क्षतिग्रस्त २८१ विद्यालय निर्माण

February 14, 2018

कारोबार दैनिक, बुधवार, फाल्गुन २, २०७४

भूकम्पले क्षति पुगेकामध्ये गोरखाका २८१ विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका ४९९ विद्यालयमा क्षति पुराएको थियो । 
तर भूकम्प पश्चात विद्यालय समायोजन भएपछि हाल जिल्लामा ४४३ विद्यालय छन् । तीमध्ये २८१ विद्यालयका नयाँ भवन बनेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए । आगामी आर्थिक वर्षसम्ममा बाँकी १६२ विद्यालयको भवन निर्माण सक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले भने, “यस आर्थिक वर्षको अन्त्यसम्ममा दुई तिहाइभन्दा बढी विद्यालयको भवन बनाइसक्ने गरी पुनर्निर्माणको काम भइरहेको छ ।” हालसम्म अजिरकोट गाउँपालिकाको ३४ मध्ये १९, आरुघाटको ४१ मध्ये १८, गण्डकीको ४० मध्ये ३७ र चुमनुब्रीको २२ मध्ये १३ विद्यालयको पुनर्निर्माण सकिएको छ ।


यस्तै धार्चेको २४ मध्ये ७, भीमसेनको ४४ मध्ये ३६, सहिद लखनको ४८ मध्ये ३०, सुलिकोटको ४६ मध्ये २४ र सिरानचोकको ५० मध्ये २७ विद्यालयको भवन निर्माण सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गोरखा नगरपालिकाका ५४ मध्ये अब १४ विद्यालयको पुनर्निर्माण गर्न बाँकी छ भने पालुङटारका ४८ मध्ये ३० विद्यालयको पुनर्निर्माण सकिएको छ । हालसम्म भवन निर्माण सकिएका सबै विद्यालयमा पक्की संरचना बनाइएको छ । १ देखि ३ कक्षासम्म पढाइ हुने विद्यालयमा ६ कोठे, ५ सम्मकोमा ८, ८ कक्षासम्म सञ्चालित विद्यालयमा १२ र १० कक्षासम्म पढाइ हुने विद्यालयमा १६ देखि २० कोठासम्मको भवन बनाइएकोे जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा २० देखि २८ कक्षाकोठा हुने गरी पुनर्निर्माण गर्ने गरी गैरसरकारी संस्थालाई पनि सोहीअनुसार परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए । पुनर्निर्माणका क्रममा विद्यालयको भौतिक संरचना निर्माणमा विशेष सावधानी अपनाइएको छ । आगामी ५० वर्षका लागि हुने गरी पक्की संरचनाको मोडल तयार पारी त्यसकै आधारमा विद्यालयको निर्माण भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यार्थीलाई बालमैत्री र प्रविधिमैत्री कक्षा कोठामा राखेर गुणस्तरीय शिक्षा दिनुपर्ने दायित्व रहेको भन्दै जिल्ला शिक्षा अधिकारी सुवेदीले त्यसलाई पूरा गरिने बताए । विद्यालयमा एक पुस्तकालय र सबै कक्षा कोठाभित्र मिनी पुस्तकालयको अवधारणाअनुसार पुनर्निर्माणको कामअघि बढिरहेको उनको भनाइ छ ।

स्रोत: karobardaily.com/news/country/2386

Newsletter

Submit your details below to receive Newsletters

Newsletter