News

क्यान्सर,दम,मिर्गौला रोग बढे

April 09, 2019

पवित्रा सुनार, नागरिक, चैत २६, २०७५ 

काठमाडौं - नेपालमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोगहरु पछिल्लो समय बढिरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षको अवधिमा गरेको विभिन्न अनुसन्धानले सो देखाएको हो। परिषद्ले एक वर्ष अवधिमा गरेको दश भिन्न अनुसन्धानमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोग बढेको देखिएको हो। परिषद्द्वारा गरिएको अनुसन्धान प्रतिवेदनमा नसर्ने दीर्घ रोग दम सबैभन्दा बढेको पाइएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी ११.७ प्रतिशतमा दम रोग भएको पाइएको छ। दमपछि मधुमेह ८.६ प्रतिशतले बढेको छ भने मिर्गौला रोग ६ प्रतिशत र मुटु रोग २.९ प्रतिशतले बढेको छ।

२० वर्षमाथिका ७२ जिल्लाका १३ हजार २ सय बिरामीमा गरिएको अध्ययनअनुसार सो निष्कर्ष निकालिएको हो। सन् २०१६ देखि २०१८ सम्म दुई चरणमा गरिएको अनुसन्धनाको पहिलो चरणमा बिरामीसँग अन्तर्वाता लिइएको थियो भने दोस्रो चरणमा बिरामीको रगत र मुटु, छाति तथा पिसाब जाँच गरिएको थियो। अनुसन्धानले उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी भएको देखिएको छ। उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा क्यान्सरका रोगी बढेको पाइएको छ। जसअनुसार ६३ प्रतिशत काठमाडौंमा, २१ प्रतिशत भक्तपुरमा र १६ प्रतिशत ललितपुरमा रोगी बढेका छन्। पुरुषमा सबैभन्दा बढी फोक्सो र त्यसपछि मुख तथा ओठको क्यान्सर भएको पाइएको छ। महिलामा आन्द्रा तथा गुद्वारको क्यान्सर पनि बढ्दो क्रममा रहेको देखिएको छ।

नसर्ने रोगमध्ये मानसिक स्वास्थ्य सर्वेक्षणले १ हजार ६ सय ४७ जनामा गरेको सर्वेक्षणमा वयश्क तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसअनुसार १३.२ प्रतिशत वयश्क र ११.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या पाइएको छ। यसमध्ये लागूपदार्थको लत, डिपे्रशन, आत्तिने रोग बढी देखिएको छ। किशोरकिशोरीमा आत्तिनेरोग, केही न केही गरिराख्नु पर्ने रोग, डिपे्रसनजस्ता समस्या पाइएको छ। त्यसैगरी दुवै समूहमा आत्महत्याको प्रवृत्ति बढेको देखिएको छ। मानसिक समस्या भए मध्ये १ सय ८१ प्रतिशतले कुनै पनि उपचार सेवा नलिएका र ९ सय ७९ प्रतिशत आफैं निको हुन्छु भन्ने विश्वासमा रहेको दखिएको छ।

नेपालमा जलवायु परिवर्तनको प्रभावस्वरुप तातो हावा (लु) बढ्दै गएको अध्ययनले जनाएको छ। ‘नेपावमा तातो हावा ‘लु’ र स्वास्थ्यमा पर्ने प्रतिकूल असर’ शीर्षकमा भएको अध्ययनले पछिल्लो समय देशको दक्षिण भागमा गर्मीको दिन बढ्ने क्रममा रहेको, गर्मी रात, प्रिमनसुनका समयमा धेरै वर्षा हुने गरेको देखिएको छ। तीन वटा जिल्लाका ३ सय १८ सहभागीमा गरिएको अध्ययनमा ३० प्रतिशत सहभागीले तापक्रमबाट बच्ने कुनै साधन प्रयोग नगरेको र ५० प्रतिशतमा तापक्रमले स्वास्थ्यमा असर पारेको पाइएको छ।

गत वर्ष मोरङ जिल्लाको फोक्लेन टापुमा फैलिएको अज्ञात भनिएको रोग जंगली जनावरबाट सर्ने लेप्टोस्पाइरोसिस रहेको अध्ययनले देखाएको छ। सो रोगको कारण धेरै जना बिरामी परे भने २ जना बालबालिकाको मृत्यु भयो। उनीहरुमा एचवानएनवान नामक फ्लु पनि देखिएको थियो।
परिषद्ले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको पहुँचको अवस्था बारे पनि अध्ययन गरेको थियो। देशभरका ७० जिल्लामा जम्मा ६ सय ६७ आयुर्वेद केन्द्र बढेको र केही अक्युपञ्चर प्रणाली, प्राकृतिक चिकित्साको अभ्यास भइरहेको पाइएको छ। सबै परम्परागत प्रणालीलाई एउटै छाताभित्र ल्याउन सकेमा उपयोगी हुने अध्ययनले सुझाएको छ। सोही क्रमममा विद्युतीय मेडिकल सेवाको प्रभावबारे त्रिशुली जिल्ला अस्पतालमा भएको अध्ययनले पारदर्शिता र कम खर्चिलो भए पनि विद्युत आपूर्ति तथा जनशक्तिको कमीले सेवामा बाधा आएको देखाएको छ।

अनुसन्धान सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशको भौगोलिक विविधतासँगै रोगको विविधतालाई सम्बोधन गर्न अनुसन्धानको आवश्यकता रहेको बताए। पछिल्लो समय जलवायु परिवर्तन, खाद्यान्न मिसावट, पेस्टिसाइट तथा तरकारी र कुखुरामा लगाइने सुइको प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल असर परेको विषयामा पनि अनुसन्धान हुनुपर्ने मन्त्री यादवले बताए। ‘खाद्यवस्तु कति प्रतिशत स्वस्थ्य छन् र कति प्रतिशत अशुद्ध छन् भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्छ,’ उनले भने। मन्त्री यादवले अनुसन्धानले रोगको क्षेत्रमा भएको लगानी र उपचार नीति प्रभावकारी हुने जनाउँदै भने, ‘अनुसन्धानका आधारमा गरेको लगानी दुरुपयोग हुँदैन।’ प्रतिवेदनमाथि टिप्पणी गर्दै स्वास्थ्य मन्त्रालयका डा. सुशीलनाथ प्याकुरेलले अनुसन्धानमा कारण र प्रभावको समेत विश्लेषण भएर आउनुपर्ने सुझाए। ‘कारण र प्रभावसहितको अध्ययनले रोगको उपचारमा हुने खर्च र जनचेतना दुवै व्यवस्थापन गर्न सहज हुन्छ,’ उनले भने। दशवटै प्रतिवेदनको प्रस्तुति परिषद्का अनुसन्धान शाखाका प्रमुख मेघनाथ धिमालले गरेका थिए।

स्वास्थ्य वैज्ञानिक सम्मेलनमा काठमाडौंमा
स्वास्थ्य वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन बुधबारदेखि काठमाडौंमा हुने भएको छ। ‘संघीय प्रणालीमा समता र विकासको लागि अनुसन्धान’ भन्ने नाराका साथ चैत २७, २८ र २९ मा काठमाडौंमा हुने सम्मेलनले स्वास्थ्य अनुसन्धानकर्ता, शिक्षाविद् तथा नीति निर्माताको विज्ञताको उच्च सम्मान गर्ने, तथ्यमा आधारित नीति निर्माण गरी संघीय प्रणालीको विकास गर्ने लक्ष्य राखेको छ।

सम्मेलनमा अमेरिका, चीन, जर्मन भारतका विशिष्ट व्यक्तिको प्रस्तुति हुनेछ। सम्मेलनका लागि जनस्वास्थ्यसँग सम्बन्धित २ सय ७७ वटा अनुसन्धान पत्र प्राप्त भएका थिए। प्राप्त पत्रमध्ये वैज्ञानिक समितिले स्वास्थ्य समता, विकास, सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृ स्वास्थ्य, स्वास्थ्य सूचना, मेडिकल उत्पादनजस्ता विषयमा एक सय ३७ वटा पत्रलाई सम्मेलनका लागि छनोट गरेको छ। सम्मेलनले ७ वटा विधामा उत्कृष्ट वैज्ञानिकलाई सम्मान पनि गरिने छ। जसमा उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०१८, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट युवा अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान लाइफटाइम एचिभमेन्ट पुरस्कार, उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कारलगायत पुरस्कार दिइनेछ।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/73515/