News

कृषि आधुनिकीकरण परियोजना

March 30, 2017

Kantipur, Arjun Rajbanshi, 30th March 2017, Damak

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान र माछा ब्लक छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्ने धान ब्लकमा एउटा कृषक सहकारी तथा माछा ब्लकका लागि २६ वटा फर्म छनोट गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकारी प्रकाशकुमार डाँगीका अनुसार धान ब्लकका लागि गौरादहको महारानीझोडा साना किसान सहकारी संस्था छनोट भएको हो । उक्त सहकारीले एक सय ५० बिघा जमिनमा धान खेती गर्नुपर्नेछ । धान ब्लकका लागि दुइटा सहकारीको आवेदन परेकामा महारानीझोडा छनोट भएको हो । उनका अनुसार माछा ब्लकका लागि गौरादह, बैगुनधुरा र तोपगाछीका फर्म, उद्योगी, कृषक समूह र सहकारी गरी २६ संस्था छनोट भएका छन् । ब्लकअन्तर्गत ६० हेक्टर क्षेत्रफलमा माछा पालन गर्नुपर्ने डाँगीले बताए ।

माछा ब्लकका लागि ३४ वटा आवेदन परेका थिए । दुवै ब्लक सञ्चालनका लागि सरकारले कस्टम हायरिङ सेन्टर, पोष्ट हार्बेट सेन्टर, व्यावसायिक कृषि तथा सीप विकास तालिम केन्द्र, साना सिँचाइ निर्माण तथा मर्मत सम्भार, मत्स्य पोखरी निर्माण र मत्स्य पोखरी नर्सरी निर्माण गर्नेपर्ने हुन्छ ।

यी कार्यका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिन्छ । ब्लक सञ्चालन अवधिभर आवश्यक पर्ने प्राविधिक सेवा भने शतप्रतिशत नि:शुल्क उपलब्ध गराउने अधिकृत डाँगीले जनाए ।

कार्यालयका अनुसार दुई ब्लक सञ्चालनका लागि दुई करोड ७ लाख ९३ हजार बजेट विनियोजन भएको छ । यस्तै धान, फलफुललगायत विभिन्न बालीका लागि जिल्लामा ७० वटा पकेट क्षेत्र निर्माण गरिने छ । पकेट क्षेत्रका लागि ४ करोड ७९ लाख ३५ हजार विनियोजन भएको छ । परियोजनाअन्तर्गत कार्यालयले ब्लक र पकेट क्षेत्र सञ्चालन गर्नेछ ।

Source: http://kantipur.ekantipur.com/news/2017-03-30/20170330093240.html