खाद्यान्नमा मूल्यवृद्धिसम्बन्धी उजुरी बढे

April 24, 2020

राजु चौधरी, कान्तिपुर, बैशाख १२, २०७७ 

काठमाडौँ — सरकारले खाद्यान्नको मौज्दात पर्याप्त रहेको दाबी गरे पनि बजारमा कृत्रिम मूल्यवृद्धि सुरु भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको विवरणअनुसार केही दिनयता खाद्यान्नको मूल्य बढी लिएका उजुरी बढेका छन् ।

‘बजारमा दाल, चामल, तेललगायत खाद्यान्नको भाउ बढेको छ। त्यसका उजुरी पनि बढेका छन्,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘उजुरीका आधारमा एक/दुई टोली अनुगमनमा खटाइरहेका छौं।’ मौज्दातका सामानमा मूल्य नबढे पनि नयाँ सामानमा वृद्धि भएको छ।

विभागमा वैशाख ५ गते २० वटा गुनासो दर्ता भएका थिए। तिनमा ६ वटा मात्र सामानको मूल्य बढी लिइएकोबारे थिए। ६ गते परेका ३७ गुनासोमध्ये २५ वटा बढी मूल्य र खाद्य सामग्रीको अभाव, ७ गत ६४ गुनासोमध्ये १९ वटामा बढी मूल्य लिएको उजुरी परेका थियो। वैशाख ९ गते ६८ गुनासोमध्ये ३८ वटा खाद्यान्नसम्बन्धी नै थिए। १० गते १४ गुनासो दर्तामध्ये ६ वटामा बढी मूल्य लिएका थिए।

खाद्यवस्तुमा बढी मूल्य लिएको उजुरी बढे पनि अनुगमन सुस्त छ। विभागले औसतमा तीन/चारवटा व्यावसायिक फर्ममा मात्रै अनुगमन गर्दै आएको छ। ‘अनुगमनका क्रममा ठगी गर्नेलाई कारबाही भएको छ,’ निर्देशक मिश्रले भने, ‘जुनजुन पसलबारे उजुरी आउँछ, तिनैमा गएका छौं।’

विशेष परिस्थिति भएकाले किलोमा दुई/चार रुपैयाँ बढ्नु सामान्य रहेको नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए। यद्यपि ६० रुपैयाँको सामान ७० मा बेच्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘किलोको २७ रुपैयाँ पर्ने धान बढेर ३० रुपैयाँ पुगेको छ। यसले ३८ रुपैयाँ पर्ने चामलको मूल्य ४२ रुपैयाँ पुर्‍याएको छ। जिरा मसिनो चामल पनि होलसेलले प्रतिकिलो ५८ देखि ६० रुपैयाँमा उठाएका छन्।

‘फ्याक्ट्रीबाट ढुवानीको दरमा परिवर्तन पनि भएको छैन,’ गुप्ताले भने, ‘कच्चापदार्थका कारण उत्पादन लागत बढेको छ। ६० रुपैयाँको सामानलाई ६२ रुपैयाँ पर्नु स्वाभाविक नै हो। तर ७० रुपैयाँ पुर्‍याउनु भएन।’

खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले मूल्य सामान्य बढेको स्विकारे। ‘फ्याक्ट्रीले केही मूल्य बढाएका छन्। निम्बस ग्रुपले दालको मूल्य पनि बढायो,’ उनले भने। कालिमाटीदेखि पाटनसम्म ढुवानी गर्दा ८ सय भाडा लिने भ्यानले अहिले ३ हजार लिने गरेको उनले बताए। चालक र मजदुर नपाइने समस्याले पनि अहिले समस्या भएको उनले बताए।

विभागका निर्देशक मिश्रले भने अनुगमनका क्रममा खुद्रा व्यापारीले आयातकर्ता र उद्योगले मूल्य बढाएको बताउँदै आएको जनाए। उद्योगीहरुले भने लकडाउनका कारण कामदार नभएको, यातायात खर्च बढेका कारण मूल्य बढेको बताए।

स्रोत: https://ekantipur.com/business/2020/04/24/158769649748993940.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter