News

कोरोनाको असर : भन्सारमा राजस्व घट्यो

March 10, 2020

रविन भट्टराई, अन्नपूर्ण पोष्ट, फाल्गुन २७, २०७६ 

विराटनगर : छिमेकी देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यसको असर राजस्व संकलनमा परेको छ। कोरोनाको सन्त्रासका कारण विराटनगर भन्सार कार्यालयबाट हुने आयात-निर्यात घटेपछि राजस्व संकलन कम भएको भन्सार कार्यालयले जनाएको छ।

चीनको ग्वान्जाओ, वुहान, संघाईलगायत बन्दरगाहबाट नेपाल आउने मालसामान रोकिँदा कार्यालयको चापसमेत घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए। उनका अनुसार कोरोनाको असर राजस्व संकलनमा परेको छ। मालसामान बोकेका ट्रक सडकमा आउने क्रममा भए पनि बन्दरगाह भने बन्द अवस्थामा छ। आयात-निर्यात घटेपछि निर्धारित भन्सार राजस्वको लक्ष्य पूरा नहुने उप्रेतीले बताए।

विराटनगर भन्सार कार्यालयले चालु वर्षको माघ मसान्तसम्म लक्ष्यको ४० प्रतिशत राजस्व संकलन गरेको थियो। गएको ७ महिनासम्ममा १९ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य ४९ अर्ब ६४ करोड रुपैयाँ हो। गएको माघ महिनामा ३ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजस्व संकलन लक्ष्य राखिएकामा २ अर्ब ८२ करोड रुपैयाँ मात्र संकलन भएको छ।

फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ। यसबीच ८० प्रतिशतसम्म राजस्व संकलन गर्न सके मात्रै फलदायी लक्ष्य पूरा गर्न सकिने भन्सार अधिकारी बताउँछन्।

यो नाका हुँदै चीनबाट फलफूल, लत्ताकपडा, जुत्ताचप्पल र गार्मेन्टका सरसमान ठूलो परिमाणमा पैठारी हुँदै आएको थियो। त्यसपछि खेलौना र भान्साघरका समान पैठारी हुन्छ। हाल पैठारी गर्ने चीनका सबै बन्दरगाह ठप्प अवस्थामा रहेकाले ती सामान आउने सम्भावना छैन।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार चीनबाट गतवर्ष २०७५÷७६ माघसम्ममा १२ अर्ब ४३ करोड (१६.२६ प्रतिशत) मूल्य बराबरको समान पैठारी भएको थियो। आर्थिक वर्ष २०७६÷७७ को माघसम्म भने ८ अर्ब ५५ करोड रुपैयाँ (११.२८ प्रतिशत) भन्सार राजस्व संकलन भएको छ जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत कम हो।

चीनको सामान रोकिए पनि अन्य देशको सामान आयात भने भइरहेको भन्सार कार्यालय विराटनगरले जनाएको छ। सबैभन्दा बढी आयात हुने चीनबाहेक भारतसहितका तेस्रो मुलुकबाट भने सामान्य रूपमा सामान आयात भइरहेको भन्सार कार्यालयका प्रवक्ता उप्रेतीले जानकारी दिए। उनले भने, ‘चीनबाट आउने सामान रोकिएका छन्। धेरै सामान चीनबाट आउने भएकाले राजस्वमा प्रभाव उच्च देखियो तर भारतबाट आउने कच्चा पदार्थ, निर्माणका सामान र दैनिक उपभोग्य सामान आउने क्रम रोकिएको छैन।’

स्रोत: http://annapurnapost.com/news/149971