खाता नभएको बैंकबाट पनि पैसा जम्मा गर्न सकिने

January 22, 2018

अन्नपुर्ण पोस्ट, ०८ माघ २०७४

निक्षेपकर्ताले जुनसुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप सरल र सहज बनाउन सेवाग्राहीलाई पायकपर्ने जुनसुकै बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको हो। रकम निकाल्न भने आफूले खाता खोलेको बैंकमा नै जानुपर्नेछ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले आफूलाई पायकपर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्न सकिनेछ। नयाँ व्यवस्थाले समयको बचत हुनाका साथै रकम जम्मा गर्न खाता भएको बैंकमा पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।

व्यवस्था कार्यान्वयन लैजान राष्ट्र बैंकले केही शर्त तोकेको छ। नगद कारोबारको सीमा सम्बन्धमा विद्यमान निर्देशन र व्यवस्था नै कायम रहने राष्ट्र बैंकले जानकारी दिएको छ। एक लाखभन्दा बढी कारोबार सीमाको हकमा रकम जम्मा गर्ने व्यक्तिको पहिचान खुल्ने परिचयपत्र र रकम जम्मा गर्ने प्रयोजन समेत खुलाउनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाले पनि ग्राहकलाई रकम जम्मा गरेको निस्सा प्रदान गर्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने भौचरमा कम्तीमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जम्मा गर्ने व्यक्तिको नाम उल्लेख हुनुपर्नेछ।

रकम जम्मा गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसके रकम बुझिलिने संस्थाले त्यसको जानकारी जम्मा गर्ने व्यक्तिलाई सोही दिन गराउनु पर्नेछ। यो प्रणालीमा रकम जम्मा गर्दा ग्राहकसँग लिने शुल्कबारे ग्राहकलाई सुसूचीत गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत लिने संस्थागत निक्षेपको हकमा प्रकाशित ब्याजदरको २ प्रतिशतसम्म थप गरी ब्याज दिन पाउने व्यवस्था गरेको छ। यस्तो ब्याजदर भने ३ महिनासम्म परिवर्तन गर्न नपाइने राष्ट्र बैंकको भनाइ छ।

स्रोत: http://annapurnapost.com/news-details/88908

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More