नवीन गुरुङ, नयाँ पत्रिका, चैत्र १६, २०७४
लेखा अधिकृतका नाममा मात्र साढे ७६ लाख बेरुजु
खाँदबारी नगरपालिकाको बेरुजु पाँच करोडभन्दा बढी देखिएको छ । लेखा अधिकृत नवीनकुमार श्रेष्ठको नाममा मात्र झन्डै ७६ लाख ५० हजार बेरुजु छ । बिलभर्पाई पेस नगर्ने अन्य कर्मचारीको नाम भने गोप्य राखिएको छ ।
महालेखापरीक्षकले लेखापरीक्षण गर्ने क्रममा चालू आर्थिक वर्ष यति ठूलो रकम बेरुजु भएको पाइएको हो । लेखा अधिकृत श्रेष्ठलाई बेरुजु देखिएको रकम तत्कालै बैंकमा दाखिला गर्न र स्पष्टीकरण दिन तीन दिनको समय दिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णकुमार निरौलाले जानकारी दिए । अन्य क–कसको नाममा बेरुजु छ भन्ने कार्यकारी अधिकृत निरौलाले बताउन चाहेनन् ।
अरू कर्मचारीहरूको नाममा देखिएको बेरुजुमा पनि श्रेष्ठ नै दोषी भएको निरौलाको दाबी छ । उनले भने, ‘अरू केही कर्मचारीको नाममा पनि श्रेष्ठ आफैँले हस्ताक्षर गर्दै चेक काटेर निकासा दिने गरेको लिखित स्पष्टीकरण प्राप्त भएकाले उनैबाट असुल्नुपर्ने देखिएको छ ।’
मलेपले श्रेष्ठसहित सम्बन्धित कर्मचारीबाट तत्काल एक करोड ३९ लाख रुपैयाँ असुल गर्न निर्देशन दिएको छ । ९१ लाख ९५ हजार रुपैयाँ जम्मा भइसकेको निरौलाले जानकारी दिए । श्रेष्ठको नाममा साढे ७६ लाख बेरुजु देखिए पनि अहिलेसम्म दाखिल भएको सबै रकम उनैले तिरेका छन् ।
नगरपालिकाले बनायो छानबिन समिति
ठूलो रकम बेरुजु देखिएपछि नगर कार्यपालिका बैठकले खाँदबारी नगरपालिका– ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालय संखुवासभाका प्रतिनिधि रुद्रमणि श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रतिनिधि रुद्र बुढाथोकी सदस्य छन् । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ ।
ठूला आयोजना र सामाजिक सुरक्षा भत्तामा बेरुजु
कार्यकारी अधिकृत निरौलाका अनुसार नगरपालिकाका ठूला आयोजना र सामाजिक सुरक्षा कार्यक्रममा धेरै रकम बेरुजु देखिएको छ । सामाजिक सुरक्षा भत्ताको पर्याप्त अभिलेख नभएकाले तीन करोडभन्दा बढी बेरुजु देखिएको निरौलाले बताए । आयोजनाका लागि लगिएको रकमको खर्चको बिल दाखिला नगरेको पाइएको उनको भनाइ छ । छानबिन समितिको प्रतिवेदनपछि मात्र के–कति वास्तविक बेरुजु हो भन्न सकिने उनले बताए ।
पुराना खातासमेत हेरिने
खाँदबारी नगरपालिकामा यसअघि पनि सुशासन नभएको भन्दै धेरै गुनासो हुने गरेको थियो । कार्यकारी अधिकृत निरौलाले छानबिन समितिले आवश्यक ठाने अघिल्ला वर्षको समेत अनुसन्धान गरिने जानकारी दिए । अघिल्लो तीन वर्षसम्मको बैंक स्टेटमेन्ट भने मगाइसकिएको निरौलाले जानकारी दिए ।
दोषीलाई कारबाही हुन्छ
अनियमितता भएको ठहरे नियमअनुसार कारबाही हुन्छ । म अहिले पितृशोकका कारण जिल्लाबाहिर छु । तर, छानबिन समिति बनिसकेको छ । समितिले बुझाउने प्रतिवेदनअनुसार कारबाही गरिनेछ । आवश्यक परे अघिल्ला वर्षको खर्चको पनि अनुसन्धान हुनेछ : मुरारीप्रसाद खतिवडा, मेयर, खाँदबारी नपा