कोलकताको महोत्सवमा नेपाली सुन्तला

December 10, 2018

नगरिक, २३ मङ्सिर २०७५  

कोलकाता (भारत) – इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्। सलकपुरको सुन्तलाको चर्चा छँदैछ, थप प्रख्याति र पर्यटकलाई आफ्नो बस्ती तान्ने ध्येय छ। यहाँ राखिएको जस्केलो होमस्टेको स्टलमा भारत लगायत देशका नागरिक सुन्तला किन्दै रमाएका देखिन्थे। सलकुपरमा सुन्तलाको सिजनमा बंगाली पर्यटक आउँछन्। यसलाई बढाउने लक्ष्य छ।

कोलकातामा शुक्रबारदेखि ‘हिमालयन सुन्तला पर्यटन महोत्सव २०१८’ सुरु भएको छ। पहाडको सुन्तलाको प्रचार तथा यो माध्यमबाट ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य छ। यो महोत्सवमा पूर्वका विभिन्न जिल्लाबाट सुन्लला लागयतका स्थानीय उत्पादनका स्टल राखिएको छ। महोत्सवमा ३० वटा स्टल छन्। तीमध्ये ६ वटा नेपालका छन्। नेपालको इलाम, पाँचथर, धनकुटा, भोजपुरका सुन्तला स्टलमा देख्न पाइन्छ।

सुन्तलासँग गाँसेर ग्रामीण पर्यटन तथा होमस्टे प्रवद्र्धनका लागि महोत्सव आयोजना भएको महोत्सव आयोजक एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमका अध्यक्ष राज बासुले जानकारी दिए। महोत्सव पश्चिम बंगाल सरकारका पर्यटनमन्त्री गौतम देवले उद्घाटन गरेका थिए। महोत्सव उद्घाटन गर्दै देवले भारत र नेपालको कृषिजन्य उत्पादन सुन्तलाको प्रवद्र्धन तथा क्रस बोर्डर टुरिजममा योगदान गर्ने बताए।

यहाँको सिटी सेन्टरमा आयोजना भएको महोत्सवमा नेपालको सुन्तला चाख्नेको भीड लागेको छ। स्टलमा पेरुङ (बाँसको चोयाको बोक्ने साधन) मा सुन्तला राखिएको छ। विभिन्न क्षेत्रबाट घुम्न आउनेले सुन्तला रोजेका छन्।

धरानको कृषि थोक बजारकी कल्पना बस्नेतले कोलकातामा सुन्तलाप्रतिको मोह देखेर खुसी भएको सुनाइन्। नेपालको सुन्तला विशेष रोजाइमा परेको छ। तर यहाँ ल्याइएको सुन्तलाले माग नधान्ने अनुमान गरिएको छ। सुन्तलासँगै प्रदेश १ मा रहेका विभिन्न पर्यटकीय गन्तव्यको प्रचार सामग्री राखिएको छ। पाथीभरा लगायत धार्मिक क्षेत्रको प्रर्वद्धन पनि सँगसँगै गरिएको छ। स्टलमा नेपालमा उत्पादन हुने राडी–पाखी लगायत सामान पनि छन्। महोत्सवमा पश्चिम बंगालमा दार्जिलिङ सहितका विभिन्न जिल्ला, सिक्किम तथा अन्य राज्यबाट पनि सहभागी आएका छन्।

नेपाली भाषीका पहिचान झल्काउने पोसाकदेखि खाद्यपदार्थसम्म मेलामा छ। यसपटकको सुन्तला महोत्सव तेस्रो भएको राज बासुले जानकारी दिए। हरेक महोत्सवमा नेपाली सुन्तलाको स्टल रहने गरेको छ। यसअघि गाउँगाउँमा यस्तो महोत्सव गरिएको जानकारी दिइएको छ। महोत्सवमा विभिन्न जातजाति तथा ठाउँका सांस्कृतिक प्रस्तुति पनि छन्। महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवमा नेपाली उत्पादन र ठाउँको प्रचारलाई विशेष ध्यान दिएको ग्रिन जेनेरेसन नेपालका अध्यक्ष अर्जुन कार्कीले बताए।

नेपालको सुन्तला प्रवद्र्धनका साथै आपसी समन्वयमा महोत्सव सहयोगी हुने कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले बताए। मेलाले नेपाली भूभागमा पर्यटक भिœयाउन योगदान गर्नेमा आशावादी रहेको उनको भनाइ छ। महोत्सवमा प्रदेश १ का झापा, सुनसरी, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलामका सहभागी छन्।

सोर्त:https://nagariknews.nagariknetwork.com/news/63944/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More