News

खडेरी, पहिरो र रोगव्याधि बढ्यो

June 22, 2017

कान्तिपुर दैनिक, ८ असार २०७४  

जलवायु परिवर्तनका कारण पछिल्लो २५ वर्षयता हिमालदेख तराईसम्मै खडेरी, पहिरो, हिमपहिरो र रोग/किराको प्रकोप बढेको पाइएको छ । 

केन्द्रीय तथ्यांक विभागले ६ महिना लगाएर गरेको अध्ययनले २५ वर्षअघिको तुलनामा अहिले तराईदेखि हिमालसम्मै खडेरी बढ्नुका साथै बालीमा रोग/किराको प्रकोप बढेको देखाएको हो । विभागले गत वर्षको भदौदेखि माघसम्म हिमालदेखि तराईसम्मका १६ जिल्लामा जलवायु परिवर्तनले के–कस्तो प्रभाव पारेको छ भनेर अध्ययन गरेको थियो ।

अध्ययनमा संलग्न विभागको वातावरण शाखा प्रमुख सुशीलकुमार शर्माका अनुसार अध्ययनका लागि पूर्वदेखि पश्चिमसम्म हिमाल, पहाड र तराई तथा काठमाडौंसहित १६ क्षेत्र निर्धारण गरिएको थियो । ५ हजार ६० घर–परिवारलाई भेटेर गरिएको अध्ययनमा ९९.३३ प्रतिशत घर–परिवारले विगत २५ वर्षको तुलनामा अहिले बढी खडेरी भएको अनुभव सुनाएका थिए । 

अन्तर्राष्ट्रिय मान्यताअनुसार जलवायु परिवर्तनसम्बन्धी अध्ययनका लागि लामो समयको अनुभव चाहिने भएकाले ४५ वर्ष उमेर पुगेका र २५ वर्षदेखि लगातार एकै ठाउँमा बसिरहेका घर–परिवारलाई सहभागी गराइएको थियो । अध्ययनमा सहभागी ९७.६९ प्रतिशत परिवारले जलवायु परिवर्तनका कारण रोग/किराको प्रकोप तथा खण्डवृष्टि बढेको अनुभव गरेको शर्माले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै सुनाए । 

७०.२५ प्रतिशत घर–परिवारले २५ वर्षअघिको तुलनामा अहिले अन्नबालीमा नयाँ रोग देखा परेको बताएका छन् । ४५.९८ प्रतिशत घर–परिवारले घरपालुवा जनावरमा समेत नयाँ रोग देखिएको अनुभव सुनाएका छन् । 

१८.५९ प्रतिशत परिवारले तापक्रम वृद्धिका कारण लाग्ने रोग र २०.६७ प्रतिशत परिवारले पानीबाट सिर्जित रोगका घटनामा वृद्धि भएको बताएका छन् । 

अध्ययनका क्रममा ७४.२९ प्रतिशत परिवारले पानीको मुहानमा परिवर्तन आएको सुनाएका छन् । ८४.४७ प्रतिशतले जमिनको सतहमा पानीको मात्रामा कमी आएको र हिमाली क्षेत्रका ७४.५६ प्रतिशत परिवारले पानीका मुहान पूर्ण रूपमा सुकेको बताएका छन् । यसको मुख्य कारण कम वर्षा भएको हुन सक्ने स्थानीयको बुझाइ छ । अध्ययनका क्रममा स्थानीयले जलवायु परिवर्तनका कारण तापक्रममा परिवर्तन र वर्षातको समयसमेत फेरिएको बताए । 

८४.५८ प्रतिशत परिवारले वर्षायामको समय करिब एक सातादेखि चार साता र ५७.१४ प्रतिशतले हिउँदे वर्षाको समय १ देखि ४ सातासम्म ढिलो हुने गरेको अनुभव गरेको सुनाएका थिए । 

अध्ययनका क्रममा स्थानीयले २५ वर्षअघि भन्दा अहिले मिचाहा झारको वृद्धि भएकोसमेत सुनाएका छन् । ९२.३ प्रतिशत परिवारले आफ्नो कृषि जमिनमा मिचाहा झारको प्रकोप बढेको बताएका छन् । त्यसले उत्पादन क्षमतासमेत घटाएको उनीहरूको बुझाइ छ ।

प्राक्टिकल एक्सनको आर्थिक सहयोगमा विभागले जलवायु परिवर्तनले जलस्रोत, ऊर्जा, स्वास्थ्य, वन, जैविक विविधता, कृषि, पर्यटन र सहरी क्षेत्रमा पारेको असरबारे अध्ययन गरेको हो । अध्ययनमा सहभागी ५ हजार ६० घर–परिवारमध्ये ४९.३३ प्रतिशतले जलवायु परिवर्तनबारे सुनेको बताएका छन् । धेरैजसो उत्तरदाताले वन विनाश, प्राकृतिक प्रकोप तथा मानवीय हस्तक्षेपलाई जलवायु परिवर्तनका मुख्य कारणका रूपमा लिएको प्रतिवेदनमा छ ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-22/20170622074633.html