News

खाद्यबालीको क्षेत्रफल घट्यो

May 28, 2019

राजु चौधरी, कन्तिपुर, जेठ १४, २०७६

काठमाडौँ — गत आर्थिक वर्षमा खाद्यान्न बाली लगाउने क्षेत्रफल घटे पनि त्यस्ता बालीको उत्पादन र उत्पादकत्व दुवै बढेको छ । हिउँदे तरकारी बाली, माछा पोखरी निर्माणका कारण खाद्यान्न बाली लगाउने क्षेत्रफलमा ह्रास आएको हो ।

तराईका समथर फाँटहरूमा भइरहेको भूखण्डीकरणले पनि खाद्य बालीको क्षेत्रफल घटेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । मौसम अनुकूल हुनुका साथै सिँचाइ, मल–बीउलगायतको उपलब्धताले उत्पादन र उत्पादकत्व बढेको दाबी सर्वेक्षणमा गरिएको छ ।

सर्वेक्षणअनुसार २०७४/७५ को तुलनामा खाद्यान्न बालीको क्षेत्रफल ०.९ प्रतिशतले ह्रास आएको छ । सर्वेक्षणका अनुसार उत्पादन र उत्पादकत्व क्रमशः ६.२ प्रतिशत र ७.१ प्रतिशतले बढेको आकलन गरिएको छ । सर्वेक्षणअनुसार धान रोपाइँ गर्ने क्षेत्र बढे पनि मकै, गहुँ, कोदो, जौ बालीलगायत उत्पादन हुने क्षेत्रफल घटेको छ ।

धानको क्षेत्रफल र उत्पादन बढ्नेसर्वेक्षणअनुसार कुल खेतीयोग्य जमिनको ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा लगाइने धानको क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । ‘आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्षको २०७५/७६ मा १.५ प्रतिशतले वृद्धि हुने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ ।
सर्वेक्षणअनुसार २०७५/७६ मा धान बालीको कुल उत्पादन ५६ लाख १० हजार टनमध्ये सबैभन्दा बढी २७ प्रतिशत प्रदेश २ मा उत्पादन हुने अनुमान छ । प्रदेश ५ मा कुल उत्पादनको २२ प्रतिशत र प्रदेश १ मा २१ प्रतिशत हुने अनुमान छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत उत्पादन हुने जनाएको छ ।

मकै, गहुँ र कोदोको क्षेत्रफल घट्योमकैबालीको क्षेत्रफल १.३ प्रतिशतले घटेको छ । ‘२०७४/७५ को तुलनामा १.३ प्रतिशतले घटेर चालु आर्थिक वर्षमा ९ लाख ४२ हजार ७९ हेक्टर कायम भएको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘सो अवधिमा उत्पादन र उत्पादकत्व भने क्रमशः ३.५ प्रतिशत र ४.८ प्रतिशतले बढेको छ ।’ करिब ९० प्रतिशतभन्दा बढी मकै बाली लगाइएको क्षेत्रफलमा उन्नत बीउबिजनको प्रयोग भएकाले बीउबिजन प्रतिस्थापन दर १३.५ प्रतिशतबाट वृद्धि भई १५.३ प्रतिशत पुगेको दाबी छ ।

सर्वेक्षणअनुसार गहुँ बाली लगाइएको क्षेत्रफल पनि घटेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २.९ प्रतिशतले घटेर ६ लाख ८६ हजार ५ सय ५७ हेक्टर कायम भएको छ । ‘यद्यपि उन्नत बीउबिजनको प्रयोग भई बीउबिजन प्रतिस्थापन दर १४.० प्रतिशतबाट बढेर १५.१ प्रतिशत पुगेकाले उत्पादन तथा उत्पादकत्वमा क्रमशः ४.५ प्रतिशत र ७.६ प्रशिशत वृद्धि भएर २० लाख ३६ हजार ७ सय ६ टन गहुँ उत्पादन हुने अनुमान छ,’ सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार गहुँ बाली सबैभन्दा बढी प्रदेश दुईमा उत्पादन हुन्छ । प्रदेश नम्बर २ मा २८.६ प्रतिशत हुने गरेको छ । गण्डकी प्रदेशमा गहुँको कुल उत्पादनको ४.५ प्रतिशत हुने गरेको उल्लेख छ ।

परम्परागत बालीको रूपमा चिनिएको कोदो बालीको क्षेत्रफल पनि क्रमिक रूपमा घटदै गएको छ । सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७३/७४ मा २ लाख ६३ हजार ५ सय ९६ खेती भएको कोदो बाली २०७५/७६ मा २ लाख ४६ हजार ७ सयय ७० हेक्टरमा सीमित भएको छ ।
कोदो बालीमा मल तथा उन्नत बीउबिजनको अभावका कारण खेती घटेको हो । सर्वेक्षणका अनुसार खेती घटे पनि उत्पादकत्व २.२ प्रतिशतले वृद्धि भएर ३ लाख ५ हजार ८५ टन उत्पादन हुने अनुमान गरिएको छ । सर्वेक्षणअनुसार कोदो तथा फापर सबैभन्दा बढी प्रदेश ४ र ३ मा हुन्छ । प्रदेश नम्बर १ मा पनि सोही हाराहारीमा रहेको उल्लेख छ । प्रदेश नम्बर २ मा कोदो उत्पादन करिब ०.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा फापर उत्पादन करिब १.३ प्रतिशत रहेको सर्वेक्षणमा छ ।

जौको क्षेत्रफल र उत्पादन घट्योजौ बालीको क्षेत्रफल पनि ३.९ प्रतिशतले घटेको छ । ‘२०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा जौ बाली लगाइएको क्षेत्रफल ३.९ प्रतिशतले घटेर २३ हजार ६ सय ९४ हेक्टर कायम हुने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ, ‘उत्पादनसमेत ०.७ प्रतिशतले कमी भई २६ हजार ९ सय ५४ मेट्रिक टन उत्पादन हुने अनुमान छ ।’

मौसमको अनुकूलताका कारण उत्पादकत्व भने ३.३ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर १.१ मेट्रिक टन हुने सरकारको अनुमान छ । जौ बालीको कुल उत्पादन करिब २७ हजार मेट्रिक टनमध्ये सबैभन्दा बढी उत्पादन कर्णाली प्रदेशमा हुन्छ । कर्णालीमा करिब ४३ प्रतिशत उत्पादन हुने जनाएको छ । मसुरो बालीको उत्पादन आर्थिक वर्ष २०७५/७६ मा ०.०६ प्रतिशतले घटेर २ लाख ३४ हजार टनमा झरेको छ ।

आलु उत्पादन ४.३ प्रतिशतले बढ्योसर्वेक्षणअनुसार आलु उत्पादन ४.३ प्रतिशतले बढेर ३२ लाख २० हजार ७ सय टन पुग्ने अनुमान गरिएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको मुख्य बालीको रूपमा रहेको आलु बालीको विकास र प्रवर्द्धनका लागि काभ्रे, डडेलधुरालगायतका जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विस्तार भएकाले उत्पादन वृद्धि भएको सरकारी दाबी छ ।

सर्वेक्षणअनुसार २०७५/७६ मा क्षेत्रफल ०.९ प्रतिशतले बढेर १ लाख ९६ हजार ९ सय ८७ हेक्टर पुगेको छ । आलुको उत्पादकत्व ३.४ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर १६.३५ मेट्रिक टन पुगेको उल्लेख छ ।

दलहन/तेलहन क्षेत्रफल बढ्यो, उत्पादन घट्योमसुरो, चना, अरहर, गहत, मास भटमासलगायतका दलहन बालीको क्षेत्रफल ०.०५ प्रतिशतले बढे पनि उत्पादन भने घटेको छ । सर्वेक्षणअनुसार उत्पादन र उत्पादकत्वमा क्रमशः १.७ प्रतिशत ३.३ प्रतिशतले कमी आएको छ । दलहन बाली भित्र्याउने हिउँदको मौसममा लगातार वर्षाका कारण उत्पादन घटेको जनाएको छ । ‘लगातार वर्षा भएको कारणले दलहन बालीको समग्र उत्पादन र उत्पादकत्व घट्न गएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

उखु उत्पादन ११ प्रतिशतले बढ्नेउखु उत्पादन ११ प्रतिशतले बढ्ने सर्वेक्षणले देखाएको छ । ‘आर्थिक वर्ष २०७५/७६ मा उखु लगाइएको क्षेत्रफल ८६ हजार १ सय १ हेक्टर पुग्ने अनुमान छ, जुन आर्थिक वर्ष २०७४/७५ का तुलनामा ९.५ प्रतिशतले बढी हो,’ सर्वेक्षणमा भनिएको छ, ‘यस अवधिमा उत्पादन ११ प्रतिशतले बढेर ३९ लाख ५१ हजार ५ सय मेट्रिक टन पुग्ने देखिन्छ ।’ सर्वेक्षणका अनुसार उत्पादकत्व १.४ प्रतिशतले बढेर प्रतिहेक्टर ४५.८९ मेट्रिक टन कायम हुने उल्लेख छ ।
 

कफीको क्षेत्रफल र उत्पादन बढ्नेसर्वेक्षणअनुसार कफीको क्षेत्रफल ६.६ प्रतिशतले बढेर २८७६ हेक्टर पुगेको छ । चिया लगाएको क्षेत्रफल ०.७ प्रतिशतले बढेर २८ हजार ७ सय ३२ हेक्टर कायम भएको छ । यस अवधिमा कफीको उत्पादन ३४.५ प्रतिशतले वृद्धि हुने र चियाको उत्पादन २.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । यस अवधिमा कफी र चियाको उत्पादकत्व क्रमशः २६.३ प्रतिशत र १.५ प्रतिशतले बढेको उल्लेख छ ।

माछा पोखरी बढ्नेमाछा पोखरीको क्षेत्रफल ३.१ प्रतिशतले वृद्धि भई १६ हजार ७ सय १९ हेक्टर पुग्ने आकलन गरिएको छ । सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ मा माछाको उत्पादन ३.८ प्रतिशतले वृद्धि भएर ७१ हजार ७ सय २६ मेट्रिक टन हुने उल्लेख छ । उत्पादकत्व ०.६ प्रतिशतले बढेर प्रतिहेक्टर ४.३ मेट्रिक टन कायम हुने उल्लेख छ ।

खसी–बोका बढ्यो, राँगा–भैंसी घट्योचालु आर्थिक बर्षको फागुनसम्म पशुपन्छीको संख्यामध्ये गाई/गोरु, बाख्रा/बोका/खसी, सुंगुर/बंगुरको संख्या बढेको छ । दुधालु गाई/भैंसी, फुल दिने कुखुरा/फुल दिने हाँसको संख्या ०.२ देखि ३.७ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । भैंसी/राँगा, भेडाभेडी, हाँस, याक/चौंरीको संख्यामा भने सोही हाराहारीमा कमी आएको छ ।

तरकारीको उत्पादकत्व बढ्ने अनुमान सरकारले तरकारी लगाइएको क्षेत्रफल १.७५ प्रतिशतले बढेर २ लाख ९७ हजार १ सय ९१ हेक्टर पुग्ने अनुमान गरेको छ । ‘आर्थिक वर्ष २०७५/७६ मा उत्पादन १.८६ प्रतिशतले वृद्धि भई ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिक टन पुग्ने देखिएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘प्राविधिक सेवामाथिको पहुँच तथा उन्नत बीउबिजनको उपलब्धताले गर्दा तरकारीको उत्पादकत्वमा समेत ०.११ प्रतिशतले वृद्धि हुने अनुमान छ ।’ तरकारी उत्पादन बढ्ने अनुमान गरिए पनि वार्षिक करोडौंको तरकारी आयात भएको छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2019/05/28/155901525409358341.html