News

खडेरीको मार : डाँडाकाँडा नाङ्गै

January 06, 2019

पुस २२, २०७५ प्रदेश ब्युरो

सुर्खेत — मुगुका पहाडमा यसपालि हिउँ परेको छैन । खत्याड गाउँपालिकाको बिना, डुमाना, डामलेख, ह्यांगलु, रिघालगायत बस्तीमा खानेपानी अभाव छ । पाखो बारीमा लगाएको जौ–गहुँ नउम्रिँदा किसान चिन्तित छन् ।

पानी नपर्दा मुगुका पहाडमा यसपालि हिउँ परेको छैन । हिउँले सेताम्मे हुनुपर्ने पुस महिनामा खेतबारी उराठलाग्दो देखिएको थार्प गाउँका पुरीलाल सावतले बताए । 


‘अहिलेसम्म हिउँ छैन, डाँडाकाँडा नाङ्गै छन्,’ उनले भने, ‘खेतबारीमा उम्रिएको जौ र गहुँ पनि सुक्न थालेको छ, अधिकांश किसानलाई अर्को वर्ष खाद्यान्न अभाव हुने चिन्ता छ ।’ उनका अनुसार खत्याड गाउँपालिकाको बिना, डुमाना, डामलेख, ह्यांगलु, रिघालगायत बस्तीमा खानेपानी अभाव भएको छ । खडेरीले वनपाखाको घाँस सुकेपछि चौपाया पाल्नसमेत मुस्किल हुने अवस्था आएको स्थानीयको गुनासो छ । 
पाखो बारीमा लगाएको जौं र गहुँ अझै नउम्रिँदा किसान चिन्तित छन् । जिल्लाका अधिकांश गाउँमा सिँचाइ सुबिधा नहुँदा आकासेपानीको भरमा हिउँदेबाली लगाउने गरिएको छ । पाखो जग्गामा मंसिरमा छरेको बाली नम्रिदा खेतीमा निर्भर किसान चिन्तित बनेका हुन् । 
होला–ताल्चा गाउँका हरि रोकायाल खडेरीले स्याउ किसान पनि चिन्तित बनेको बताए । हिउँ र पानी नपरेसम्म गतिलो स्याउ नफल्ने उनको भनाइ छ । ‘पानी नपरेपछि स्याउका बोट सुक्छन् कि भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने, ‘यसपालि पनि हिउँ पर्ने संकेत छैन, बालबच्चा पाल्न समस्या हुने भयो ।’ 
सुक्न थाले गहुँकालीकोट, खाडाचक्र–१, चौरका भीमबहादुर खड्काले असोजमा १२ पाथी बीउ जाने पाखो बारीमा गहुँ छरे । भर्खर पानी परेकाले गहुँ राम्रोसँग उम्रियो । त्यसयता पानी परेको छैन । गहुँ सुक्न थालेको छ । 
‘बीउ पनि नजोगिने भयो,’ खड्काले गुनासो पोखे, ‘गत वर्ष पानी परे पनि चैतको असिनाले बाली भित्र्याउन पाइएन, यस वर्ष पनि हिउँदे बाली नजोगिने भयो ।’ त्यस्तै सान्नीत्रिवेणी(२, सेरिज्यूलाका कृषक अनिपाल गिरीले ३२ पाथी बीउ जाने पाखोमा गहुँ छरे पनि खडेरीले सुकेर काम नलाग्ने भइसकेको छ । 
‘पानी नपरेर बर्बाद भयो,’ गिरीले भने, ‘कहिले पानी पर्दैन, परेको साल पनि असिनाले बाली खान्छ, हामीलाई त बाच्नै कठिन भयो ।’ उनका अनुसार सान्नी त्रिवेणीको लुसा, सेरिज्यूला, लुयाटालगायत ठाउँमा केही जग्गा अझै बाँझै छ । बाली लगाएको पनि खडेरीले सुक्न थालेको छ । खडेरीग्रस्त ठाउँमा खाद्यान्न अभाव हुने गरेको छ । 
सिँचाइ सुविधा नभएको पलाताको खिन, धौलागोह, थिर्पुको पारौटी, नानीकोट, राम्नाकोटको बाझकोट, खार्दुलगायतका गाउँमा आधाभन्दा बढी जमिन बाँझै छ । छरेको बाली पनि सुक्न थालेको छ । 
गत असोजमा पानी परेकाले जिल्लाका ९ वटै पालिकामा ७० प्रतिशत कृषकले हिउँदे बाली छरे पनि त्यस यता पानी नपरेकाले हिउँदे बाली सुक्न थालेको जिल्ला कृषि ज्ञान केन्द्र मान्मका निमित्त प्रमुख टेकबहादुर खत्रीले बताए । उनका अनुसार पलाता र पचालझरना गाउँपालिकाको अधिकांश जमिन बाँझै रहेको र बाली लगाइएको ठाउँमा पनि खडेरीले सुक्न थालेको छ । 
तिलागुफा नगरपालिकाको राचुली रतडा, फोइमहादेव, ढाड भिग्म, देवारतोली, चिल्खायाको रुरु, लुब्र, मान्मको चौर, तल्लो ताडी, रकु, लुसा, सेरिज्यूला, कोटवाडाको धारीलगायत ठाउँको बाली सुक्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
सल्यानमा कतिपय ठाउँमा गहुँ उम्रिएको छैन, उम्रिएका ठाउँमा पनि पानी अभावमा सुक्न थालेको छ । गहुँ सुक्न थालेपछि बीउसमेत नआउने अवस्था रहेको शारदा नगरपालिका–६, मधमकाँडाका झुपलाल नेपालीले बताए । गत चार वर्षदेखि हिउँदमा वर्षात नहुँदा गहुँबाली उत्पादन नहुने र बीउ मासिने अवस्थामा पुगेको उनको गुनासो छ । 
कपुरकोट गाउँपालिका–१, सारपानीका कृषक बालासिं घर्तीले पूरै गाउँमा लगाएको गहुँ अहिलेसम्म नउम्रिएको बताए । अन्न उत्पादन राम्रो नहुँदा जीविकोपार्जनका लागि स्थानीयलाई भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 
खेतमा खोलाको पानी चारेर लगाएको गहुँसमेत भुुइँमै टाँसिएको जोगदे खोलाका किसान दीपक खड्काले बताए । 
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले वर्षा नभएका कारण हिउँदे बालीमा ठूलो असर परेको बताए । उनले वर्षात नभए २५ प्रतिशत खेतमा र पाखा बारीमा त्योभन्दा बढी उत्पादनमा गिरावट आउने उनको भनाइ छ । वर्षात नभएकै कारण २० प्रतिशतभन्दा बढी जग्गा बाँझो रहेको उनले जानकारी दिए । 

(कालीकोटबाट तुलाराम पाण्डे, सल्यानबाट विप्लब महर्जन र मुगुबाट राजबहादुर शाही) प्रकाशित : पुस २२, २०७५ ०८:००