२८ कार्तिक २०७४
केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ । ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । पाटनढोकाको असोक हलमा नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न उक्ता कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।
भिडियोहरू विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङका भिडियोहरूबाट प्रभावित छन् । कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारेमा लेक्चर दिएका थिए । लेक्चर सुरु हुनुभन्दा पहिला दर्शकहरूलाई नेपालको विकास र यसका विभिन्न पक्षहरूको बारेमा के कति जानकारी र ज्ञान छ भन्ने जाँच्न प्रश्नहरू पनि सोधिएको थियो । कार्यक्रममा सहभागी हुनेहरूलाई डिजिटल डिभाइसमार्फत प्रत्यक्ष सहभागी समेत गरिएको थियो । ती भिडियोहरूले नेपालको मुख्य विकास मुद्धाहरूमा मानिसहरूको इच्छा जघाउन तथा त्यसमा प्रश्ठ पार्ने पनि लक्ष लिएको छ ।
आफ्नो नेपाल इन डाटा अभियान अन्तर्गत विकास उद्यमीले www.nepalindata.com नामको वेबसाट संचालन गरिरहेको छ जसले नेपालमा उपलब्ध भएका डाटाहरूको प्रयोग र पँहुच बढाउनको लागि पहल गरिरहेको छ । नियमित रूपमा इन्फोग्राफिक्स, समाचार र डाटासेटहरू प्रकाशित गर्दै डाटा साक्षरतामा सुधार गर्ने लक्ष यसले लिएको छ । उक्त कार्यक्रममा देखाइएका भिडियोहरू यो https://www.youtube.com/channel/UCyh6JxX6AEW4EmPBQwonkuA/videos लिंक बाट हेर्न सकिन्छ ।
उक्त भिडियोहरूको निर्माण दि एसिया फाउन्डेसनले अन्य विकास अभियानहरू र युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट मार्फत लागु गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रममार्फत बनाइएको हो । त्यसले समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने लक्ष लिएको छ ।