कृषि व्यवसायबाट करोडपति

September 06, 2017

उमाकान्त खनाल, अन्नपुर्ण पोस्ट, २१ भाद्र २०७४ 

कृषिमा सर्वसाधारण विकर्षित हुँदै गएको अवस्थामा झापाका एक जना किसान कागती, फलफूलका र विभिन्न प्रजातिका बिरुवा बेचेरै करोडपति बनेका छन्। उनी हुन् झापाको मेचीनगर नगरपालिका-९ मागुरमाडीका किसान डिल्ली उप्रती। नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिघा जमिनमध्ये एक बिघामा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका हुन्। उनले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्। २०६९ सालबाट कागती खेती सुरु गरेका उप्रेतीले अहिले वार्षिक करिब ६ लाख रुपैयाँको कागतीका दाना बेच्ने गरेका छन्।

बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्गे आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका उप्रेती अहिले मेहनती कृषकका रूपमा परिचत छन्। उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पुर्‍याएको योगदानस्वरुप यस वर्षको निजी वन राष्ट्रिय सान्त्वना पुरस्कार समेत प्राप्त गरेका छन्।

डेढ लाख रुपैयाँको लगानीमा कृषि कर्म सुरु गरेका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पुर्‍याएको बताएका छन्। उनले पाँच कठ्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाएका छन्। डेढ बिघा काँसघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन उनले सुरु हुन्। उप्रतीले भने, ‘गर्न नसक्ने भन्ने केही छैन।

तर इच्छा शक्ति भने चाहीँ चाहिँदो रहेछ।' कागतीलाई विभिन्न प्रजातिमा रूपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन्। वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन्। उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन्।

कागती, फलफूलका र विभिन्न प्रजातिका बिरुवा बेचेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी।

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा ५० देखि ८५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए। उनले भने, ‘छोराको कर्मबाट म अति खुसी छु। आफ्नो सन्तानले प्रगति गर्दा कसलाई खुसी हुँदैन र।' विदेशमा गएर कमाएभन्दा धेरै आम्दानी उनले घरमै कृषि कर्म गरेर लिइरहेका छन्। होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका थिए। उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन्। ‘धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ,' उनले भने, ‘नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु।'

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन सालटिकलगायत बिरुवा उत्पादन उनको अर्को आयस्रोतको बाटो हो। उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन्। त्यस्तै गड्यौंले मल बिक्रीबाट पनि उनको मनग्गे आम्दानी हुने गरेको छ। गड्यौंले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका छन्। उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ।

स्रोत: 

http://annapurnapost.com/news-details/79527

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More