कुष्ठरोगी पत्ता लाग्ने दर बढ्यो

January 30, 2018

दिल शिरीष, अन्नपुर्ण पोस्ट, १६ माघ २०७४

जिल्लामा कुष्ठरोग पत्ता लाग्ने दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई आधार मान्दा कुष्ठरोग पत्ता लाग्ने दर बढ्दो क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेका अनुसार आर्थिक वर्ष ०७१/७२ मा तीन जना कुष्ठरोगी पत्ता लागेकोमा ०७२/७३ मा ५, ०७३/७४ मा नौ जना पुगेका छन् । जसमा एक बालसहित तीन महिला र ६ पुरुष छन् ।

कुष्ठरोगी देखिनेमा जिल्लाको बिनामारे, हुग्दिशिर, मल्म, हटिया, पाला, हरिचौर, राङ्खानी, जैदी र बिहुँलगायत गाउँ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कुष्ठरोगीको संख्या समाजमा अझै बढी भएको अनुमान गरिए पनि बिरामी खुल्न नचाहँदा वास्तविक तथ्यांक आइनसकेको कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए ।

‘कुष्ठरोगीलाई हेर्ने दृष्टिकोण राम्रो नभएकाले अझै पनि बिरामी खुल्न चाहँदैनन्,’ उनले भने, ‘जिल्लामा कुष्ठरोग निवारण गर्ने गरी अहिले स्वैच्छिक र विभिन्न जनचेतनामूलक एवं परीक्षण शिविरजस्ता कार्यक्रमसहित सक्रिय विधिमार्फत अभियान सञ्चालन गरिरहेका छांै ।’ कुष्ठरोगलगायत स्वास्थ्य शिक्षा शीर्षकमा विगतमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत आउने बजेट अहिले स्थानीय तहमा गएकाले जिल्लामा कार्यक्रम सञ्चालनमा केही कठिनाइ भएको उनले बताए ।

धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सागर राजभण्डारीले कुष्ठरोग सरुवा रोग भए पनि औषधि खान सुरु गरेपछि नसर्ने र रोग निको हुने बताए । ‘समाजमा यो रोग सर्छ भन्ने भ्रम छ’, उनले भने, तर यसको औषधि खान थालेपछि रोग सर्दैन, आफू पनि अपांगता हुनबाट बच्न सकिन्छ, यसबारे आमनागरिकलाई राम्ररी बुझाउन जरुरी छ । नयाँ रोगी उपचार गराउन आउनु समाजमा कुष्ठरोगको अरू थप जोखिम कम गर्नु भएकाले सबैले कुष्ठरोग लागेकालाई खुल्न सक्ने सहज वातावरण बनाउनुपर्नेमा डा. राजभण्डारी जोड दिन्छन् ।

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्नु, विस्तारै उक्त दागबाट रौं झर्दै जानु, पसिना नआउनु र नचिलाउनु यसका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका कीटाणु देखा पर्छन् । यसका साथै अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका लक्षण हुन् । पछि गएर हातखुट्टाका औंला लाटो तथा कमजोर भई खुम्चिँदै गएर अन्त्यमा अंगभंग पनि हुन सक्छ ।

यस्ता लक्षण देखापरे तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । यस रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा निःशुल्क पाइने डा. राजभण्डारीले बताए । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्छ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा. जिए ह्यान्सनले कुष्ठरोग कीटाणुका कारण हुने रोग भनी पत्ता लगाएका हुन् ।

स्रोत: http://annapurnapost.com/news-details/89612

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More