कोसी वन्यजन्तु आरक्षको क्षेत्र विस्तार अलपत्र

January 17, 2019

गोरखापत्र, ०३ माघ २०७५ 

गाईघाट:  जैविक विविधताले भरिपूर्ण रहेको पूर्वी तराईको प्रमुख आकर्षक सिमसार कोसीटप्पु वन्यजन्तु आरक्षलाई प्रदेश १ को उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले विगतमा प्रस्ताव गरिएका तीनवटा महìवपूर्ण योजना अलपत्र परेको छ । हालको आरक्षको क्षेत्र विस्तार गर्ने, आरक्षलाई राष्ट्रिय निकुञ्जमा रूपान्तरण गर्ने र चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा हस्तान्तरण गर्ने योजना अलपत्र परेको हो । 


संरक्षित क्षेत्रको वर्गीकरणअनुसार वन्यजन्तु आरक्षको अस्तित्वमा रहेको रैथाने अर्ना पाइने नेपालको एक मात्र सो आरक्षलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले ती योजना अगाडि सारिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीले बताउनुभयो । 
विश्व संरक्षण सङ्घको चौथो श्रेणीमा सूचीकृत रहेको यो आरक्षलाई हालको क्षेत्र विस्तार गरी राष्ट्रिय निकुञ्ज बनाउने भनी सरकारले दुई वर्ष पहिले नै यहाँबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगिएको तर त्यहाँबाट अर्नाको सट्टा भर्ना दिइने भनिएको १५ वटा गैँडा भने हालसम्म नदिइएको उहाँले बताउनुभयो ।उदयपुर, सुनसरी र सप्तरीको त्रिकोणात्मक सीमाभित्र १७५ वर्गकिलोमिटर क्षेत्रफल ओटेको यो आरक्षमा सरकारले २०६१ साल भदौ ३१ गते मध्यवर्ती क्षेत्र घोषणा गरी सोहीअनुरूप विभिन्न काम गर्दै आएको छ । उहाँका अनुसार विश्व संरक्षण सङ्घको छैटौँ श्रेणीमा रहेको यो मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा नगरपालिका र एउटा गाउँपालिका छन् । 
जैविक विविधता रहेको यस आरक्षमा ५८७ प्रजातिका नदी तटीय वनस्पति, अर्ना, जङ्गली हात्ती, डल्फिन, सालकलगायत ४० प्रजातिका स्तनधारी जनावर तथा खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडीफोरलगायत ७२६ प्रजातिका चरा, १४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतलीको बाहुल्यता रहेको प्रमुख संरक्षक अधिकृत चौधरीले बताउनुभयो । 
सरकारले अर्ना संरक्षण गर्ने उद्देश्यले २०३२ सालमा यो आरक्षको घोषणा गर्दा ६३ वटा मात्र अर्ना रहेकोमा हाल त्यो सङ्ख्या बढेर ४४१ पुगेको छ । पाटेबाघ र चितुवाजस्ता ठूला मांसाहारी जनावर नभएकाले अर्नाको सङ्ख्यामा वृद्धि भएको हो । पूर्वी नेपालको तराई मधेसमा पाइने वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्ने यस आरक्षमा चराचुरुङ्गीको अध्ययन, अनुसन्धान र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले क्षेत्र विस्तारसम्बन्धी सर्भे भइसकेको तर सरोकारवाला निकायसँग भने छलफल हुन बाँकी रहेको बताउनुभयो । 
उहाँले आसाम, सिलगढीलगायत पूर्वी भारतका वन्यजन्तुको जैविक मार्गका रूपमा रहेको यो आरक्षको क्षेत्र विस्तार नभएसम्म राष्ट्रिय निकुञ्जमा रूपान्तरण गर्न नमिल्ने भन्दै अहिले पनि बेलाबेलामा अर्ना र हात्तीले मानवीय क्षति गर्दै आएकाले त्यसमाथि गैँडा थपियो भने झन् ठूलो क्षति हुनसक्ने हुँदा आरक्षको चारैतर्फ भरपर्दो सुरक्षा घेरा निर्माण भएपछि भने गैँडा हस्तान्तरण गर्न सकिने बताउनुभयो ।

सोर्त : http://gorkhapatraonline.com/news/64971

Newsletter

Submit your details below to receive Newsletters

Newsletter