कालीगण्डकी करिडोरमा प्रसारण लाइन बन्दै

March 16, 2018

कान्तिपुर, चैत्र २, २०७४

म्याग्दी — कालीगण्डकी करिडोरमा जलविद्युत् आयोजना जोड्न सबस्टेसन र प्रसारणलाइन निर्माणले तीव्रता पाएको छ ।

म्याग्दीको अन्नपूर्ण ३ को दानादेखि पर्वतको कुस्मा नगरपालिकाको खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म १ सय ४२ किमि लम्बाइको २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारणलाइनमध्ये पहिलो चरणमा दाना–खुर्कोट ४२ किमि खण्डमा सबस्टेसन र लाइनका टावर धमाधम निर्माण भइरहेका छन् । कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाका अनुसार दाना–खुर्कोट खण्डमा १ सय १० वटा टावर राख्न आवश्यक जग्गाको व्यवस्थापनसँगै निर्माण कार्य सुरु भएको छ । आयोजना प्रमुख चन्दन घोषका अनुसार जलविद्युत्को ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘समय सीमाभित्रै पूरा गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘ठूलो कुनै अवरोध आएन भने हामीले छिट्टै काम पूरा गर्छौं ।’

कालीगण्डकी करिडोरका सबै जलाधार क्षेत्रमा निर्माणाधीन आयोजनाहरूको उत्पादन थाल्ने मितिभित्र लाइन जोड्न मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन तयार हुने उनले बताए । टावर राखिने कुनै पनि ठाउँमा हालसम्म अवरोध नरहेको उनले जनाए । मुस्ताङ र म्याग्दीका जलविद्युत् आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङका आयोजनाबाट उत्पादित बिजुली पर्वतको खुर्कोट सबस्टेसनमा जोडेपछि खुर्कोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट लैजाने प्राधिकरणको योजना छ ।

प्राधिकरणले दाना र खुर्कोट २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न भारतीय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटा–चिन्ट जेभी ठेकदार कम्पनीलाई २ अर्ब ९० करोडमा ठेक्का दिएको छ । आयोजना र ठेकदारबीच सन् २०१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो ।

कालीगण्डकी करिडोरको दाना सबस्टेसनमा जोड्ने भनिएको मुस्ताङको १० मेगावाटको थापाखोला जलविद्युत् आफ्नो बिजुली राष्ट्रिय प्रसारणमा पठाउन नपाएर अलपत्र छ । कालीगण्डकी प्रसारण लाइनमा जोड्ने भनिएको अर्को ५ मेगावाटको घलेम्दीको निर्माण अन्तिम चरणमा छ । ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण ५० प्रतिशत पुगेको छ । त्यसैगरी कालीगण्डकी करिडोरको दाना सबस्टेसनमा जोड्ने गरी ३२ मेगावाटको राहुघाट, १४ मेगावाटको घारखोला, ६४ मेगावाटको कालीगण्डकी अपर, १४६ को कालीगण्डकी गर्ज, ३८ मेगावाटको नीलगिरि, मुस्ताङमा निर्माणाधीन २.४० को ताङछर खोला र ४५० मेगावाटको कोबाङ–कालीगण्डकी आयोजनाबाट उत्पादन हुने विद्युत्लाई जोड्ने योजना छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/03/16/15211686701212551.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More