चेक गर्ने गरेको छ । त्यसैगरी जाडो मौसम, बिहे, भोज लगायतका दिनहरूमा पनि  मापसे गरेर सवारी चलाउनेको संख्या पनि ठूलै छ ।

स्रोत: http://janatapostdaily.com/news-details/1348/2018-02-14

Newsletter

Submit your details below to receive Newsletters

Newsletter