कोशीको बाढीले ३ सय घर डुबानमा

August 28, 2018

अवधेशकुमार झा, कान्तिपुर दैनिक, १२ भाद्र २०७५

हनुमाननगर(सप्तरी) — सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ हटिया नजिकको बस्तीमा साेमबार राति ३ सय घर सप्तकोशीको बाढीले डुबानमा परेका छन् ।

कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्तीका ३ सय भन्दा बढी घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए ।

बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र अगाडि रहेको लिलजा ठाकुर प्राथमिक विद्यालय समेत डुबानमा परेको छ । साँझ अचानक बाढी आउँदा बस्तीका अधिकांश परिवारले राति खान खान समेत पाएनन् ।

सप्तकोशी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ १ लाख ७० हजारदेखि १ लाख ८० हजार क्यूसेक प्रति सेकेन्डका दरले मात्रै भइरहेकाले उक्त बस्तीहरुमा कोशीको पानी पसेको हो । यस अघि यो भन्दा बढी बहाव भएपनि यो बस्तीमा अहिलेसम्म पानी पसेको थिएन ।

भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि हनुमाननगरका ३ सय भन्दा बढी घरमा पानी पसेको हो ।

यसवर्ष भारतीय कोशी योजनाका अधिकारीहरु र भारतीय ठेकेदारहरुले आफुखुशी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोसीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा बस्तीहरु जोखिममा परेका हुन ।

योजनाका अधिकारीहरुले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका छन् ।

स्रोत: https://www.kantipurdaily.com/photo_feature/2018/08/28/153542166982718935.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter