केरुङबाट फागुन २३ देखि सामान आयात, लक्ष्यभन्दा बढी राजश्व असुली

February 21, 2018

आर्थिक अभियान, फागुन ९, २०७४

रसुवा । रसुवा भन्सार कार्यालयले माघ महीनामा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको रसुवागढी नाकाबाट फागुन २३ गतेदेखि फेरी सामान आयात हुने भएको छ ।

सामान आयात क्रमशः बढ्न थालेपछि माघ महीनामा राजश्व कार्यालयले रू. ३१ करोड राजश्व सङ्कलन गरेको थियो । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महीनामा राजश्व असुलीको लक्ष्य रू. २९ करोड राखिएको थियो ।

चीनबाट जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री यो नाका भएर नेपाल आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रू. एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामान आउन बन्द भएको बताउँदै प्रमुख भन्सार अधिकृत कोइरालाले अब यही फागुनको २३ गतेदेखि केरुङमा रहेका नेपाली ट्रक तथा कन्टेनर सामान लिई नेपाल फर्कने बताए ।

सामान आयातको काम ल्होछार पर्वले बन्द भए पनि दैनिक रुपमा २५–३० चिनियाँ पर्यटक भने ओहोरदोहोर गरिरहेको सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक रञ्जन दाहालले जानकारी दिए । चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण बन्द ढुवानी सेवा अबको १० दिनपछि सञ्चालन हुने केरुङस्थित ढुवानीकर्ता मुसा ट्रान्सपोर्टले बताएको छ । 

स्रोत: www.abhiyan.com.np/2018/02/21/182046

Newsletter

Submit your details below to receive Newsletters

Newsletter