खसीबोका बिक्रीबाट ३ करोड

October 14, 2019

मनिष दुवाडी, अन्नपूर्ण पोष्ट, असोज १७, २०७६ 

धादिङ : सिद्धलेक गाउँपालिकाको नलाङ धौखोला क्षेत्रका किसानले दसैंमा खसीबोका बेचेरै गाउँमा ३ करोड रुपैयाँभन्दा बढी भिœयाएका छन्। गाउँका खसीबोको समूहमार्फत बिक्री गरेर उनीहरू ३ करोडभन्दा बढी रकम आम्दानी गर्न सफल भएका हुन्।

दसैंका लागि उत्पादन गरेको खसीबोका बिक्रीबाट राम्रो आम्दानी भएपछि किसान खुसी भएका छन्। नलाङ धौखोला क्षेत्रका महिलाले सामुहिक रूपमा सहकारीमा आबद्ध भई जीविका चलाउन खसीबोका पाल्ने गरेका छन्। यसका लागि सिद्धलेक गाउँपालिकासँग सहकार्य गरी हेफर इन्टरनेसनल र धादिङमा कार्यरत प्रयास नेपाल नामक एक गैरसरकारी संस्थाले विगत ३ वर्षदेखि सहजीकरण गर्दै आएको थियो।

सिद्धलेक गाउँपालिकासँगको समन्वयमा साना किसान सवलीकरण कार्यक्रम अन्तरगत १२ वटा मूल समूह र ४७ वटा उपहार समूह गठन गरिएको छ। समूहमा आवद्ध भएका किसानले गाउँबाटै खसीबोका बेचेर ३ करोड आम्दानी गरेका हुन्।

नलाङका धौखोलाका एकै परिवारले यस वर्षको दसंैमा खसीबोका बिक्रीबाट एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी गरेका छन्। सिद्धलेक गाउँपालिकाको नलाङबाट मात्रै यस वर्ष १ हजार ७ सय ८० गोटा खसीबोका सहकारीमार्फत बिक्री गरेको तथ्यांक छ।

घरायसी कामसँगैसँगै गरिएको बाख्रापालनबाट राम्रो आर्थिक आम्दानी भएपछि अब यसलाई व्यावसायिक रूपमा परिणत गर्ने सोच आएको स्थानीय कृषक शोभा श्रेष्ठले बताइन्। नलाङका विभिन्न टोलटोलमा अहिले खसीबोका किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन्। उनीहरूले गाउँकै समूहमार्फत खसीबोको बेच्ने गरेकाले विचौलियाले चलखेल गर्न पाएका छैनन्। यसले गर्दा गाउँमा खसी बोकाबिक्रीबाट कति आम्दानी भयो र किसानलाई कती फाइदा पुग्यो भन्ने सहजै आकलन गर्न सकिएको स्थानीय कृषक बुद्धिबल श्रेष्ठले बताए।

बाख्रापालनले जीविकोपार्जनमा सहज

खसीबोका बेचेरै महिलाले घर खर्च चलाउन सकेका छन् भने जीविकोपार्जनमा पनि सहज भएको छ। सामान्य नुन तेल मससादेखि आफ्ना लागि चुरा, पोते किन्न श्रीमान् गुहार्न नपरेको स्थानीय देवी सिलवालले बताइन्। उनले भनिन्, ‘समूहमा आवद्ध भएर मैले एउटा बाख्रा उपहार पाएको थिएँ। त्यसैलाई बढाएर अहिले घरखर्च चलाउन पुगेकै छ।’

नलाङका स्थानीय महिला अहिले घरधन्दा सकिए पछि आफूले पालेको खसी बाख्राको स्याहार सुसारमा व्यस्त हुने गरेका छन्। यसरी राम्रो आम्दानी भएपछि घर चलाउन अत्यन्त सहज भएको र समूहमा मिलेर काम गर्दा एक अर्कामा सामाजिक सद्भाव पनि बढेको महिला किसानको भनाइ छ।

धौखोलाकी शोभा श्रेष्ठले उपहार पाएको ३ वटा बाख्राबाट २९ वटा बनाएकी थिइन्। उनले ३ वटा आफूभन्दा पछि बनेका बैनी समूहलाई उपहारसमेत दिएकी छन्। यस्तै सुमित्रा श्रेष्ठले पनि उपहार पाएकै बाख्राबाट १८ वटा खसीबाख्रा बनाएकीछन्। सुमित्राले भनिन्, ‘७ वटा बेचिसके भने अहिले ११ वटा पाल्दै आएको छु। अव ३ वटा बाख्रा फेरि ब्याउने बेला भइसकेको छ।’

३० देखि ४० घरधुरीको एउटा समूह बनाएर उनीहरूलाई बाख्रापालनका आधारभूत तालिम दिएको प्रयास नेपालका कार्यकारी निर्देशन दामोदर अर्यालले बताए।

स्रोत: http://annapurnapost.com/news/138624

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More