कान्तिपुर, भाद्र ०८, २०७७
काठमाडौँ — कोभिड–१९ को संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या पनि साढे ७ लाख पुगेको छ । शुक्रबारसम्म ७ लाख ४६ हजार ८ सय ५० जनाले यस्तो बिमा गरेका छन् । सो अवधिमा ८० हजार ३ सय ३ वटा बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट ४२ करोड १० लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
पछिल्ला दिनमा बिमा कम्पनीमा बिमा दाबी ह्वात्तै बढेको छ । गत शुक्रबारसम्म ३ सय ५२ जनाको दाबी परेको छ । परेका दाबी कुल ३ करोड ३७ लाख रुपैयाँ बराबरको हो । त्यसमा ७७ जनाले भुक्तानी पाइसकेका छन् । जसमा ६९ जनालाई प्रतिव्यक्ति एक लाख गरी ६९ लाख रुपैयाँ र आठ जनालाई प्रतिव्यक्ति ५० हजार गरी ४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । परेका दाबीमध्ये २ सय ७६ वटाको भुक्तानी बाँकी छ । जसमा २ सय ५२ वटा प्रतिव्यक्ति एक लाख बिमांक भएका दाबीको २ करोड ५२ लाख रुपैयाँ र २४ वटा प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिमांकको १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा समितिको निर्देशनअनुसार कागजात पुगेका दाबीलाई बढीमा एक साताभित्र भुक्तानी दिइसक्नुपर्छ । तर पछिल्ला सातामा दाबी भुक्तानी नभएर थुप्रिने क्रम बढी छ । आवश्यक कागजात नभएकाले केही दाबी भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए ।
‘खासगरी कर्पोरेट अफिसबाट आउने दाबीमा सबै कागजात आउन ढिलाइ भएको छ,’ उनले भने, ‘कर्मचारी बिरामी भएर बसेपछि अरूलाई कागजात जुटाउन गाह्रो भएको हुन सक्छ ।’ भुक्तानी गर्न बाँकी दाबीमध्ये धेरैजसो कर्पोरेटको भएको उनले बताए । बाँकी दाबी भुक्तानी बढेपछि अब कर्पोरेट कार्यालयको जमानीमा कागजात पछि दिने गरी भुक्तानी दिने कि भन्नेबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘कसरी हुन्छ छिटो दाबी भुक्तानी होस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘सोहीअनुसार मापदण्ड पुगेका दाबी दुई/तीन दिनभित्र भुक्तानी भएका छन् ।’
कोरोना बिमामा दायित्व बहनबारे स्पष्ट व्यवस्था भएकाले कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्ने अवस्था नभएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘कागजात पुगेका दाबी भुक्तानीमा ढिलाइ नहुनुपर्ने हो,’ उनले भने, ‘के भएको हो, म बुझ्छु ।’
कोरोना बिमासम्बन्धी मापदण्डको व्यवस्थाअनुसार कोभिड–१९ रोगको संक्रमण देखिएको प्रमाण पेस भएको सात दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिसक्नुपर्छ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भए इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री थालिएको हो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् । चालु आर्थिक वर्षदेखि सरकारले सबै राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमा गरेको छ । हाल निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षकलगायत सबै गरी करिब सवा ५ लाख सरकारी कर्मचारी छन् । सरकारले यी कर्मचारीको एक लाख रुपैयाँको निःशुल्क बिमा गर्ने व्यवस्था छ ।
स्रोत: https://ekantipur.com/business/2020/08/24/159823128805759209.html