कृषि एवं आयुर्वेद क्षेत्रमा छात्रा बढी

February 28, 2018

जितेन्द्र शाह, कान्तिपुर दैनिक, फागुन १६ २०७४

छात्रले मात्र अध्ययन गर्ने प्राविधिक विषयमा पनि ६० प्रतिशत छात्रा

भर्खरै १८ वर्षमा पाइला टेकेकी पूर्वी हिमाली जिल्ला संखुवासभा खाँदबारी नयाँबजारकी अञ्जना पराजुलीले एक कुशल किसान बन्ने लक्ष्य राखेकी छन् । उनी भन्छिन्, ‘मूल्यवृद्धि घटाउन कृषि उत्पादन बढाउनै पर्छ ।’

चाँडै सम्पन्न बन्नकै लागि खेतीपाती छाडेर सबै जना अन्य व्यवसायतिर लागेकाले महँगी बढिरहको उनको बुझाइ छ । ‘त्यही भएर आधुनिक खेती गर्ने चाहनाअनुरूप कृषि पढिरहेकी छु,’ पराजुली भन्छिन् । उनी किसान बाआमालाई प्रेरणाको स्रोत मान्छिन् ।

जागिरबाट अवकाश प्राप्त पिता र गृहिणी आमाले मिलेर अदुवा खेती गरी वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी गरिरहेको उनी बताउँछिन् । पराजुली भन्छिन्, ‘ठूलो परिमाणमा गाउँघरमा जग्गा भाडामा लिएर आधुनिक खेती गरी धेरैलाई काम दिने र उत्पादन बढाउने मेरोचाहना छ ।’

६ छोराछोरीमध्ये काहिली उनी यही प्रयोजनका लागि संखुवासभाबाट मोरङको दक्षिणपूर्वी सीमावर्ती जहदा गाउँपालिका–४ मा झरिन् । सीटीईभीटीबाट सञ्चालित यहाँस्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा अहिले उनी कृषि विज्ञान तर्फको तीन वर्षे पाठ्यक्रम आईएस्सी (एजी) पढिरहेकी छन् । यही कलेजबाट १८ महिने जेटीए विषयको अध्ययन गरेकी पराजुलीले उक्त आधारभूत प्रायोगिक ज्ञानलाई आईएस्सी (एजी) मा विस्तृत बनाउन खोजेको बताइन् ।

कलेजमा कृषितर्फको तीनवर्षे आईएस्सीमा हाल अध्ययनरत कुल १ सय १४ विद्यार्थीमा ६० जना छात्रा छन् । उक्त विषय लागू भएको ५ वर्षको अवधिमा उत्तीर्ण २० जनामा ११ जना छात्रा भएको कलेजका शिक्षक सौरभ सिंहले बताए ।

हाल कृषि तर्फको १८ महिने जेटीए पढिरहेका ४० जनामा २५ छात्रा छन् । कलेजको हालसम्मको उत्पादन २ सय जेटीएमा ६० प्रतिशतभन्दा बढी छात्रा छन् ।

उक्त कलेजमा आयुर्वेदतर्फको १८ महिने प्राविधिक एसएलसी (टीएसएलसी) मा पनि छात्राकै दबदबा छ । विराटनगरको अति विकसित क्षेत्र मानिने पुष्पलाल चोककी १८ वर्षीया सुस्ता भट्टराईले उक्त कलेजमा आयुर्वेद पढिरहेकी छन् ।

महानगरभित्रै थुप्रै विषय पढ्ने अवसर हुँदाहुँदै पनि उनले यही विषय छानिन् । देशमा उपलब्ध वनस्पति र जडीबुटीको सदुपयोग गर्ने दृष्टिकोणले एलोप्याथीभन्दा कुनै कम नलागेको हुनाले आयुर्वेद पढ्ने निर्णय गरेको भट्टराई बताउँछिन् ।

छोराले मात्र पढ्ने ठानिएको कृषि एवं आयुर्वेदजस्तो चुनौतीपूर्ण विषयमा केही वर्षदेखि छोरीहरूको वर्चस्व देखिएको उक्त कलेजका प्राचार्य सन्तबहादुर अधिकारी बताउँछन् । २०५८ देखि सञ्चालित उक्त कलेजमा मुलुकका सबै भेगका र सबै वर्गका छात्रछात्रा पढ्छन् । उनी भन्छन्, ‘छात्राहरू धेरै मात्र छैनन्, उत्कृष्ट स्थान समेत हासिल गरिरहेका छन् ।’

अहिले आयुर्वेद टीएसएलसीको १८ महिने पाठ्यक्रममा अध्ययनरत ३५ जनामा १८ जना छात्रा छन् ।उक्त कलेजमा अहिले तीन वर्षे स्टाफ नर्समा १ सय २० जना अध्ययनरत छन् ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/02/28/20180228065649.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More