खाद्यले सुरू गर्‍यो धान खरिद, बेमौसमी वर्षाले भिजेको धान भने फिर्ता

December 13, 2021

भवानी भट्ट, कान्तिपुर, मङ्सिर २७, २०७८

कञ्चनपुर — खाद्य व्यापार तथा कम्पनी लिमिटेडले कञ्चनपुरमा धान खरिद सुरु गरेको छ । कम्पनीले टोकन प्रणालीबाट आइतबारदेखि धान खरिद सुरु गरेको हो । शुक्रबार वितरण गरिएको टोकनकै आधारमा आइतबार किसानले ल्याएको धान तौलने काम सुरु भएको कम्पनीको महेन्द्रनगर शाखाका निमित्त प्रमुख तपेन्द्र प्रसाद उपाध्यायले बताए । उनकाअनुसार पहिलो दिन ८ जना किसानले ल्याएको ६० क्विन्टल धान मात्रै तौलिन सकिएको छ ।

कम्पनीले धान खरिद गर्न शुक्रबार किसानलाई ४७ टोकन वितरण गरेको थियो । आइतबारदेखि बिहीबारसम्म धान तौलने र शुक्रबार टोकन वितरण गरिने छ । शुक्रबार वितरण गरिएको टोकनका आधारमा हप्ताभर धान खरिद हुनेछ । ‘यसपालि धानको गुणस्तर राम्रो छैन, धेरै धान उम्रिएको आइरहेको छ,’ उपाध्यायले भने, ‘बाहिर हेर्दा राम्रो देखिन्छ, तर भित्रभित्रै उम्रिरहेको जस्तो छ ।’ उनकाअनुसार कम गुणस्तरको धान खरिद गर्दा भण्डारण गर्न नसकिने र चामल पनि राम्रो निस्किदैन । कम्पनीले २५ प्रतिशतभन्दा कम चिस्यान भएको धानमात्रै खरिद गर्दछ ।

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षा र ढिलोसम्म भण्डारण गर्दा धान बिग्रेका हो । अधिकांश किसानले गाउँमै व्यापारीलाई सस्तोमा धान बिक्री गरेपछि खाद्यले खरिद सुरु गरेको हो । गतवर्ष कात्तिक मध्यमै खरिद सुरु गरेपनि यसपटक भने मंसिर अन्तिममा खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले कञ्चनपुरमा ६ हजार क्विन्टल धान खरिदको अनुमति पाएको छ । खाद्यले कात्तिक दोस्रो साता १० हजार क्विन्टल खरिदका लागि अनुमति मागेको थियो । धानको मूल्य प्रति क्विन्टल २७ सय ७२ निर्धारण गरिएको छ । गतवर्ष कञ्चनपुरमा १३ हजार क्विन्टल धान खरिदको कोटा भएपनि कम्पनीले ९ हजार ४७९ क्विन्टल मात्रै खरिद गरेको थियो ।

कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेको छ । यस वर्ष बेमौसमी वर्षाले ३० प्रतिशत धान नोक्सान गरेका कारण उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । किसानले काटेर खेतमा सुकाउन राखेको धान वर्षाले भित्र्याउन नपाएपछि कुहिएको थियो । ‘न्यून कोटा समेत पुरा नहुने देखिन्छ,’ उपाध्यायले भने, ‘अधिकांश कृषकको धान कुहिएको र उम्रेको छ, गुणस्तर नपुगेको धान फिर्ता पठाउनुको विकल्प छैन ।’ राम्रो धान गाउँमै बिक्री भइसकेको छ । वर्षाले भिजेको धान दागी भन्दै व्यापारीहरुले १२ सय प्रति क्विण्टलसम्म खरिद गरेको किसान बताउँछन् । गहुँको बिउ र मलका लागि पनि किसानले सस्तोमै धान बिक्री गर्नुपरेको थियो ।

भिजेको भन्दै धान खरिद रोकियो

कैलालीको टीकापुर–८ सत्तीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गुणस्तर नपुगेको भन्दै बिहीबारदेखि धान खरिदको काम स्थगित गरेको छ । कैलालीको पूर्वी भेगमा पर्ने सत्तीमा कम्पनीले बुधबारदेखि धान खरिद सुरु गरेको थियो । एकदिनमा करिब १ सय क्विन्टल जति खरिद भएको कम्पनीको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । धान बिग्रिएको भन्दै कम्पनीले खरिद बन्द गरेको टिकापुर नगरपालिका–८ का वडाध्यक्ष रामलाल डगौरा थारुले बताए । उनले भने, ‘सामान्य बिग्रेको धान पनि किन्न नमानेपछि किसानले विरोध गरे, त्यसपछि कम्पनीले खरिद कार्य रोकेको हो ।’ सत्तीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राम्रो केही धान किनेको र किसानले सबैको धान किन्नुपर्ने दबाव दिएपछि खरिद नै रोकिदिएको वडाध्यक्ष डगौंराले बताए ।

कम्पनीको सुदूरपश्चिम कार्यालयका प्रमुख इन्जिला बस्नेतका अनुसार कम्पनीले तोकेको मापदण्ड अनुसारको गुणस्तर भएको धान मात्र खरिद गर्ने व्यवस्था छ । कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा धान खरिदका लागि पानीले नभिजेको, माटो परालको टुक्रा पोक्टा नमिसिएको सफा धान हुनुपर्ने मापदण्ड बनाएको छ । खरिद केन्द्रमा कम्पनीका प्राविधिकले जाँच गरेपछि मात्र सरकारी मूल्यमा खरिद हुने जनाएको छ । तर किसानले भने धान किन्नु पर्ने माग गर्न थालेपछि कम्पनीले खरिद बन्द गरेको स्थानीयले बताए ।

‘बचेको धान कुटाउदा चामल राम्रै निस्केको छ तर हाम्रो धान नराम्रो भनिरहेको छ,’ धान बेच्न आएका किसान रामबहादुर चौधरीले भने । बल्ल बल्ल जोगाएको धान खाद्यले नकिन्दा साहु महाजनलाई बेच्नुपर्ने र उनीहरुले मनपरी मूल्य लगाउने गरेको उनको गुनासो छ । यो वर्ष भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल २७ सय ५२ रुपैयाँ र मध्यमको २९ सय २ रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष सरकारले मोटा धान २७ सय ३५ र मध्यमको २८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।

स्रोत: https://ekantipur.com/business/2021/12/13/163937980545447381.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter