News

कुन देशको लगानी प्रतिबद्धता कति?

March 05, 2017

Kantipur, 4th March 2017

लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले झन्डै साढे १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । यो हालसम्म नेपालमा भएको वैदेशिक लगानी प्रतिबद्धताको तीन गुणा बढी हो । यसअघि विभिन्न मुलुकका लगानीकर्ताले ५ खर्ब ३८ अर्बको प्रतिबद्धता जनाएका छन् । औद्योगिक प्रवद्र्धन बोर्ड र लगानी बोर्डमार्फत पटक–पटक गरेर आएको प्रतिबद्धताको झन्डै तीन गुणा लगानी एउटै मञ्चबाट घोषणा हुनुलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

बिहीबार र शुक्रबार भएको ‘नेपाल लगानी सम्मेलन– २०१७’ मा विभिन्न मुलुकका १६ कम्पनीले आशयपत्र बुझाउँदै लगानी गर्ने बचन दिएका हुन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार सम्मेलनमा विदेशी र केही नेपाली व्यवसायीको समेत गरी १४ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) बराबर लगानी प्रतिबद्धता आएको हो ।
 सबैभन्दा धेरै चीनले करिब ८ खर्ब ८८ अर्ब (८ अर्ब ३० करोड डलर) बराबरको लगानी गर्ने जनाएको छ । बंगलादेशले २ खर्ब ५६ अर्ब (२ अर्ब ४० लाख डलर), जापान र बेलायतले एक/एक खर्ब ७ अर्ब (१ अर्ब डलर), श्रीलंकाले ५३ अर्ब (५० करोड डलर) र भारतले करिब ३४ अर्ब (३१ करोड ७० लाख डलर) बराबर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाली व्यवसायीले पनि १ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । 

लगानी प्रतिबद्धता गरेका कम्पनीलाई सरकारले व्यवसाय सुरु गर्न आवश्यक सहजीकरण गर्ने अधिकारीले बताए । सम्मेलनमा चीनबाट सबैभन्दा धेरै ६ वटा कम्पनीले इच्छा व्यक्त गरेका छन् । चिनियाँ कम्पनीले जलविद्युत्, पूर्वाधार, पर्यटन, खानीलगायत उद्योगमा लगानीको प्रतिबद्धता जनाएका हुन् । भारतका तीन तथा बंगलादेश, श्रीलंका, जापान र बेलायतका एक/एक कम्पनीले लगानी गर्ने बताएका छन् ।

भारतीय कम्पनीहरूले इन्भेस्टमेन्ट बैंक, सोलार, पर्यटन र बायोमेडिकलमा लगानी गर्ने इच्छा देखाएका छन् । बंगलादेशको एक कम्पनीले खाद्यान्न र निर्माणमा लगानी गर्ने जनाएको छ । श्रीलंका, जापान र बेलायतका कम्पनीले जलविद्युत्, ऊर्जा र कृषिमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

स्वदेशी तथा विदेशी गरी हजारभन्दा बढी कम्पनी सहभागी सम्मेलनमा ठूलो मात्रामा लगानीको प्रतिबद्धता आएको हो । सम्मेलनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश दिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । ‘नेपालमा कुनै राजनीतिक समस्या छैन, लगानीको वातावरण छ भन्ने सन्देश सम्मेलनले दिएको छ,’ उनले भने । जोशीले नेपालले विदेशी लगानीकर्तालाई पनि समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोजकका अनुसार सम्मेलनमा नेपालबाहेक २३ वटा मुलुकका २ सय ७५ व्यक्ति तथा कम्पनीको सहभागिता थियो । चीन र भारतसहित बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्ेरलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रसिया, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत मुलुकका लगानीकर्ता थिए । 

सबैभन्दा बढी चीनबाट ९० व्यक्ति तथा कम्पनी आएका थिए । त्यसपछि भारतबाट ३० लगानीकर्ताले सहभागिता जनाएका थिए । बहुराष्ट्रिय कम्पनीहरू कोकाकोला, माइक्रोसफ्ट, युनिलिभर, जीएमआर, सतलज निगम, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), विश्व बैंक, एसियाली विकास बैंक, नाइजेरियाको डांगोटे, चीनको होङ्सी लगायतबाट समेत सहभागिता थियो ।  दुई दिन चलेको सम्मेलनमा ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी, कृषि तथा वनसहित ९ विषयमा छलफल भए । छलफल सत्रमा क्षेत्रगत विज्ञ, लगानीकर्ता, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सरोकारवाला निकाय थिए । 

वैध भारु साटिन्छन्  : जेट्ली 
भारतीय वित्त मन्त्री अरुण जेटलीले नेपालमा रहेका ५ सय र हजार दरका भारतीय नोट चाँडै साटिने बताएका छन् । नेपाल लगानी सम्मेलन– २०१७ मा सहभागी हुन आएका जेटलीले शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै वैध रूपमा रहेका भारतीय नोट साटिने बताएका हुन् । 

उनी सम्मेलनमा मुख्य वक्ता थिए । ‘हाम्रो केन्द्रीय बैंक र यहाँको केन्द्रीय बैंकको टोलीले यसबारे छलफल गरिरहेको छ,’ उनले भने । उनले हालसम्म आफूले भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘यो हाम्रो केन्द्रीय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोटहरू साटिन्छन्,’ उनले भने । 

हालै रिजर्व बैंक अफ इन्डिया (आरबीआई) को टोलीले नेपाल आएर भारतीय नोटबारे अध्ययन गरेर फर्किएको छ । भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन् । 

नेपालले गरेको सम्मेलनले लगानीकर्तालाई आकर्षित गर्ने जेटलीले विश्वास व्यक्त गरे । उनले नेपालमा लगानी र विकासका लागि सहयोग गर्न भारत सधैं तत्पर रहेको उनले बताए । उनले शुक्रबार उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग द्विपक्षीय सहयोग तथा भारतीय लगानी विस्तारबारे छलफल पनि गरेका थिए । उनी शुक्रबारै फर्किएका छन् । 

Source: http://kantipur.ekantipur.com/news/2017-03-04/20170303204823.html