रेजिना पाण्डे, अक्न्तिपुर, पुष २८, २०७८
कोभिड महामारीले तहसनहस पारेको हाम्रो दैनिकी बिस्तारै सुचारु हुँदै थियो । तर, ओमिक्रोन भेरिएन्ट समुदायस्तरमै फैलिरहेको समाचार आइरहेको छ । कोरोनाविरुद्ध खोप लगाउने क्रम बढे पनि यो अझै सबैको पहुँचमा पुगेको छैन वा पुग्ने क्रममा छ ।
नेपालमा कुल जनसंख्याको ४० प्रतिशतले पनि पूर्ण मात्रामा खोप लगाएका छैनन् भनेर विज्ञहरूले भनिरहेका छन् । यस्तोमा कोभिड नियन्त्रण तथा रोकथामको प्रभावकारी उपाय भनेकै मास्क हो ।
सार्वजनिक सवारीसाधन, बजार, सार्वजनिक–निजी कार्यालय र विद्यालय–कलेज सबै क्षेत्रमा भीडभाड छ । स्वास्थ्य मापदण्डको पालना हुन छाडिसक्यो । कोभिडबाट जोगिन मास्क जरुरी र अनिवार्य भइरहँदा पनि धेरैले लगाएका छैनन् ।
लापरबाही गरिरहेको देखिन्छ । म दिनहुँजसो सार्वजनिक बसमा कोटेश्वरबाट हात्तीसार आवतजावत गर्ने गर्छु । त्यस बेला न चालकले मास्क लगाएको देखिन्छ न त सहचालकले नै । यात्रुहरूले मास्क लगाए पनि, सही तरिकाले लगाएको देखिँदैन । मास्क चिउँडोमा झारेर मोबाइलमा बोल्नेहरू धेरै हुन्छन् । कतिले त त्यही पनि लगाएका हुन्नन् ।
‘मास्क खोइ ?’ भनेर बसमा विज्ञापन टाँसिएको हुन्छ । तैपनि मास्क नलगाउनुलाई के भन्ने ? कोभिडविरुद्ध यसरी कसरी लड्ने ? विद्यार्थीहरू मास्क नै नलगाई विद्यालयमा खेल्ने–उफ्रने गरेको देखिन्छ । विद्यालयमै यस्ता लापरबाही भएपछि अन्त के आस गर्ने ? ‘मास्क लगाउनुपर्छ’ भन्ने थाहा हुँदाहुँदै सबैतिर लापरबाही हुने गरेको छ । म हालै तरकारी पसल जाँदा साहूजी मास्क नलगाई खोकिरहेका थिए, ‘मास्क लगाउनुस् न दाइ’ भन्दा पनि केही हुन्न भनेर जवाफ फर्काए । उनलाई मात्र होइन, धेरैलाई अचेल मास्क असजिलो लाग्छ ।
संक्रमणबाट बच्न मास्क अनिवार्य छ भन्ने सत्यलाई हामीले भुलिरहेका छौं । कोभिडबाट मात्र होइन, अन्य सरुवा रोग र धूलोधूवाँबाट बच्न पनि मास्क चाहिन्छ । मास्कका फाइदा धेरै छन्, लगाउँदा असहज त होला तर यो ओखती हो । नाक–मुख छोप्ने साधारण वस्तु भए पनि यसले निरोगी राख्न निकै मद्दत गर्छ । यत्ति मात्र होइन, सास गन्हाउने, बोल्दा थुक निस्कने व्यक्तिहरूसँग गफ गर्दा पनि मास्कले केही हदसम्म सुरक्षा दिन्छ । भाइरसहरू नाक र मुखबाट शरीरमा प्रवेश गर्न पाउँदैनन्, जसले संक्रमणको सम्भावना निकै कम गर्छ ।
कोहीसँग भेट हुँदा मास्क निकालेर कुरा गर्ने बानी पनि धेरैको छ, ननिकाले पनि चिँउडोमा झारेर कुरा गर्ने त फेसन नै भइसक्यो । कोरोनाको लक्षण देखिए पनि परीक्षण नगर्ने, घरबाहिर निस्कनेहरू पनि धेरै भेटिन्छन् । त्यसैले पनि मास्क लगाउँदा आफैंलाई फाइदा हुन्छ । साथै आफ्नो परिवारका सदस्यलाई पनि । आमिक्रोन फैलिरहँदा, मास्कको उपयोगिता झनै बढेर गएको छ ।
कोभिड महामारीको पहिलो लहरदेखि नै सरकारी तथा गैरसरकारी संस्थाहरूले मास्क लगाउन व्यापक जनचेतनाका कार्यक्रम चलाए । मास्कको फाइदा धेरैलाई थाहा छ, तैपनि सार्वजनिक स्थानमा मास्क नलगाउनेहरू अझै देखिन्छन् । यो भनेको नागरिकको लापरबाही नै हो । यस्तो लापरबाही कम गर्ने उपाय अरूसँग होइन, सोही व्यक्तिसँग मात्र हुन्छ । उसैले आफ्नो र परिवारको स्वास्थ्य जोगाउने जिम्मेवारी लिए मात्र मास्क लगाउनेहरूको संख्या बढ्छ ।
कोभिड महामारीका बेला विश्वमा अत्यधिक माग मास्ककै भयो । यसको उत्पादनमा पनि वृद्धि भयो । अहिले मास्कको व्यवस्थापन पनि निकै चुनौती बनिरहेको छ, यो प्रदूषणको माध्यम पनि बनिरहेको छ । यसका बावजुद, संक्रमणबाट बच्ने मुख्य उपाय हो— मास्क । भौतिक दूरी कायम गरी सही तरिकाले मास्क लगाउनु नै अहिलेको आवश्यकता हो ।
स्रोत: https://ekantipur.com/opinion/2022/01/12/164195497253638477.html