Karobar Daily, 29thMay 2017, Kathmandu
कृषि क्षेत्रले पछिल्लो दशकयता कै उच्च आर्थिक वृद्धिदर हासिल भएको छ । सरकारले आइतबार सार्वजनिक गरको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले कृषि क्षेत्रको आर्थिक परिसूचक ५.३२ प्रतिशतले वृद्धि भएको देखाएको हो ।
चालू आर्थिक वर्षमा धानको उत्पादन लक्ष्यभन्दा पनि बढी भएका कारण यसको सकारात्मक प्रभाव समग्र कृषि क्षेत्रको आर्थिक वृद्धिमै परेको हो । यो वर्ष मुख्यबाली धानको उत्पादन २१.६६ प्रतिशतले बढेर ५२ लाख ३० हजार टन पुगेको छ ।
धान उत्पादनमा १० प्रतिशतले घटबढ हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत कमबेसी हुने अवस्थाअनुरूप यो वर्ष कुल गार्हस्थ्य उत्पादन वृद्धिमा पनि धान र समग्र कृषि क्षेत्रको योगदान पनि सकारात्मक छ । मुख्य खाद्यान्न बाली धान र दोस्रो मकैको उत्पादन बढेको तथा गहुँको उत्पादनमा पनि वृद्धि हुने प्रक्षेपण गरिएको गरिएको छ ।
“समयमै मनसुन सुरु भएको, रासायिनक मल तथा उन्नत बीउको सहज उपलब्धता एवं कृषक माझ उन्नत प्रविधिको पहुँच बढाउँदै गएकाले धानको उत्पादन बढेको हो,” आर्थिक सर्वेक्षणमा भनिएको छ, “पशुदाना उद्योगहरूमा मकैको माग बढेकाले कृषकहरू मकै खेतिप्रति आकर्षित भई खेती विस्तार गरिनु, रासायिनक मल तथा उन्नत बीउको आपूर्तिमा सहजीकरण हुनु एवं अनुकूल मौसमको प्रभावले एकाइ उत्पादकत्वमा वृद्धि भई मकै उत्पादन बढ्ने देखिएको छ ।” अन्यबालीमा पनि बढोत्तरी हुँदा कृषिमा सकारात्मक प्रगति हासिल भएको सर्वेक्षणमा उल्लेख छ ।
गत वर्ष ८६ लाख १४ हजार टन खाद्यान्न उत्पादन भएकोमा समग्र खाद्यान्न उत्पादनमा १३ प्रतिशतले वृद्धि भई यो वर्ष ९७ लाख ४१ हजार टन पुग्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षमा जौ बाहेक सबैजसो खाद्यान्न उत्पादन बढकोे छ । दलहनअन्तर्गतका सबैजसो उपजको उत्पादन बढ्दो दरमा छ ।
तेलहन, आलु, तरकारी, फलफूल, मह लगायतका नगदेवालीको उत्पादन पनि यो वर्ष बढीमा १६ प्रतिशत (मह) सम्मले बढेको तथ्यांक छ । उखु, चिया, कफी, माछालगायतका आद्यौगिक बालीको पनि उत्पादन बढेको छ ।
जुट र कपासको भने उत्पादन घटेको छ ।
पछिल्लो एक दशकमा आव २०६४/६५ मा कृषिको वृद्धिदर ५.८२ प्रतिशत थियो । त्यसयताका कुनै पनि वर्ष ५ प्रतिशत पुग्न नसकेकोमा यो वर्ष भने पाँच प्रतिशत नाघ्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ । दशक यता भूकम्प र नाकावन्दीको प्रभावका बाबजुद पनि कृषि उत्पादन ०.०१ प्रतिशतले मात्र घटेको थियो ।
आव ०६७/६८, ६८/६९ र ७०/७१ मा वृद्धिदर ४ प्रतिशत माथि थियो भने अरू वर्षमा एकदेखि तीन प्रतिशतसम्म सीमित भएको तथ्यांक छ । “मौसमी अनुकूलतामा बढी निर्भर रहेको कृषि क्षेत्रको पछिल्लो दशकको वृद्धिदर भने अपेक्षाकृत रूपमा सन्तोषजनक रहन सकेन,” आर्थिक सर्वेक्षणको निष्कर्ष छ ।