News

कुपोषण बढ्यो

February 15, 2019

शंकर आचार्य, कान्तिपुर, फाल्गुन ०३, २०७५ 

पर्सा — पर्साका बालबालिकामा कुपोषणको डरलाग्दो दर देखा परेको छ । नेपाल युथ फाउन्डेशन र नारायणी उपक्षेत्रीय अस्पतालले हालै संयुक्त रूपमा वीरगन्ज महानगरको एउटा र पोखरिया नगरपालिकाको एउटा वडामा आयोजना गरेको पोषण तथा स्वास्थ्य शिविरले यस्तो तथ्यांक देखाएको हो । 

उपक्षेत्रीय अस्पतालको पोषण पुन:स्थापना गृहकी प्रबन्धक सरिता यादवका अनुसार वीरगन्ज महानगर ३० लालपर्सा र पोखरिया नगरपालिका ४ मा क्रमश: माघ १० र ११ गते आयोजित शिविरमा १० वर्षमुनिका ६ सय ९५ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ३ सय ५६ बालबालिकामा कुपोषण देखिएको हो ।  

१७ बालबालिकामा कडा, १ सय २८ मा मध्यम र २ सय ११ मा सामान्य कुपोषण रहेको शिविरको अध्ययनले देखाएको छ । लालपर्सामा ३ सय ३ पाँच वर्षमुनिका र २७ जना ५ वर्षमाथिका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये १ सय ७१ बालक र १ सय ५९ बालिका थिए ।

पोखरियामा १ सय ९० बालक र १ सय ७५ बालिका गरी ३ सय ६५ को स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ५ वर्षमुनिका १ सय ८५ र ५ वर्षमाथिका १ सय ८० थिए । जातिगत रूपमा ४ सय ५७ मधेसी, २ सय ३६ मुस्लिम, १/१ जनजाति र ब्राम्हण थिए ।

दुबै शिविरमा आएकामध्ये १ सय ७२ बालक र १ सय ६७ बालिका मात्र कुपोषण नभएका थिए । कुपोषित रहे नरहेको यकिन गर्न विश्व स्वास्थ्य संगठनको मानकलाई अपनाइएको यादवले बताइन् । ‘हामीले उचाइअनुसार तौल नभएका बालबालिकालाई कुपोषित ठहर गरेका हौं,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनको मानकअनुसार ५ वर्षमुनिका बालबालिकाको उचाइ कम्तीमा १ सय ३० सेन्टिमिटर हुनुपर्छ ।’

कूल ६ सय ९५ बालबालिकामध्ये १ सय ३५ लाई ग्यास्ट्रिकको समस्या, १ सय ४९ बालबालिकालाई श्वासप्रश्वास, २२ लाई छालाको समस्या, ४ लाई आँखा, १ लाई प्रजनन, २१ लाई नाक कान घाँटी, २६ जनामा रुघाखोकी, १९ लाई मेडिकल स्वास्थ्य, १ लाई मुटुरोग समस्या रहेको पनि पाइएको थियो । शिविरमा आएका १ सय ८२ आमालाई पोषणको परामर्श दिइएको थियो ।

यादवले ३ खाले कुपोषित बालबालिकामध्ये कडा कुपोषित १७ बालबालिका ज्यानकै जोखिम रहेको बताइन् । ‘उनीहरूले उचित स्याहार र पोषण तत्कालै नपाए सामान्य रोगले पनि उनीहरूको ज्यानै लिन सक्छ, उनीहरूलाई आकस्मिक उपचार आवश्यक हुन्छ,’ यादवले भनिन्, ‘समयमै उपचार नगरिए सामान्य कुपोषित बालबालिका मध्यम र मध्यम कुपोषित बालबालिका कडा कुपोषित हुने सम्भावना पनि उत्तिक्कै हुन्छ ।’

लालपर्साको शिविरमा फेला परेका कडा कुपोषितमध्ये ३ बालबाकिलालाई अभिभावकले अस्पतालको पोषण पुन:स्थापना गृहमा उपचारार्थ भर्ना गरी सकेको र उनीहरूको स्वास्थ्यमा क्रमश: सुधार पनि हुँदै गएको यादवले बताइन् ।

गृहमा उपचारार्थ ल्याइने कुपोषित बालबालिकालाई पहिलो ५ दिन कम क्यालोरी र कम प्रोटिनको दूध, छैठो दिनपछि दाल, भात, तरकारी, अचार, मासु, क्वाँटी, अन्डा, लिटो आदि पनि दिने गरिएको छ । बालबालिका कुपोषित हुनुमा अभिभावकको चेतनाको कमी, पोषण कार्यक्रम प्रभावकारी नहुनु, आमाले गर्भावस्थादेखि उचित स्वास्थ्य उपचार तथा औषधि, खोप आदि नलिनु हुन सक्ने उनले बताइन् ।

‘कुपोषणको यो डर लाग्दो डर हो, यसले तराईमा पनि कुपोषण उच्च दर रहेको देखाउँछ,’ उनले भनिन्, ‘जिल्ला अन्य स्थानीय तहमा परीक्षण गर्दा पनि यस्तै दर देखिन सक्छ, सम्बन्धित निकाय समयमै सजग र सक्रिय हुनु जरुरी छ ।’

सोर्त : https://www.kantipurdaily.com/pradesh-2/2019/02/13/15500368564883997.html