News

कृषिमा यान्त्रीकरणले लागत कम, २५ प्रतिशतले उत्पादन वृद्धि

July 29, 2017

बेदराज पौडेल, कान्तिपुर दैनिक, १३ श्रावण २०७४ 

जिल्लाका अधिकांश खेतमा अहिले मेसिनले जोतीरहेको र रोपाइँ गरिरहेको देख्न पाइन्छ । खासगरी जिल्लाको दक्षिणी क्षेत्रका किसानको मेसिन मोहले अन्यको तुलनामा सस्तो खेती गरिरहेका छन् भने उत्पादन पनि २५ प्रतिशत बढिरहेको छ ।

कृषिमा भएको यान्त्रीकरणले उत्पादन बढी र लागत घटी भएपछि अहिले जिल्लाका बर्जू र गढी गाउँपालिकाका छिटाहा, तनमुना र पूर्वकुशाहाका किसान दंग छन् । तनमुनामा मात्रै अहिले ५० विगाह जमिनमा किसानहरु यन्त्रका माध्यमले खेती गरिरहेका छन् । उत्तिनै विगाहमा छिटाहा र पूर्व कुशाहाका किसानले पनि यान्त्रिक विधिबाट खेती गरिरहेका छन् ।
  
सम्झना कृषि सहकारी संस्थाका सदस्य अशोककुमार माझी यान्त्रीकरण किसानका लागि बरदान सावित भएको बताउँछन् । खेती गर्दा लाग्ने लागतमा कमी र उत्पादनमा बढोत्तरी भएका कारण किसानहरु अहिले खेती गर्न निक्कै उत्साहित रहेको उनले बताए । यान्त्रीकरणले गोरुले खेत जोत्ने, रोपाहारले रोप्ने र धान दाउनी गर्ने परम्परागत प्रविधि आधुनिक यान्त्रीकरणसँगै विस्थापित हुँदै गएको उनले बताए । यद्यपि कतै कतै भने किसानहरुले कुरा नबुझेर अहिले पनि पुरानो प्रविधि अंगालिरहेको बताए ।

 

सुनसरीको दुहवी नगरपालिका ११ को तनमुनामा मेसिनबाट धान रोपाइँ गरिँदै । तस्बिर : वेदराज पौडेल/कान्तिपुर 


ट्रेमा बिउ राख्ने, मेसिनको सहायताले धान रोप्ने, गोड्ने मेसिन र मंसिरमा धान पाकेपछि हार्वेस्टरले धान काटेर सोझै धान बोरामा हालेर घरमा ल्याउने सजिलो प्रविधि यो क्षेत्रका किसानले अपनाएको तीन वर्ष भएको अर्का किसान नागेश्वर माझीले जानकारी दिए । नागेश्वर सम्झना कृषि सहकारीका अध्यक्ष हुन् । सुनसरीमा ५५ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । अहिले जिल्लाका ६० प्रतिशत किसान यन्त्रको सहायताले खेती गर्न थालेका छन् । नागेश्वरका अनुसार गोरुले एक विगाह जमिन धान रोप्नका लागि जोत्न १० हजार, मलखाद ५ हजार, जन लगाएर धान रोप्दा ३० जना जनको १३ हजार, धान गोड्दा ९ हजार र काट्दा र थ्रेसर लगाउँदा १६ हजार गरी परम्परागत रुपमा खेती गर्दा ५३ हजार खर्च छ । परम्परागत खेती गर्दा उत्पादनको १५ प्रतिशत खेर पनि जान्छ । अर्थात एक विगाहमा ६८ मन मात्र धान फल्छ । 

तर, आधुनिक प्रविधिबाट खेती गर्दा ट्याक्टरले जोत्दा ८ हजार, बिउरोप्न मेसिनले एक विगाहमा १३ हजार, मलखाद ५ हजार, गोडाई छ हजार, हार्वेस्टरले काट्दा विगाहको ५ हजार गरी मेसिनबाट खेती गर्दा विगाहमा ३७ हजारमात्र खर्च लाग्ने गरेको छ । सोझै विगाहमा १६ हजार रुपैयाँ बचत छ । मेसिनले खेती गर्दा उत्पादन खेर जाँदैन त्यसैले विगाहमा ८० मन थान उत्पादन हुन्छ । परम्परागत प्रविधिभन्दा मेसिनले खेती गर्दा उत्पादनमा १२ मन विगाहमा बढी जोगाउन सकिन्छ । 

सुनसरीको छिटाहामा वर्षे धान काट्दै हार्वेस्टर । सुनसरीको ६० प्रतिशत किसान मेसिनको प्रयोग गरेर खेती गर्दै आएका छन् । तस्बिर : वेदराज पौडेल/कान्तिपुर 


यो पटक पानी ढिला परेको कारण सहकारीले ट्रेमा बिउ राख्ने काम भने गरेन । ट्रेमा बिउ राखेपछि २२ दिन भित्रका मेसिनको माध्यमबाट रोपी सक्नु पर्छ तर यो पटक खेतमा पानी नभएको कारण किसानहरुले खेती गर्न पानी नै पर्खिरहेकाले बिउ खेर जाने डरले ट्रेमा बिउ नराखेको माझीले बताए । 

सुनसरीको कृषि तालिम केन्द्रमा गत वर्षको मंसिरमा धान काट्दै कम्पाइन हार्वेस्टर । हार्वेस्टरले धान काट्दा १५ देखि २५ प्रतिशतसम्म धान बढी संकलन हुने गरेको छ । जनले धान काट्दा १५ देखि २५ प्रतिशत धान खेर जाने गरेको छ । तस्बिर : वेदराज पौडेल/कान्तिपुर 


बुद्ध एयरको नाफारहित भगिनी संस्था नेपाल कृषि कम्पनीले छिटाहामै कार्यालय राखेर खेत गोड्ने मेसिनको लागत कसरी घटाउने भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । पेट्रोलबाट चल्ने धान गोड्ने मेसिन ‘विडर’ले एक विगाह धान गोडेको छ हजारदेखि १३ हजारसम्म खर्च हुने भएपछि अहिले त्यही विडर मेसिनलाई पानी तान्न र अन्य प्रयोजनमा प्रयोग गर्न सकिने बनाउन सके खर्च घट्ने कम्पनीका कार्यक्रम प्रबन्धक डा.विवेकानन्द झा बताउँछन् ।

तनमुनाकी किसान धान गोड्ने मेसिन विडरको माध्यमबाट धान गोड्दै । तस्बिर : वेदराज पौडेल/कान्तिपुर 


कृषकलाई आधुनिक प्रविधिमा लान नेपाल कृषि कम्पनीले नै कृषकहरुलाई सहकारीमा आबद्ध बनाएर काम गर्दै आएको छ । तर, यो वर्षदेखि कृषकहरुलाई प्रविधि, बाली बिमा र ऋणका लागि कम्पनीले सहजीकरण गर्दै आएको छ । ‘कृषि यन्त्रको लागत घटाउन एउटा यन्त्रलाई धेरैवटा काम कसरी लगाउन सकिन्छ भनेर हामी अनुसन्धान गरिरहेका छौं’झाले भने ‘हामी पेड्डी ट्रान्सप्लान्ट मेसिनलाई पानी तान्ने र धान गोड्नमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर अनुसन्धान गरिरहेका छौं ।’ यो सफल भएमा विगाहमा किसानहरुले थप १० हजार बचत गर्ने उनले बताए ।
 
अहिले भारतको हरियाणाबाट तेज गोल्ड नाम गरेको जीरा मसिनो धानको बिउ ल्याएर परीक्षण सुरु गरिएको छ । अहिले किसानहरुले लगाइरहेको धान सुवर्णा १ सय ५० दिनमा पाक्छ भने तेज गोल्ड धान १ सय २० दिनमै तयार हुन्छ र यो विगाहमा १ सय ६० मनसम्म फलाउन सकिन्छ । यदि परीक्षण सफल हुने र धान रोप्ने मेसिनलाई पानी तान्न र गोड्नमा समेत प्रयोग गर्न सके किसानको अहिलेको लागत आधा कमी हुने र नाफा दोब्बर हुने छ । अर्थात् विगाहमा २५ देखि ३० हजारमा धान लगाउन सकिने र उत्पादन ८० मनबाट बढेर एकसय ६० मन पुग्दा धान खेतीबाट मात्रै किसानले एकलाख ३० हजार नाफा कमाउन सक्छन् ।

तनमुनाको सम्झाना कृषि कम्पनीमा कार्यरत महिला हरितगृहमा ट्रेमा राखिएको धानको बेर्नाको हेरचाह गर्दै । तस्बिर : वेदराज पौडेल/कान्तिपुर  


जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अहिले जिल्लाका करिब २५ सय किसान कृषि यन्त्रबाट खेती गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले मात्र १ हजार किसानलाई यान्त्रीकरणमा लगेको छ । जसमा धान रोप्ने, गोड्ने, काट्ने मेसिन वितरण गरेको छ भने गहुँका लागि शून्य खनजोत प्रविधिसमेत भित्र्याएको छ । जसले गहुँ खेतीको लागत समेत घटेको छ । धान काटेको खेतमा खनजोत नै नगरी सोझै गहुँ छर्न सकिन्छ । ट्याक्टरको पछाडी जीरो टिल मेसिन जोडेपछि त्यसले एकैपटक गहुँ र मलखाद खेतमा जोत्दै रोप्छ । गहुँ छर्नुअघि झार मार्न भने छुट्टै विषादी अघिल्लो दिन छर्नु पर्छ । यसले विगाहमा ३० हजार रुपैयाँ किसानको बचत हुने गरेको छ । यसले उत्पादनमा समेत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए ।
 
गतवर्ष मात्र कृषि कार्यालयबाट ५ वटा शून्य खनजोत गर्ने मेसिन ७५ प्रतिशत अनुदानमा वितरण गरिएको थियो । अहिले जिल्लामा शून्य खनजोतका १५ वटा मेसिन छन् । जस्ले दुई घण्टामा एक विगाह खेतमा गहुँ छर्न सक्छन् । त्यस्तै धान रोप्ने १० वटा मेसिन किसानहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै गहुँ, धान काट्ने हार्वेस्टर पनि ७ वटा छन् । सुनसरीको दक्षिणी भेगमा मंसिर महिनामा झापाबाट समेत भाडामा लगाउन हार्वेस्टर लिएर आउने गरेका छन् । यसले पनि कृषक कृषि यन्त्रसँग अभ्यस्त हुँदै गएको देखिएको छ । 

जिल्लामा धान, गहुँ पछि बढी उत्पादन हुँदै आएको मकै खेती हो । सुनसरी जिल्लामा छ हजार पाँचसय हेक्टरमा हिउँदे मकै र दुई हजार पाँचसय हेक्टरमा वर्खे मकै लगाइँदै आएको छ । जसमा ३९ हजार मेट्रिक टन हिउँदे र १३ हजार तीनसय ७५ मेट्रिक टन वर्षे मकै उत्पादन हुँदै आएको छ । कृषि विकास कार्यालय प्रमुख राजकान्त झाका अनुसार हिउँदे मकै प्रतिहेक्टर छ टन र वर्षे मकै प्रतिहेक्टर पाँच दशमलव ५३ मेट्रिक टन फल्छ । 

अहिले नेपाल कृषि कम्पनीले मकै रोप्ने मेसिन किसानहरुलाई वितरण गरेको छ भने मकै गोड्ने र मकै पाकेपछि काट्ने हार्वेस्टर यो वर्ष ल्याइँदैछ । जस्ले किसानहरुलाई मकै खेतीमा पनि पूर्ण यान्त्रीक र आत्मनिर्भर बनाउने छ । मध्यहर्षाहीका किसान दिनानाथ पाल किसानले मकै काट्न र छोडाउनको झन्झट हट्ने हो भने किसानको लागत झण्डै ३० प्रतिशत कमी आउने बताउँछन । उनी भन्छन्, 'हार्वेस्टरले मकै काटेर सोझै बोरामा आएपछि त्यसलाई सुकाउने ड्रायरको आवश्यकता भने पर्ने छ ।' यदि मकै सुकाउने ड्रायर पनि स्थापना गर्न सके सुनसरीमा सबै तीन बालीनै पूर्ण यान्त्रीकरण हुने उनले बताए । 

स्रोत: http://bit.ly/2tJvYEk