News

केरा खेतीले जीवनस्तर उकास्यो

October 19, 2017

हरिहरसिंह राठौर,कान्तिपुर राष्ट्रिय दैनिक, २ कार्तिक २०७४ 

गजुरीका किसान धान र मकै रोप्न छाडेर केराको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीबाट सामान्य जीविकोपार्जनका गर्नसमेत समस्या भएपछि उनीहरू नगदे बालीतर्फ लागेका हुन् । 

नगदे बालीमा परम्परा खेतीबाट भन्दा बढी आम्दानी हुने किसानहरू बताउँछन् । ‘अन्न बालीमा भन्दा केरा खेतीमा निकै फाइदा रहेछ,’ गजुरी चाम्बासका गुणबहादुर कँडेलले भने, केराको व्यवसाय थालेको १५ वर्ष बितेको पत्तै पाइएन ।’ उनका अनुसार ९ रोपनी जग्गाबाट वर्षमा लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

अन्न बालीबाट लगानी नै उठाउन कठिन हुने भएपछि पृथ्वी राजमार्ग छेउकै भिरालो जग्गामा केरा खेती गरेर उनी बर्सेनि ५ लाख रुपैयाँ कमाइ गर्दै छन् । गजुरी चेपाङघारीका कुम्भराज उप्रेतीले पनि ७ रोपनीमा केरा खेती गरेका छन् । खेती गरेको १० वर्षमा घरायसी समस्या व्यवस्थापन गर्न सकेकामा उनी सन्तुष्ट छन् । मनग्ये आम्दानी हुने भएपपछि गजुरी गाउँपालिकाका बस्तीहरू यतिबेला केरा खेतीले भरिएको छ । गाउँपालिकाको रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँलगायतका २ सय किसान परिवार केरा खेतीमै आश्रित छन् । किसान गुणराज सिलवालका अनुसार एकजनाले १ देखि ३५ रोपनी जग्गामा केरा खेती गरेका छन् । 

गजुरी क्षेत्रका किसानहरू केराका लागि बजारको कुनै समस्या नै नरहेको बताउँछन् ।  चाम्बास, छहरे र चालिसे यतिखेर पाकेको केरा पाउने प्रख्यात ठाउँका रूपमा चिनिन थालेको छ । पृथ्वी राजमार्गमा पर्ने चाम्बासमा पाकेका पहेंला घरी देख्न सकिन्छ । स्थानीय व्यापारी सुनिता श्रेष्ठका अनुसार यी केरा स्थानीय हुन्, विषादी प्रयोग हुँदैन । किसानले केराको उत्पादन बढाएसँगै व्यापारी पनि बढेका छन् । हाल २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । यी सबै व्यापारीले त्यसै क्षेत्र वरपर उत्पादन भएका केरा किसानबाट किनेर बेच्ने गरेका छन् । कतिपय सडक छेउमा केरा व्यापार गर्नेहरूको आफ्नै पनि केराखेती छ । 

यस क्षेत्रमा चिनी चम्फा, लोकल मालबुवा, झप्री, मुंग्रेलगायतका केराको खेती हुने गरेको छ । पृथ्वी राजमार्ग हुँदै आउने यात्रुलाई गुणस्तरीय र सस्तो केरा बेचिरहेको विन्दामाया पाण्डेले बताइन् । पाण्डेका अनुसार सयौं किसानले हजारौं रोपनी जग्गामा उत्पादन गरेको केरा यही राजमार्ग छेउबाट बिक्री भएर सकिन्छ । 

स्रोत :http://kantipur.ekantipur.com/news/2017-10-19/20171019083823.html