दुर्गालाल केसी, सन्जु पौडेल, मनोज पौडेल, थाकुरिसिंह थारु, कान्तिपुर, भाद्र २०, २०७९
यन्त्रको विकासले खेतीपातीमा सरलीकरण भए पनि बेलैमा र पर्याप्त वर्षा नहुँदा खाद्यान्न उत्पादनमा ह्रास
दाङ, लुम्बिनी, कपिलवस्तु, नेपालगन्ज — लुम्बिनी प्रदेशमा धेरै धान उत्पादन हुने जिल्ला छन् । तर यसपटकको वर्षायाममा कृषियोग्य क्षेत्रमध्ये केहीमा रोपाइँ हुनै सकेन । चाहिएका बेला पानी नपरेपछि किसान खेत बाँझो छाड्न बाध्य भए ।
केहीले ढिला भए पनि रोपाइँ गरे । त्यसरी रोपिएका ठाउँमा घामले डढेर धानका बोट पहेंला छन् । टाढाबाट हेर्दा खेतमा धानका बाला झुलेजस्तो देखिन्छन् । नजिक पुगेपछि धानका पात डढेको प्रस्ट हुन्छ ।
पछिल्लो समय पानी पर्ने चक्र समान छैन । जसले गर्दा धानको ब्याड राख्नेदेखि रोपाइँ गर्ने, गोडमेल, पसाउने र फसल स्याहार्ने चक्र खलबलिएको छ । पहिले यति बेलासम्म धानमा बाला लागिसक्थे । अहिले बोट हुर्किंदै छन् । पसाउने र धान पाक्ने समय यकिन छैन । खेतीपातीको चक्र बिथोलिएपछि किसान चिन्तित छन् । मौसममा किन परिवर्तन आयो भन्नेबारे बेखबर छन् । लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिन छ ।
धेरै धान उत्पादन हुनेमध्ये दाङमा पहिले समयमै पानी पर्थ्यो, प्रत्येक खेतमा कुला पुगेका थिए । कुलोको सिरानमा पुगेर बाँध बाँध्थे । अनि, समयमै खेतमा पानी पुर्याउँथे । प्रत्येक वर्ष असार १५ मै सबैजसो खेतमा रोपाइँ भइसक्थ्यो, अहिले मध्य भदौसम्म रोपाइँ बाँकी छ । आकाश हेर्दाहेर्दै दाङको घोराही–७ सिसहनियाका बेझलाल चौधरीले यो बर्खायाम कटाए । कुलो त के खोलामा पानी देखेनन् । परम्परागत कुला मासिए । खेतीयोग्य जमिनमा प्लटिङ भएपछि पुराना कुलाको निसान छैन । ‘पहिले समयमै कुलो लाग्थ्यो । खोलामा पानी हुन्थ्यो,’ उनले भने, ‘अहिले त न खोलामा पानी भयो, न कुलोमा । आकाश हेर्दाहेर्दै वर्षा बित्यो, रोपाइँ भएन ।’ पहिले सबै किसान मिलेर कुलो बनाउने, मर्मत गर्ने र खेतीको समयमा खेतसम्म पानी पुर्याउने चलन रहेकामा अहिले सबै परम्परा हराउँदै गएको उनी गुनासो गर्छन् । ‘पहिले जेठ अन्तिममा कुलो बनाउन जान्थ्यौं । बीउ तयार हुँदासम्म खेतमा जति पनि पानी हुन्थ्यो,’ चौधरीले भने, ‘अहिले त कुलो नै भेटिँदैन, सबै खेतमा घडेरी बनिसके । कुलाहरू पुरिए, पानी हरायो खेती हरायो ।’
दाङको लमही–४ सेम्रहवाका हरि कुमाल पहिले कुलोबाट खेतमा पानी पुर्याउँथे । बेलैमा बीउ तयार गरेर रोपाइँ सक्थे । यस वर्ष कुलोमा पानी आएन । साउनसम्म पनि पानी नपरेपछि उनले बोरिङबाट पानी तानेर धान रोपे । भदौसम्म पनि पानी नपरेपछि खेतमा चिरा पर्यो, रोपो सुक्यो । ‘अब त खेती गर्न नसकिने भइसक्यो । न पानी पर्छ, न कुलो लाग्छ,’ उनले भने, ‘आकाशे पानीको भर पर्दा धान सबै चौपट भयो । भदौमा बल्ल पानी पर्यो, यसले केही होला कि भन्ने आशा लागेको छ ।’ घोराही–१० जलौराका चन्द्रप्रसाद चौधरी अहिलेको समय देखेर दिक्क छन् । सबै अरुकै भरपर्दा खेती नहुने अवस्था आएको उनले बताए । ‘पहिले घरभरि गाईगोरु, भैंसी, भेडा, बाख्रा हुन्थे । मलजति पनि हुन्थ्यो,’ उनले भने, ‘कहिल्यै बजारको मल खोज्नु परेन । अहिले घरमा मल छैन, वर्षाको भर पनि छैन । दुवै नभइ खेती हुँदैन ।’ खेतीपातीको तरिका र मानिसहरूको जीवनशैलीमा आएको परिवर्तनबाट उनी कत्ति पनि सन्तुष्ट छैनन् । ‘सबै अरुकै भर छ । किसानको हातमा केही छैन । न कुलो, न मल,’ उनले भने, ‘आकाशले पानी दिए र बजारले मल दिए मात्र खेती हुने समय आयो । यो त भोकै मार्ने खेल हो । अब यसरी किसानको जीवन चल्दैन ।’ पहिलेजस्तै किसानले घरकै मल प्रयोग गर्न र सिंचाइ कुलाहरू जगाउन आवश्यक रहेको उनले बताए । ‘सबै अल्छी भए । बरु मजदुरी गर्न जान्छन्, विदेश जान्छन् तर खेती गर्न चाहँदैनन्,’ उनले भने, ‘खेतहरू बाँझै छन् । कुलो ल्याउने र पशुपालन गर्नेतर्फ कसैको चासो छैन । अनि, कसरी हुन्छ खेतीपाती ?’
आकाशे पानीको भरमा हुने खेतीबाट पार लाग्न नसकिने कृषिविज्ञ गोविन्द केसी बताउँछन् । मौसममा यसरी उतारचढाव हुने र किसानले परम्परागत खेती प्रणाली नछोड्ने हो भने उत्पादनमा ह्रास आउने उनको विश्लेषण छ । ‘पानी नपर्दा कम पानीमा पनि उत्पादन हुन सक्ने बालीतर्फ लाग्नुपर्यो । हामीले धान, गहुँ, मकैजस्ता बालीलाई छोड्न सकेका छैनौं,’ उनले भने, ‘कम पानीमा हुने कोदोजस्ता अन्य बाली पनि लगाउन सकिन्छ । पानी कम हुँदा पनि सम्भव हुने अन्य बाली छनोट गर्न सक्नुपर्छ ।’ पानी कम खपत गर्न कम खनजोत गर्ने, पातलो बीउ लगाउनेजस्ता धेरै विकल्प भए पनि यसतर्फ किसानको ध्यान नपुगेको केसीले बताए । अहिले खेतीपातीमा लागत बढी र आम्दानी कम भएका कारण पनि किसानहरूले जाँगर धेरै नगरेको उनको बुझाइ छ । ‘अहिले मल, बीउ, विषादी, आधुनिक उपकरणलगायतका धेरै काममा लगानी गर्नुपर्छ,’ उनले भने, ‘खाद्यान्न बालीको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसले किसानले फसलबाट पाउनेभन्दा उत्पादन लागत बढी भइदिन्छ ।’ सरकारले कृषिका नाममा जथाभावी रकम खर्च गर्नुभन्दा तत्कालको आवश्यकता अनुसार लगानी गर्नु उपयुक्त हुने उनले बताए । ‘सिँचाइ, मल, बीउ, विषादी किसानलाई तत्काल चाहिने कुरा हुन् । यसमा लगानी बढाउनुपर्यो,’ उनले भने, ‘उपकरण बाँड्नुभन्दा यसमा ध्यान दिनु व्यावहारिक हुन्छ ।’ समयमा पानी नपर्दा यस वर्ष धान उत्पादन १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा गत वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष १ लाख ३२ हजार ६ सय २० मेट्रिक टन हुने प्रक्षेपण छ । जसअनुसार ४० हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन घट्ने देखिएको छ । जिल्लामा १३ प्रतिशत खेतमा रोपाइँ हुन नपाएको केन्द्र प्रमुख बुद्धि घिमिरेले बताए ।
रूपन्देहीको सम्मरीमाई–५ रौनिहवाका ६३ वर्षीय किसान गणेशप्रसाद पाठकले यसपटक रोपाइँ नाम मात्रको भएको बताए । ‘असार अन्तिममा रोपाइँ गरियो,’ उनले भने, ‘५ बिघामा बोरिङ चलाएर रोपें, धानका बाला झुलिसक्नुपर्ने बेलामा गाँज हालिरहेको छ, अब फल्ला भन्ने आश छैन ।’ पम्पसेट चलाएर सिँचाइ गरे पनि चर्को घामले रोपो सुकेको उनले बताए । असारमै रोपाइँ सकेको भए पनि गाँज हाल्ने बेलामा पानी नपरेकाले धान उत्पादनमा कमी आउने सैनामैना नगरपालिकाको कृषि सञ्जाल अध्यक्ष शेरबहादुर न्यौपानेले बताए । धानखेतीमा अचाक्ली घाटा हुने गरी मौसमले धोका दिएको उनले सुनाए । रूपन्देहीको सबैभन्दा बढी धान हुने मर्चवार, लुम्बिनी सांस्कृतिक नगरपालिकामा बोट डढेर पहेंलै देखिन्छन् । ‘राधा–४ लगाइयो, यो धान अब पाक्ने बेला हो तर बाला नै हालेन,’ न्यौपानेले भने, ‘न उत्पादन, न खेती, महँगो जोताइ, दुःखले ल्याएको मल खेर गयो ।’ २ बिघामा धान रोपेका न्यौपानेले आफूसँगै सञ्जालमा आबद्ध १ सय १३ वटा कृषक समूहका किसानको उही पीडा भएको जनाए । लुम्बिनी सांस्कृतिक–१० महिलावरका राधेश्याम पाठक चिन्तित छन् । पाठकले जीवनमा पहिलोपटक धान रोप्दा यस्तो समस्या भोगेको बताए । ‘हाम्रो गाउँमा सिँचाइ सुविधा नहुनु नै धान उत्पादनमा कमी हुने संकेत हो,’ उनले भने, ‘पहिले पहिले कुलाको पानी खेतमा आउँथ्यो, अहिले ती नहर पुरेर घर बने, न पानी पर्यो, न धान हुन्छ ।’
जलवायु परिवर्तनको असरले धानमा उत्पादन कम हुने मूल्यांकन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीको भनाइ छ । ‘पानी कम परेर खेतीमा असर गरेको देखिएकै विषय भयो,’ उनले भनिन्, ‘किसान आफैं प्राविधिक बन्नुभन्दा एकपटक धानको स्याम्पल बाली प्राविधिकसँग देखाएर समाधान खोज्नुपर्छ ।’ खाद्य अभावले हुने खैरे रोग, टुप्पो पहेंलिने रोगलाई पानी नपरेर भनिहाल्न नमिल्ने उनको भनाइ छ । उनले पानी नपरेर जमिन सुक्खा हुँदा गाँज नफैलिने समस्या आउने बताइन् ।
‘कृषिमा यान्त्रिकीकरण भयो,’ कपिलवस्तुको यशोधरा–८ सिंहोखोरका रामदास मालीले भने, ‘यसले सजिलो बनायो ।’ ५/७ वर्ष यतादेखि झन्डै एक महिनाअघि नै धान लगाउन थालेको उनले बताए । धान मात्रै हैन, सामान्य अवस्थामा मौसम रह्यो भने गहुँ र तोरी पनि एक महिनाअघि नै लगाउने उनले सुनाए । उनीजस्तै महराजगन्ज नगरपालिकाका फहिल अली धुनियाँ पनि जेठमै बीउ राखेर धान रोप्न थाल्छन् । ‘पहिले पहिले असारयता रोपाइँ सुरु हुन सक्दैनथ्यो,’ उनले भने, ‘अहिले घरघरमा पम्पसेट छ ।’ समयमै मलको जोहो गर्न सकियो भने रोपाइँ एक डेढ महिनाअघि नै सक्ने उनले सुनाए । प्रविधिको विकास भएसँगै अहिले बाली लगाउने र स्याहार्ने चक्र थोरै अगाडि आएको कृषि प्राविधिक बताउँछन् । अहिले खेत जोत्नका लागि हरेक गाउँमा दुई–चारवटा रोटाभेटर छन् । स्यालो ट्युबवेल, डिप ट्युबवेल पनि उत्तिकै छन् । नहर र कुलोबाट सिँचाइका व्यवस्था पनि छ । कृषि र स्थानीय तहले अनुदान दिँदा घरघरैजसो ससाना पम्पसेट पनि छन् । कृषकलाई ट्र्याक्टर किन्न भन्सार छुट छ । जोत्न गोड्न रोटाबेटर पनि अनुदानमा पाएका छन् । धान तयार भएपछि काट्न कम्बाइन मेसिन पनि सजिलै उपलब्ध छ ।
‘कृषिमा यान्त्रिकीकरण बढ्दा सजिलो भयो,’ कृषि ज्ञान केन्द्रका कृषि अधिकृत वासुदेव पौडेलले भने, ‘यसले बाली लगाउने चक्र अघि आएको छ ।’ खाद्यान्न बाली लगाउने समय एक महिनाअगाडि आएको छ । ८/१० वर्षअघिसम्म असार नलाग्दा धान रोपिन्थेन । अहिले जेठमै रोपाइँ सुरु हुन्छ । असारसम्म भ्याइसक्छन् । कताकतिले मात्रै साउन आधाआधीसम्म रोपाइँ गर्छन् । ‘एकैपटक सबै खेत रोप्न थाले कामदार अभाव हुन्छ,’ कपिलवस्तु नगरपालिका गगनीका कृषक उमेश केवटले भने, ‘थोरै खेत हुनेलाई हतारो हुन्छ ।’ घरमा जनशक्ति भएकाहरू ढुक्कले आफ्नो अनुकूल मिलाएर रोपाइँ गर्ने उनले सुनाए । ‘जलवायु परिवर्तनको असर पनि हो, बाली चक्र अघि आउनू,’ कृषि ज्ञान केन्द्र प्रमुख डा. रवीन्द्र चौबेले भने, ‘प्रविधिको विकासले सजिलो बनाए पनि उत्पादन लागत बढेको छ ।’ प्रविधिको विकासले २५/३० प्रतिशत उत्पादन बढे पनि खर्च ६० प्रतिशतसम्म बढेको उनले बताए ।
खण्डे वर्षाले समस्या
बाँके र बर्दियामा धान पसाउने बेला भयो । तर, अहिलेसम्म गाँज लाग्न सकेको छैन । बाँकेको नरैनापुरमा रोपो सुकेको छ । यसपालि वर्षे झरी नभएकाले यस्तो अवस्था आएको हो । बर्दियाको बढैयाताल र बाँसगढीमा बिहीबार हलुका वर्षा भएको थियो । त्यही बेला गुलरिया नगरपालिकामा पानी परेन । बिहीबार बाँकेको खजुरामा छिटपुट वर्षा भयो । यस्तो खण्डे वर्षा देखेर किसान आश्चर्यमा परेका छन् । ‘अचम्मै भइरहेको छ । यस वर्ष एक घण्टा बढी पानी नै पर्न सकेको छैन,’ खजुरा–६ सिमलघारीका ६५ वर्षीय किसान बले विकले भने, ‘प्रशस्त पानी नपर्दा रोपिएको धानमा गाँज लाग्न सकेन । त्यही रोपो पसाउन सुरु भएको छ ।’ दिनभरिको बदली देख्ने किसानहरू पानी पर्ने आसमा खुसी हुन्छन् तर उनीहरूको खुसी धेरैबेर टिक्दैन ।
‘कालो बादल दिनभरि देखिन्छ । सिमसिम पनि पानी पर्दैन,’ बढैयातालका ७० वर्षीय किसान बदली चौधरीले भने, ‘यो त अचम्मै भएको छ । यति धेरै बादल लाग्दा पनि पानी किन नपरेको होला ?’ उनले २०४८ सालमा निकै ठूलो सुक्खा लागेको अनुभव सुनाउँछन् । सुक्खाका कारण पसाउन नसकेको धान काटेर गाईभैंसीलाई खुवाएको उनी सम्झन्छन् । ‘तर, त्यो साल यस्तो बदली हुँदैन्थ्यो,’ उनले भने, ‘चर्को गर्मी हुन्थ्यो । यो वर्ष भने दिनहुँ बादल लाग्छ तर पनि पानी पर्दैन ।’ एक दशकअघि यहाँका किसान असारको तेस्रो सातादेखि धान रोप्थे । केही वर्षयता सिँचाइ सुविधा भएको स्थानमा असारमै धान रोपेर सक्छन् । छिटो धान रोपाइँ गर्ने आसमा किसानहरू जेठको दोस्रो सातामै ट्युबवेलले सिँचाइ गरेर ब्याड राख्छन् । पानी नपर्दा धानमा गाँज लाग्न सक्दैन । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले मौसम परिवर्तनका कारण धान बालीको चक्रमा खलल आउन थालेको बताउँछन् । उनले मौसम परिवर्तनका कारण समयमा पानी नपरी रोपाइँ हुन नसक्ने र धान काट्ने बेला बाढी आउने गरेको सुनाउँछन् । ‘एक त किसान पनि रोपाइँ गर्न हतार गर्न थालिसके । ट्युबवेल लगाएर अफ सिजनमा बीउ राख्न थालिसके । रोपाइँपछि पानी नपर्दा गाँज नलाग्ने, सुक्ने गर्छ,’ उनले भने, ‘पाँच वर्षयता खेती गर्ने तरिकामा धेरै परिवर्तन आइसक्यो । मौसम परिवर्तनको समय त छँदै छ ।’
बाँकेमा ३६ हेक्टर जग्गामा धान खेती हुने गर्छ । त्यस्तै, बर्दियामा ५२ हजार २ सय हेक्टर जग्गामा धान खेती गरिन्छ । कृषि अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामदास चौधरीले जलवायु परिवर्तनको समस्या विश्वभरि देखिएको बताए । ‘पहिले जेठ/असारमा पहाडमा वर्षा हुन्थ्यो । साउन/भदौमा तराईमा पानी पर्थ्यो,’ उनले भने, ‘सिजनमा खेतीपाती हुन्थ्यो, अहिले एक छेउमा पानी पर्छ, अर्कोर् छेउ सुक्खा हुन्छ । पानी त पर्नै सकेको छैन ।’
स्रोत: https://ekantipur.com/news/2022/09/05/166234260757898546.html